काठमाडौं । उपनिर्वाचनको सरगर्मी बढेको छ । उपचुनावको मिति नजिकिएसँगै चुनावी माहोल गर्माएको हो । चुनावमा भाग लिन दलहरूले उम्मेदवार टुंग्याएसँगै चुनावी चहलपहल बढेको छ । वैशाख १५ गते इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङमा एक प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदै छ ।
इलाम-२ को चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । इलामको चौतर्फी चर्चाले बझाङको उपचुनावलाई छायामा पारेको छ । इलाम-२ विगत साढे दुई दशकदेखि एमालेले जितिरहेको क्षेत्र हो । २०५६ सालदेखि एमालेका (हाल स्वर्गीय) सुवासचन्द्र नेम्वाङले जित्दै आउनुभएको थियो । २४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने चुनौती एमालेलाई छ । साढे दुई दशकसम्म एमालेले कब्जा जमाएको क्षेत्रमा जित दर्ता गर्ने नेपाली कांग्रेसको दाउ छ । कांग्रेस-एमाले मात्रै होइन उपचुनावको नतिजा आफ्नो पक्षमा पार्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी समूह पनि मैदानमा छन् । इलाममा यिनै चार पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।
घोषित/अघोषित रूपमा ‘मिसन-२०८४’मा रहेका दलहरूलाई इलामको उपचुनाव प्रतिष्ठाको विषय बनेको छ । कांग्रेस-एमालेसहित रास्वपा र पहिचानवादी समूह प्रतिष्ठाको लडाइँ लड्न मैदानमा उत्रिएका बेला तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)लाई भने खासै चुनाव लागेको छैन । यसअघि उम्मेदवार उठाउने अडानमा रहेको माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्ने भएको छ । तर, गठबन्धनमै रहेको जनता समाजवादीले भने पहिचानवादी समूहका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । यसबाहेक इलाममा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पनि चुनावी मैदानमा छन् । एकीकृत समाजवादी सत्ता गठबन्धनमा समेत भए पनि उम्मेदवार घोषणा गरेरै मैदानमा छ ।
यी हुन् उम्मेदवार
इलाम-२ मा एमालेले सुवासचन्द्र नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । अधिवक्तासमेत रहनुभएका ३२ वर्षीय सुहाङ पार्टीको केन्द्रीय कानुन विभाग सदस्य पनि हुनुहुन्छ । कांग्रेसले इलाममा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । उहाँ गत चुनावमा एमालेका दिवंगत नेता सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । यद्यपि, त्योबेला कांग्रेसले माओवादीलगायत दलसँग गठबन्धन गरेको थियो । रास्वपाले ३२ वर्षीय मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मिलन इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा हुनुहुन्छ । यसअघि माओवादीनिकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा रहनुभएका लिम्बूले केही साताअघि आफू कुनै पार्टीमा नभई स्वतन्त्र रहेको घोषणा गर्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका जिल्ला सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । राई इलामकै माइजोगमाई गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ । कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । उहाँ पूर्वशिक्षक पनि हो । उहाँलाई पहिचानवादी समूहको समर्थन छ । राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ ०५६/०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, मरब क्याम्पसको अध्यक्ष हुनुहुन्थ्यो । जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । माओवादी र जसपाले आफ्ना उम्मेदवार उठाएका छैनन् । उनीहरूले अरू दलका उम्मेदवारलाई सघाउने भएका छन् ।
कसको पल्ला भारी ?
गत निर्वाचनमा इलाम-२ मा कांग्रेसका खड्कालाई झिनो मतान्तरले पराजित गर्दै एमालेका हाल दिवंगत नेता सुवास नेम्वाङ विजयी हुनुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याउनुभएको थियो । त्यतिबेला कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी)को गठबन्धन थियो । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा होमिए पनि कांग्रेस उम्मेदवार ११४ मतले पराजित हुनुभएको थियो । यसपटक कांग्रेस एक्लै चुनावमा होमिने देखिएको छ । कांग्रेस र रास्वपाबाहेक एमाले-माओवादीबीच गठबन्धन बनेको छ । यसमा एकीकृत समाजवादी पनि मिसिन सक्ने विश्वास छ । यद्यपि, अहिलेसम्म कुनै सहमति भएको छैन ।
गत चुनावमा एमालेको समानुपातिक मत सबैभन्दा बढी थियो । गत चुनावमा एमालेले २६ हजार ५६२ प्राप्त गरको थियो । कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । एमालेले कांग्रेसभन्दा चार हजार बढी मत पाएको थियो । माओवादीले समानुपातिकमा पाँच हजार १५३ मत पाएको थियो । रास्वपाले समानुपातिक मत चार हजार ६८६ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ भने एक हजार ३८० मत मात्रै पाएको थियो । नेकपा एकीकृत समाजवादीले पनि पाँच सयभन्दा बढी मत पाएको थियो ।
दुई स्वर्गीय नेताहरूको विरासत पुत्रहरूका लागि चुनौती
उपचुनावको रोचक पक्ष के छ भने दुवै क्षेत्रमा दिवंगत नेताका छोरा उम्मेदवार बनेका छन् । इलाममा एमालेका हाल दिवंगत नेता सुभासका छोरा सुहाङ उम्मेदवार बन्नुभएको छ । नेम्वाङको निधनपछि इलाम-२ मा उपचुनाव हुन लागेको हो । २४ वर्षदेखिको एमालेको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । इलाम-२ विगत साढे दुई दशकदेखि एमालेले जितिरहेको क्षेत्र हो । इलाम २ मा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आउनुभएको थियो । २०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर जित्नुभएको थियो । सुहाङको मुख्य चुनौती भनेको बुवा (सुवास)को विरासत जोगाउनु हो ।
यस्तै, बझाङ प्रदेशसभा उपचुनावमा पनि कांग्रेसका हाल दिवंगत नेता पृथ्वीबहादुर सिंहका छोरा अभिषेक उम्मेदवार बन्नुहुने भएको छ । कांग्रेसले सिंहलाई उम्मेदवार बनाउने भएको छ । पृथ्वी बहादुरको सडक दुर्घटनामा मृत्यु भएपछि बझाङमा उपचुनाव हुन लागेको हो । अभिषेक गत वर्षको स्थानीय तहको चुनावमा वडाध्यक्षमा हार्नुभएको थियो । अब भने उहाँलाई गत चुनावमा बुवाले जितेको क्षेत्रमा उहाँको विरासत जोगाउने चुनौती छ । बझाङ प्रदेश सभामा एमालेले दमन भण्डारी र नेकपा एसले दलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएका छन् । बझाङमा जसपाले रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मतदाता नामावली प्रकाशन
निर्वाचन आयोगले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले बिहीबार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरेको हो । प्रतिनिधि सभातर्फ इलाम-२ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । प्रदेश सभातर्फ बझाङ १(क)मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता कायम भएका छन् । आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो । आयोगका अनुसार हाल देशभर एक करोड ८० लाख ८८ हजार ९८३ मतदाता छन् । ८८ लाख ८६ हजार २२६ महिला र ९२ लाख दुई हजार ५६९ पुरुष अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच