✍️ कलानिधि दाहाल
संयम, शान्त, सौम्य चिर सन्नाटाले छाएको छ । विनाशरीरको चल्मल, विनाआवाजको प्रतिध्वनि, विनागतिको बेजोड बेग जहाँ न कुनै रोकावटले मार्गावरुद्घ गर्छन्, न कुनै छट्पटीका वायुवेगमा मान्छेका अनुहार आकार बनेर आँखाका सामु ओर्लन्छन्, न कुनै दासताका पगरी घाँटीमा झुण्डाउनुपर्छ, न कुनै अहङ्कारमा योजनाले खुला मस्तिष्कको छातीमा पटुकी कस्नु पर्छ । उन्मुक्तिको पराकाष्टा म जहाँ जाऊँ-स्वतन्त्र । म जे गरौँ-विनारोकावट । म जोसँग बोलौँ- जिब्रोको अन्तरबाट निस्केको ध्वनिमा कतै तगारो तेस्र्याउनुको कुनै आवश्यकता छैन । मेरो मुक्तिको मुहार, मेरो स्वतन्त्रताको कर्मस्थल, मेरो शान्तिको पिरामिड, मेरो मभित्रकै वासनाको बास्नादार विशाल बगैँचा जहाँ जुनसुकै थुङ्गा सुघूँ, जुनसुकै बोटलाई छोऊँ म स्वतन्त्र हुने मेरो प्रजातन्त्रको तिहार, झिलिमिली संसार, अन्धकारको एक गुजुल्टो नागवेलीमा लुट्पुटाएको मेरो मध्यरात !
न औँलाका टोप्रामा यातना, न हातका हत्केलामा भार, न पाइतालाका पदचापको जिस्क्याइ, न आसनको सान, न भोको पेटको बिहान, न हाइहलो, न चर्काचर्कीको रन्थन, न एक अर्काको एक अर्काप्रतिको गन्थन, न टर्टरे बाहुनहरूका कर्मकाण्डी विचारको दिमाखी घन, न बुद्धिमा बिर्को लागेर आक्रोश पोख्न आतुर पहिचानवादीहरूको सडक उन्माद, न पाखण्डपनको होमध्वनि, न टपरेहरूको त्रिप्यन्ताम्, न कुनै पदासीन स्वाँठजमातको पदोन्माद, एकछत्त, एकाम्य, सर्वशान्त सर्वसौम्य असल साम्यवादी सच्चाचिन्तनको निर्विवाद अनुहार, ऋषिसमाधिको अन्तर ज्ञान आलोडित अपूर्व प्राप्तिको मेरो मध्यरात !
आकाशमा चिलका बथान देखिँदैनन् सम्झनाका आँखाभित्र कतै पनि, बौँडाईका पखेटा हिंसाका चुचा उघारेर समुद्री छालमाथि कतै पनि पौडिँदै गरेका माछाका ढाड ठुङ्न खोजिरहेका छैनन् । शान्त एकान्तमा यात्रारत माछाहरू वर्षौं पार गरेका दूरीबाट अतीत बासस्थानतिर तँछाड मछाड दौडिरहेका छन् प्रजनन्का लागि ।
न च्याइँच्याइँ, न ट्याइँट्याइँ, न हलो न हाइ, न स्वागत, न विदाइ, न चट्पट्, न छट्पट्, एकतमास आफ्नै इच्छित गति पक्रेर सगरमाथा चढूँ शिखर उचाल्न तेन्जिङ्को आवश्यकता पर्दैन । म प्रधानमन्त्री बनूँ छेपारे रङ् फेरेर निर्लज्ज नाकबाट सिँगान चुहाउँदै आफ्नै अन्तर बेइज्जतीका आँखा घुमाउनु पर्दैन । न घरी यताको लोलोपोतो, न घरी उताको...? अनन्त काल दिन नभएर यही मध्यरात भइदिने भए स्वप्निल स्वर्ग विपनाको राजधानी बनेर मेरो छातीमा मुस्कुराउँथ्यो । मेरा रक्तका थोपासँग मिसिएर संसारभर नै सञ्जीवनी पोखिँदै एउटा आनन्द जसलाई आवाजमा टिप्न सकिँदैन, आँखामा अटाउन सकिँदैन, मनको मोहकतामा अविदितको यात्रा गराउँदै सागरका छालसँग तै¥याएर तरङ्गका तानले संसार आच्छादित गर्न कुनै आइतबारको साइत हेर्नु पर्दैन जसमा निस्तब्ध बटवृक्षहरू पवन झोक्कामा समेत न चल्मलाएर वीणाका तानमा लठ्ठिँदै रहन्छन् ।
भैँसीको भोकमा सङ्गीतको उघ्राइ, सर्पको जिब्रोमा अनुरागको लप्लपाइ, पहाडी रिङ्गटामा प्याराडाइजको प्वाँख, मदारीको डमरुमा शिवको नृत्य र पार्वतीको मुस्कानमा विराट् विश्वप्रेमको पछ्यौरीभित्र संसार लुट्पुटिएको सुन्सान सुन्सान चकमन्न निस्तब्ध सन्नाटा जहाँ आफ्नै दुई कर्णविवरबाट निस्केका हृद्ध्वनिमा कृष्णको बाँसुरी बज्छ । प्रमिथस चेतना फैलिन्छ । हर्कुलस शक्तिका सानमा हिंसाका तराजुकिल्ला भाँचिन्छन् । स्वार्थका सीमा भत्कन्छन् । एउटै वसुन्धराको विशाल काखमा मानवताका अँगाला फिँजाएर प्रेमसूत्रमा आबद्ध संसारको स्वर्गीय आनन्दको उल्लासमय एकान्त मेरो मध्यरात जहाँ मस्त निद्राको डुङ्गाबाट समग्रको आकलन गर्दै छु ।
आँखाको यादमा समयको म्यादविना मानवका कृत्रिम तराजुरहित यो अवस्था, अवस्थामात्र नभएर सृष्टिस्थित एउटा अविदित सौन्दर्यको पटाक्षेप पनि हो । यसभित्र न त कुनै बारुदको गन्ध आउँछ, न कतै प्रतिस्पर्धाको हुङ्कार उफ्रन्छ, न अकाल मानव मृत्युको युक्रेनी कारुणिक संवेदना छरपस्ट भएर छरिन्छ न कतै तानाशाहको स्वरूप बनेर साम्यवादको कालो रूप देखिन्छ वा जन्मन्छ । न कतै विस्तारवादसँग प्रस्तिपर्धामा उत्रन मानवतावादको उज्यालो अनुहारलाई छायामा छोपेर अमेरिका, चीनसँग लुकामारी खेल्छ । न लद्दाख पौठाजोरीको जोरबिजोरमा प्राकृतिक स्वरूपमाथि पाउको गिद्धेनजर कुल्चन्छ ।
आकाशमा चीलका बथान देखिँदैनन् सम्झनाका आँखाभित्र कतै पनि, बौँडाईका पखेटा हिंसाका चुचा उघारेर समुद्री छालमाथि कतै पनि पौडिँदै गरेका माछाका ढाड ठुङ्न खोजिरहेका छैनन् । शान्त एकान्तमा यात्रारत माछाहरू वर्षौं पार गरेका दूरीबाट अतीत बासस्थानतिर तँछाड मछाड दौडिरहेका छन् प्रजनन्का लागि । विनाभय, विनाझस्काइ, एकमात्र बैरी अक्टोफससँग जोगिनु सफलताको निकै ठूलो आगमन समय हो यिनीहरूका लागि । धेरै दुःखसँग सङ्घर्षरत शरीरलाई एकमात्र घट्दा पनि सुखानुभूति हुन्छ ।
सारा भट्टीका द्वारहरू बन्द छन् । भट्टी बन्द हुनु भनेकै नब्बे प्रतिशत विश्वका अपराध थुनिनु हो, सन्तुलित मनोलोकको उत्तेजनास्थल जहाँ भोलि भरदिन गरिने भ्रष्टाचारको सूची तय हुन्छ, भर्खैरै कार्यरत चेलीहरूका यौनाङ्ग स्वेच्छिक रूपमा खुले त ठीकै थियो-दुवैको स्वेच्छिक प्राकृतिक चाहना अपराध हुँदैन ।
आतसबाजसँग जुध्नु पर्दैन यस बेला आकाश निदाएको हुन्छ, ताराहरूका उज्याला प्रकाशमा । चन्द्रमाको नेतृत्व अस्वीकार गर्ने क्षेप्यास्त्र निस्तेज हुन्छन् यस समयमा । कतै कहीँ पनि बमको धुवाँ पुत्पुताउँदैन । बन्दुकले विश्राम लिएको हुन्छ, घुसले थकित कर्मचारी हातहरू मरणासन्न भएर पल्टन्छन्, मखमली खाटमा पत्नीका सुनबुट्टे जुहारसहितका काला जिब्राले स्पर्श गर्दै हिमाल निदाएको हुन्छ । चिसो हिउँलाई लात हान्ने जिम्मा हिंसाका हिमायती प्रधानमन्त्रीलाई संसद्को जिम्मा बरफ अग्लन पाउँछ मज्जाले । पत्राचार हुँदैन सञ्जालमा कतै पनि । विद्युत् आरामले जलतरङ्गको आफ्नै पुर्खाको प्राकृतिक स्वरूपमा समाहित भएर आनन्दको सास फेर्दै छङ्छङाउँछ–छहरामा, पहरामा घनीभूत आकर्षक स्वरमाधुरीका झङ्कार बनेर ।
