
काठमाडौं । जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मंगलबार १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याक एण्ड फिल्डमा हाइजम्पतर्फ गणेशले १.८१ मिटर उचाइ जम्प गर्दै ६ वर्षअगाडिको कीर्र्तिमान सुधार गर्नुभएको हो ।
यसअघि २०७५ सालमा लुम्बिनीका प्रभु थारुले १.७७ मिटरको कीर्तिमान बनाउनुभएको थियो । जुन मंगलबार गणेशले सुधार गर्नुभएको हो । यससँगै गणेशले राष्ट्रिय कीर्तिमानमार्पmत् १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनुहुनेछ । यसै विधामा बागमती प्रदेशका अविनाश सुनारले रजत पदक जित्नुभयो । उहाँ १.७५ मिटर माथि उचाइ उफ्रिनुभएको थियो ।
लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर उचाइ उफ्रँदै कांस्य पदक जित्न सफल हुनुभयो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो । कुल ६ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । यीमध्ये एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन आठ स्पर्धाको फाइनल सम्पन्न भयो । छात्रा हाइजम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी र गण्डकीकी सीमा श्रेष्ठ शीर्ष दुईमा रहनुभयो । सुस्मिता १.४१ मिटर र सीमा १.३८ मिटर उचाइ उफ्रिनुभएको थियो ।
लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा दुवैजना कांस्य जित्न सफल हुनुभयो । दुवैजना १.३० मिटर उचाइ उफ्रिनुभएको थियो । छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्की ०.४ सेकेण्डले अघि रहँदा स्वर्ण जित्न सफल हुनुभयो । बादलले चार मिनेट १९.१ सेकेण्ड समय लगाउँदा रजत विजेता कर्णालीका अजय विकले चार मिनेट १९.६ सेकेण्ड खर्चिनुभयो । सुदूरपश्चिमका विक्रम विक तेस्रो हुनुभयो । उहाँले ४ मिनेट २२.७ सेकेण्ड समय लगाउनुभएको थियो ।
यसै विधाको छात्रामा कर्णालीकी कल्पना बुढाले स्वर्ण जित्नुभयो । कल्पनाले पाँच मिनेट ०४.४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो । सुदूरपश्चिमकी देवकीकुमारी धामी पाँच मिनेट १३.०९ सेकेण्ड र बागमतीकी अस्मिता भुजेल ५ मिनेट १९.८ सेकेण्डका साथ दोस्रो र तेस्रो हुनुभयो । छात्रको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जित्नुभयो । उहाँले ५१.५ सेकेण्डमा दूरी तय गर्नुभयो । बागमतीका सन्तबहादुर दराई ५१.९ सेकेण्डका साथ रजत र कोशी प्रदेशका राकेश सार्की ५२.१ सेकेण्डका साथ कांस्य जित्न सफल हुनुभयो ।
यसै स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले स्वर्ण जित्नुभयो । सरिताले १ मिनेट ०२.३ सेकेण्ड समयमा दूरी पूरा गर्नुभयो ।
लुम्बिनीकी अनिशा थारु १ मिनेट ०३.५ सेकेण्डका साथ रजत र कर्णालीकी भावना कर्साल १ मिनेट ०३.७ सेकेण्ड समय निकाल्दै कांस्य जित्न सफल हुनुभयो । छात्रको एक सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादवले स्वर्ण जित्दा ११.२० सेकेण्ड समय लगाउनुभएको थियो । बागमतीका प्रवीण राना मगर ११.३५ सेकेण्डका साथ रजत पदक जित्न सफल हुनुभयो ।
सुदूरपश्चिमका चन्द्र बोहराले ११.५२ सेकेण्ड समय निकाल्दै कांस्य पदक जित्नुभयो । यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले स्वर्ण जित्दा १३.५८ सेकेण्ड समय लगाउनुभयो । गण्डकीका एञ्जल अधिकारीले १३.६६ सेकेण्ड समयसहित रजत पदक जित्नुभयो । गण्डकीकै निशा घर्तीले कांस्य पदक जित्नुभयो । उहाँले १३.७५ सेकेण्ड समय लगाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच