म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुहरु वस्तीमा पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँहरुमा डढेलो लागेपछि वन्यजन्तुहरु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका स्थानीयले बताएका छन् ।
“खेतबारीमा लगाएको बाली र तरकारी खेती वँदेल र बाँदरले नष्ट गरे । हुँदाहुँदा अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्” मंगला गाउँपालिका ५ का किसान टिकानाथ कडेंलले भन्नुभयो ।
कडेंलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घर भित्र नै छिर्न थालेका छन् । उता मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु,वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ ।
मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घर भित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरा समेत खाइदिन थालेका उहाँले बताउनुभयो ।
खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ ।
वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जंगलमा डढेलो लागेपछि वेसीका वस्तीमा समेत पसेर दुःख दिन थालेका मंगला ५ छिस्वाङका निकेश पुनले बताउनुभयो ।
दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले रात परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ । तर ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उहाँ बताउनुहुन्छ ।
जिल्लाको पश्चिम तर्फका बस्तीहरुमा बँदेल आतंक बढ्दै गएको किसानहरु बताउछन् ।बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका मालिका गाउँपालिका १ का किसान टेकबहादुर विकले बताउनुभयो । दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका उहाँको भनाइ छ ।
बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु,वासस्थान नासिनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका स्थानीय कृषकहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच