पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला जिल्लाको सदरमुकाम खलंगामा पुगेर पुरानो गौरव पुनस्र्थापित गर्ने उद्देश्यकासाथ सर्वपक्षीय सम्मेलन गर्न चुनौती दिनुभएको छ । कर्णालीको कठीन भूगोलमा पूर्वराजाको आकर्षण अनायास भएको मान्ने ठाउँ छैन । उपस्थित जनताको विशाल जनसमूहलाई सम्बोधन गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले अब सुध्रन, चेत्न, सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउन र मार्ग सुधार गर्न सबैसँग आहृवानसमेत गर्नुभएको छ ।
उहाँले त्यहाँका जनतासमक्ष जेजस्ता कुराहरू उठाउनुभएको छ त्यसबाट केही प्रश्न सिर्जना हुन पुगेका छन् । पूर्वराजाले त्यस भूगोलका जनतामार्फत आहृवान गर्नुहुँदै ‘नयाँ सम्झौता आवश्यक भयो, सर्वपक्षीय सम्मेलन गरौं’ भन्ने प्रस्ताव गर्नु नवीन सोच नहोला, तर आजको विडम्बनापूर्ण नेतृत्वका अत्यन्त गलत, स्वार्थकेन्द्रित, अवसरवादी र भ्रष्ट कर्महरूले उत्पन्न गरेको प्रतिक्रिया हो भनेर मान्नुपर्ने हुन्छ । यसभन्दा पहिले पनि देशका विभिन्न ठाउँ घुमेर यस्ता राजनीतिक आसयका अभिव्यक्ति दिने गर्नुभएको थियो तर सोझो शब्दमा यसरी सर्वपक्षीय सम्मेलनको आहृवान गर्नुभएको भने यो पहिलो पटक हो । वास्तवमा पूर्वराजा राजनीतिक चेतना नभएको व्यक्ति होइन । पञ्चायत कालमा पनि उहाँ अधिराजकुमार भएका समयमा उहाँका बारेमा बाहिर विभिन्न चर्चा र प्रसंग सुन्ने गरिन्थ्यो ।
यहाँ उहाँका अन्य पक्षलाई उठाउन खोजिएको छैन । राजनीतिक सन्दर्भहरूलाई मात्र उठाउने प्रयास गरिन्छ । २०३६/०३७ सालको जनमतसंग्रहका बेलामा पनि दाजु राजा वीरेन्द्रले रेडियो नेपालबाट जनतालाई बहुदलीय प्रजातन्त्र कि सुधारिएको पञ्चायती व्यवस्था कुन् छान्ने हो छान भनेर सम्बोधन गरेर फर्किएपछि वीरेन्द्रसँग किन जनतालाई यस्तो अधिकार दिएको भन्ने सन्दर्भमा भनाभन भएको भनेर बाहिर हल्ला फिँजिएको थियो । त्यो कति सत्य हो थाहा भएन । वीरेन्द्रभन्दा पहिले आफू राजा भएको मानिस हुँ भनेर तर्साउने गरेको कतिपयको भनाइहरू थिए । सायद निर्दलीय पञ्चायतको विजयमा यस्ता अनेक कथनउपकथनहरू नै प्रतिबिम्बन भएको हुनुपर्छ र नै निर्दलीय पञ्चायतको विजय घोषित गरिएको थियो ।
२०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्रबाट बहुदलीय प्रणालीको घोषणा हुँदा पनि ज्ञानेन्द्रको निकै ठूलो असहमति भएको भनाइ प्रशस्त सुनिएका हुन् । यस्ता अनेकौं सन्दर्भ छन् ती सबै यहाँ उल्लेख गरिरहनु आवश्यक छैन । मूलरूपमा २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको बंश विनाश हुनेगरी भएको घटनाबाट ज्ञानेन्द्र शाह राजा बन्नुभएको र त्यसपछि राज्य सञ्चालनका सन्दर्भमा भएका व्यवहारबाट उहाँको मूल्यांकन गर्न सकिन्छ । त्यसबेला उहाँले सुरुमै दिवंगत पिता महेन्द्रको सिको हुनेगरी निरंकुश व्यवहार देखाउनु भएको अनुभव तत्कालीन राजनीति बुझ्ने सबै हुनुपर्छ । त्यसबेला एकातिर माओवादीको सशस्त्र विद्रोह चरम अवस्थामा पुगेको थियो भने अर्कातिर विद्यमान राजनीतिक दलहरू एक प्रकारको राजनीतिक अन्यौलमा थिए र त्यसको निकासको अपेक्षामा रहेका थिए ।
राजाले दलहरूसँग मिलेर जाने चाहना गर्नुभएन । पञ्चायत कालमा ‘नेपालको राजनीतिक शकुनी’ भन्ने उपनाम पाउनुभएका र तत्कालीन समयमा श्रीलंकामा रहनुभएका डा.तुलसी गिरीलाई बोलाउनुभयो र काठमाडौंमै रहनुभएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टसमेतलाई जोड्दै दुईजनालाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाउनुभयो । आफू अध्यक्ष बनेर शासनको सुरुवात गर्नुभयो । दलहरूमाथि घोषित रूपमा प्रतिबन्ध थिएन तर अघोषित रूपमा प्रतिबन्ध नै लाग्यो । विभिन्न खालका सञ्चारमाध्यममा नियन्त्रण, निगरानी र निषेध गर्न थालियो । जब यसरी उहाँले दलहरूलाई समेत पाखा लाएर शासन गर्न खोज्नुभयो त्यसबाट उहाँका लागि प्रत्युत्पादक परिणाम पैदा भयो । बढी बाठो बन्दाको परिणाम थियो त्यो ।
सञ्चारमाध्यम र राजनीतिक दलहरूले एकनास रूपमा विरोध गरेका हुँदा उहाँ अन्ततः आफ्नो अभिष्ठमा सफल बन्न सक्नुभएन । उहाँको समयमा केही राम्रा काम पनि भएका थिए । अड्डा अदालततिर धमाधम काम हुन थालेको थियो । अरू समयमा पन्ध्र दिनपछि आउनु भनेर म्याद तोकिने काम दुई घण्टामा हुन थालेका थिए । यस्ता कार्यहरूलाई राम्रो मान्न सकिने भए पनि उहाँबाट सबैभन्दा नराम्रो काम भएको थियो प्रजातन्त्रमाथि नै निषेध गर्ने व्यवहार । यसैको परिणाम हो १२ बुँदे सम्झौता । त्यसपछि जनता विरोधमा सडकमै उत्रिए । माओवादी र अन्य दलहरू एकै ठाउँमा आएपछि उहाँले त्यसलाई रोक्न सक्ने कुरै थिएन । गुमेको प्रजातन्त्रिक हक अधिकार परिमार्जनसहित लोकतन्त्रका रूपमा नेपाली जनताले प्राप्त गरे ।
नेपालका राजनीतिक दलहरूमा रहेको उहाँविरुद्धको प्रतिशोध स्वरूप राष्ट्रलाई नै गणतन्त्रात्मक बनाइयो । ज्ञानेन्द्र शाहबाट त्यसबेला कुनै प्रतिकार भएन र उहाँ ‘जनताको नासो जनतालाई नै बुझाएँ’ भन्दै नारायणहिटी राजदरबार छोडेर नागार्जुन जानुभएको थियो । बीचमा उहाँले त्यति राजनीतिक गतिविधहरू देखाउनुभएन तर चुप लागेर पनि बस्नुभएको थिएन । बेला-बेलामा फाट्टफुट्ट आफ्ना केही भावनालाई अभिव्यक्त गरिरहनु भएको थियो । अब आएर आपूmले राख्न दिएको नासो फिर्ता माग्न खोज्नुभएको जस्तो देखिन थालेको छ । गत पाँच÷छ महिनादेखि अलिक बढी सक्रिय बन्दै आउनुभएका उहाँको खलंगाको अभिव्यक्तिले यसो भन्न खोजेको छ । आफ्ना वंशका शाही ठकुरीहरूको बाहुल्य भएको जुम्लामा पुगेर उहाँले ‘अब भने नयाँ सम्झौता आवश्यक भएको र त्यसका लागि सर्वपक्षीय सम्मेलन गरौं’ भनेर व्यक्त गरेको विचारले सोझो शब्दमा आफ्नो स्पेस खोजेको भन्ने बुझिन्छ ।
उहाँको यस्तो विचारबाट दलहरू प्रतिशोधी र प्रतिरोधी बन्न सक्लान् तर दलहरूले एउटा कुराको हेक्का राख्नुपर्छ, त्यो हो वर्तमान परिस्थितिको कारक के हो भन्ने ? गद्दीबाट हटाइएका राजालाई यसो भन्न सक्ने मौका दिने दलहरू नै हुन् । दलहरूको भ्रष्ट मनोवृत्ति हो, उनीहरूबाट भएका नातावाद, कृपावाद, आफू र आफ्नाको हितमा मात्र हुनेगरेका कार्य हुन् । व्यापक रूपमा हुने गरेका अनियमिता हुन् । देशमा भइरहेका अराजक र सत्तालोलुप कार्यहरू हुन् । जनतामा छाएको निराशा हो । यिनै कमजोरीको वैशाखीमा उभिएर पूर्वराजाले यस्तो आहृवान गर्ने हिम्मत गर्नुभएको हुनसक्छ । अब राजनीतिक पार्टीहरूले कि पूर्वराजाको अभिव्यक्तिलाई चुनौती दिने गरी जनताका पक्षमा काम गर्नसक्नुपर्छ कि एकजना नागरिकको बोली हो भनेर सामान्य ढंगले लिनसक्नुपर्छ । यस्तो चुनौतीलाई सामान्य ढंगले लिने हो भने असामान्य परिणामको राजमार्ग प्रशस्त नहोला भन्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच