सातौ मेयरकप भोजपुर गोल्डकप प्रतियोगिता हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । ४९ लाख बढीको लागतमा भोजपुरको प्रतिष्ठित सातौ अन्तराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिताको बारेमा जानकारी दिनु हुदै आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले आगामी बैशाख ९ गतेबाट १५ सम्म संचालन हुने प्रतियोगिताको कुल लागत खर्च ४९ लाख २५ हजार पाँच सय हुने बताउनुभयो ।

जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगितामा यस बर्ष भने भारतको एकसहित नेपालका दुई ए डिभिजन क्लवले पनि भाग लिने छन् । भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा संचालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने छन । जसमा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाैं, चर्च व्बाइज युनाइटेड काठमाडाैं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघ रहेको छ ।

प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम संकलन गरिने आयोजक संस्थाका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिव नौ लाख रकम संकलन भई सकेको छ भने अन्य रकम पनि संकलन गरिने छ । प्रतियोगिता संचालनमा सहयोग गर्न सवै पक्षलाई आयोजक संस्थाले आग्रह समेत गरेको छ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन हुन लागेको प्रतियोगिताको सहप्रायोजकमा राष्ट्रिय बाणिज्य बैक लिमिटेड रहेको छ भने प्रायोजकहरुमा साल्ट ट्रेडिङ कार्पोरेसन, शिबम फुटवेयर्स प्रालि, सांग्रीला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे रहेको आयोजक भोजपुर जिल्ला फुटवल संघले जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?