चमत्कार ठान्ने प्याट्रियोटबेत्ता विज्ञान आफैं बन्द ढोकाभित्र थुनिएको हुन्छ । राडारको निशाना आँखामा पट्टी बाँधेर एक्लै साँझपखको इशारामा निदाएको हुन्छ । सास फेर्न नपाएका विमान स्थलहरू सामान्य परिधिभित्र सीमित हल्लामा केही समय परे पनि फराक फाँटले आरामको आँट गर्छ र चुपचाप चुपचाप ननिदाए पनि शान्त मुद्रामा निस्तेज आँखा आफैँमा सीमित गरेर लोलाउँछ । उसलाई यस समय न कसैले बोलाउँछ, न कसैले खेलाउँछ । कारण सबै हातहरू बन्द ढोकाका जञ्जीरभित्र बाँधिइसकेका हुन्छन् । एक किसिमले उसलाई पनि आरामै हुन्छ । संसारकै सबभन्दा बढी भ्रष्टाचारका जलगैँडे भ्यागुताहरू यसै स्थलमा पिरामिड उभिन्छन् ।
सम्झन्छु सारा भट्टीका द्वारहरू बन्द छन् । भट्टी बन्द हुनु भनेकै नब्बे प्रतिशत विश्वका अपराध थुनिनु हो, सन्तुलित मनोलोकको उत्तेजनास्थल जहाँ भोलि भरदिन गरिने भ्रष्टाचारको सूची तय हुन्छ, भर्खैरै कार्यरत चेलीहरूका यौनाङ्ग स्वेच्छिक रूपमा खुले त ठीकै थियो-दुवैको स्वेच्छिक प्राकृतिक चाहना अपराध हुँदैन कहीँ कतै कोहीसँग पनि तर यहाँ बलजफ्ती खोलिन्छ । सारा मानवहत्याबीजको द्वार बनेर रहेको भट्टीको शक्तिसमेत निस्तेज बनाउने मेरो मध्यरात तेरो आगमनमा अलिकति भए पनि मान्छे बाँचेको छ, केहीमात्र भए पनि लुटिनबाट जीव पर सरेको छ, निमोठिने सौन्दर्य जोगिएको छ ।
स्रष्टाको उदेकलाग्दो सृष्टिमा यो रहस्य सायद कमैमा मात्र बोधगम्य हुन सक्छ । अधिकांशका आँखाले देख्न नचाहेको, अझ घृणा गरेको मेरो मध्यरात सृष्टिसौन्दर्यको त्यो मानकबिन्दु हो जहाँ अपराध निस्तेज हुन्छ, दुराचार रुन्छ, भ्रष्टाचार सपना देख्छ, तानाशाहहरू छट्पटाउँछन्, निरङ्कुशका हात बाँधिन्छन् र पाइतालामा बडेमाका फलामे ताल्चा लगाएका दृश्य हेरेर मेरो मानवता अलिकति ओठ उघारेर हाँस्छ, मेरो सौजन्यको संसार फैलिन्छ, मेरो कला कलाका विरुद्ध मधुमुस्कानको बौछार गर्छ ।
सृष्टि त्यहाँ छ जहाँ सबै खाले अपराधका मुटु डराउँछन्, नसामा अल्कोहल प्रवाहित हुन छाड्छ, आक्रोशले घाँटी खोल्न पाउँदैन, चितुवाका चाल सुस्ताउँछन्, ब्याघ्रझम्टनका गति बन्द हुन्छन्, मुस्कानका मृगशावकहरू आनन्दका उघ्राइमा बथानबद्ध हुन्छन्, अन्तर शुभ्र आकाश उघ्रन्छ । त्यो मेरो मध्यरात जसका अगलबगलमा स्वार्थका छौँडाहरू डराउँछन्, पञ्जाका नङ्ग्रा भाँचिन्छन्, निर्विवाद निर्बोध निष्कलङ्की अनुहारको निर्वाध आगमन हुने मध्यरात ! तँ रातमा त छँदै छस् दिनमा पनि मसँग मितेरी लगाएर वा म तँसँग अङ्कमाल गरेर विनाभय संसार परिभ्रमित छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच