बागलुङ । वरपर घना जंगल । बीचमा समथर भू-भाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरी भर्खर भर्खर आलु अङ्कुराएका छन् । आलुबारी छेउमा काठ, ढुङ्गा र माटोले चिटिक्क परेका मौलिक घर । यहाँ देखिने दृश्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ । यो मुठाचौर विशेषता हो । तमानखोला गाउँपालिका-२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्ष मात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटोले जोडिएको हो । प्रसस्त खेतीयोग्य जमिन रहेको हुँदा वर्षौँदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको समय मुठाचौरमा बस्छन् ।
करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटोले जोडिएपछि अन्य विकासका ढोकाहरु खुल्न थालेका छन् । हरेक वर्ष स्थानीयहरु पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्य भरिएको मुठाचौरबाट उच्च पहाडी क्षेत्रसँग धौलागिरी, माछापुछ्रेलगायतका हिमश्रृङ्खला नजिकैबाट नियाल्न सकिन्छ । बेला बखत पाट्टफुट्ट आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म निकै कम मात्रामा पर्यटकको आगमन हुने गरेकोमा सडकले मुठाचौर जोडिएपछि यस वर्ष धेरै पर्यटक आएका छन् । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ ।
एक वर्ष अगाडि मात्रै सडक पुगे पनि विद्युत र खानेपानीको समस्या भने उस्तै छ । स्थानीय बर्खाको समयमा यहाँ बस्ने हुँदा अँध्यारोमा बस्नुको विकल्प छैन । उनीहरुको अँध्यारोको सारथी दियालो र टुकी बनेको छ । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुर्याउन सकिएको छैन । तर चाँडैनै विद्युत र खानेपानीको सुविधा आउनेमा स्थानीय विश्वस्त छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताउनुभयो । अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएको भन्दै अन्य विकासका पूर्वधारले जोड्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँ बताउनुहुन्छ ।
“वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ, हावापानी पनि स्वच्छ छ, अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रुपमा प्रयोग गर्दै आइएको छ, अब यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु पर्ने देखिन्छ, यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि यो,” पुनले भन्नुभयो - “पोहोर साल मात्रै सडकले जोडिएको छ, अहिले बर्खाको चार महिना बेसीबाट यहाँ आएर बस्ने चलन छ, यो ठाउँलाई अरु विकासका पूर्वधारले जोडेर बराह तालसँगै विकास गर्न सकियो भने धेरै पर्यटकलाई यहाँ भित्राउन सकिने थियो भने स्थानीयको जीवनस्तर पनि परिवर्तन हुने थियो ।”
स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कार्तिक लाग्दा साथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबालीहरु उत्पादन गर्ने गर्दछन् । अहिले सडक पुगेपछि खर्चपर्ख ओसारपसार र मुठाचौरमा उत्पादन भएका आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताउनुभयो । पोहोर सालसम्म गाउँबाट घण्टौँ लगाएर मुठाचौर पुग्ने गरेकोमा अहिले आधा घण्टामै गाडीमा पुग्न सकिने उहाँको भनाइ छ । सडकका कारण पर्यटकसमेत बढ्न थालेको उहाँ बताउनुहुन्छ । हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गरेको भन्दै यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ ।
रसाइलीले भन्नुभयो - “यो साल यहाँ पर्यटक धेरै आए, नयाँ वर्षको दिन मात्रै करिब चार हजार आन्तरिक पर्यटक आएका छन्, सडक सुविधाकै कारण यति ठूलो संख्यामा पर्यटक आएका हुन्, यो ठाउँमा गाडी आउला भन्ने लागेकै थिएन, किनकी यहाँका सयौँ नागरिकले वर्षौँदेखि निकै कष्टकर जीवन बिताई रहेका थिए, एक बोरा चामल लिएर आउँदा दिन बित्थ्यो, तर अहिले सडकले गर्दा मान्छेले बोक्नु परेको छैन, आलु, सिमी र उपभोग्य सामानहरु घोडा खच्चडमा बोकाउनु परेको छैन ।”
तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्याल बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताउनुभयो । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ भएको हुँदा लामो समयको मेहनतपछि अहिले गाडी गुड्न सक्ने स्थिती आएको भन्दै विद्युत र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ । भौगोलिक विकटता र अप्ठ्यारो भूगोलका कारण विकासमा पछाडि परे पनि अब भनि ओझेलमा नपर्ने उपाध्यक्ष छन्त्याल बताउनुहुन्छ । गाउँपालिकाले बराह ताललाई पर्यटक आकर्षण गर्ने केन्द्र बनाई मुठाचौरमा घरबास संचालन गर्ने गरि योजना निर्माण गरेको उहाँले बताउनुभयो ।
“उत्पादनका हिसाबले मुठाचौर निर्क उर्वर छ, यहाँ फलेको आलु निकै स्वादिष्ट हुन्छ, उत्पादित वस्तुलाई ब्राण्डिङ गर्ने, यो क्षेत्रलाई पर्यटकहरुको बास बस्ने थलोका रुपमा विकास गर्ने र स्थानीयलाई आयआर्जनसँग जोड्नु पर्ने छ, पालिकाको सिमत स्रोत साधानले तत्काल नभए पनि यसलाई दीर्घकालीन रुपमा विकास गर्छौँ” उपाध्यक्ष छन्त्यालले भन्नुभयो - “मुठाचौर हाम्रो मुख्य प्राथमितामा छ, सबैभन्दा पहिला विद्युत र खानेपानीको व्यवस्थापन गर्नु पर्ने छ, त्यसपछि यहाँको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्दै जानेछौँ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच