बैतडीका सरकारी कार्यालयहरुले नै तिर्दैनन् समयमा विद्युतको महसुल

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका एक सय २२ वटा सरकारी कार्यालयहरु विद्युतको लाइन काटिने सुचिमा परेका छन् । समयमा विद्युत्‌काे महसुल नतिर्ने सरकारी कार्यालयहरु लाइन काटिने सुचिमा परेका नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

उक्त कार्यालयहरुबाट झन्डै १७ लाख ५१ हजार ९१९ रुपैयाँ असुल गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो । विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत जिल्लाका अन्य सरकारी कार्यालयहरुले समयमा बिद्युत्‌को महसुल नबुझाउँदा लाइन काटिने सूचिमा राखीएको पौडेलले बताउनुभयो ।

एक हजार रुपियाँभन्दा बढी महसुल बुझाउन बाँकी एक हजार १३ ग्राहक छन् । तीमध्ये १२२ वटा सरकारी कार्यालय र ८९२ अन्य ग्राहक रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

उहाँले सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपैयाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपैयाँ महसुलवापतको रकम असुल गर्न बाँकी रहेको बताउनुभयो ।

सरकारी कार्यालयदेखि सर्वसाधारण ग्राहकबाट करिब एक करोड रुपैयाँ महसुल उठाउन बाँकी रहेकाले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्ने तयारी भइरहेको वितरण केन्द्र प्रमुख पौडेलले बताउनुभयो ।

चालु आर्थिक वर्षमा विद्युत् महसुलबापतको बक्यौता रकम असुल गर्ने उद्देश्यसहित समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको हो ।

तीन महिनासम्म पनि विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने अभियान सुरु गरेर विद्युत् वितरण केन्द्रले साउनदेखि हालसम्म ३४ लाख भन्दा बढी बक्यौता रकम असुल गरिएको वितरण केन्द्रले जनाएको छ ।

सरकारी कार्यालयलगायत अन्य ग्राहकहरुबाट एक करोड भन्दा बढी बक्यौता रकम उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी बितरण केन्द्र जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?