
काठमाडौं । मुलकको एक प्रमुख कम्युनिष्ट घटक नेकपा एमालेले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सव मनाएको छ । ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गरेर एमालेले नेकपा स्थापनाको ७५ वर्षघाट मनाएको हो । नेपालमा २००६ वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपाको स्थापना भएको हो । हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका विभिन्न राजनीतिक दलका नेता, मन्त्री र सांसदहरू सहभागी भएका थिए । समारोहमा निम्ता गरे पनि पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित हुनुभएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गरेको र भण्डारीलाई सम्मान गर्ने कार्यक्रममा नजाने भन्दै अध्यक्ष नेपालले समारोह बहिष्कार गर्नुभएको हो । हीरक महोत्सव समारोहमा राजनीतिक दलका शीर्ष नेताहरूबीच विगतमा जस्तै एक-आपसमा घोचपेच मात्र चलेन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या र वाम एकताका विषयमा पनि चर्चा भयो ।
एमालेलाई देउवाको प्रश्न, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा विशेष अतिथिको निमन्त्रणा स्वीकार गरेर समारोहमा उपस्थित हुनुभएका सभापति देउवाले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको ? भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाउनुभएको हो । सभापति देउवाले भन्नुभयो, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्यो अहिलेसम्म पत्ता लगाउन सकेको छैन । मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर, मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुस् केही छैन । तर, आफ्नो पनि भन्नुपर्यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ? मदनको हत्यारा पत्ता लगाउन कसले रोक्यो ?’ एमालेका नेताहरू पटक-पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति नै भएको उल्लेख गर्नुभएका सभापति देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको टिप्पणी गर्दै भन्नुभयो, ‘दुईपटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरू बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्यो तपाईंहरूले ।’
सभापति देउवाले फेरि पनि प्रमुख दलबीच निरन्तर सहकार्यको जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘कांग्रेस र एमाले दुवै पार्टी नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । महत्वपूर्ण एजेण्डामा सहकार्य भएको लामो इतिहास छ । ४६ साल, ६२/६३ सालको आन्दोलन, संविधान निर्माण र यसको कार्यान्वयन हाम्रो सहमतिको उदाहरण छ । कांग्रेसले महत्वपूर्ण विषयमा विद्यमान दलबीच संवाद र सहकार्यको नीति लिएका छौँ । हामी यसको निरन्तरताको पक्षमा छौँ । फेरि पनि यस्तो सहकार्यको जरुरी छ ।’
समारोहमा तत्काल दुई पार्टी एकता नगर्ने र अहिलेलाई सत्ता सहकार्य गर्ने विषयमा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच बोली मिलेको थियो । उहाँहरूबीच गत फागुन २१ को नयाँ सत्ता समीकरणयता नै कुरा मिल्दै आएको थियो । सोमबार नेकपा स्थापनाको हीरक महोत्सवमा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षले सत्ता सहकार्यमै जोड दिनुभएको थियो । विचार-विमर्श हुँदै जाँदा एकताको तहसम्म पुगिने सम्भावनालाई भने दुवैले नकार्नुभएन ।
ओलीको टिप्पणी : ‘अहिले नै मिल्यौँ भने किन फुटेका थियौ भन्छन्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन अत्यन्त हानिकारक भएको तर अहिले फेरि त्यसबाट उठ्न लागेको बताउनुभएको छ । सोमबार नेकपा स्थापनाको ७५ वर्ष पुगेर ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ । तर, अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ, के भएर फुटेका थियौ ? यस्ता प्रश्न उठ्न सक्छन् । कम्युनिष्ट पार्टीहरूबीच तत्काल एकता गर्नु दीर्घकालीन हुँदैन । अहिले तत्काल पार्टी एकीकरण भइहाल्छ, यो एउटा व्यक्तिगत तुष्टिको विषय हुनसक्छ । यसले फेरि आन्दोलनमा अरू प्रकारका समस्या पैदा गर्न सक्छन् । अहिले ठ्याक्कै वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन ।’ समारोहमा अध्यक्ष ओलीले अत्यन्त आदरणीय नेता भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गर्नुभएको थियो । देउवामा अहिले पनि जवान जोश तगडा रहेको उल्लेख गर्नुभएका ओलीले भन्नुभयो, ‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विपक्षी दलका नेता । पूर्वप्रधानमन्त्री । पूर्वप्रधानमन्त्री पनि पाँचपल्ट भन्नुपर्छ- पूर्व पूर्व पूर्व पूर्व पूर्व भनेर र उहाँ काफी धेरैपल्ट प्रधानमन्त्री भएको व्यक्ति हुनुहुन्छ । र, अहिले पनि जोश तगडा छ, यसो समातेर सिँढीबाट साथ दिन्छु भन्दा म सक्छु भन्नुहुन्छ । जवान जोश छँदै छ ।’
हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभएको छ । नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले अहिलेको सहकार्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताउनुभएको हो । २०७४ मा एमाले र माओवादी एकता भई नेकपा बनाएजस्तो अहिलेको अवस्था नरहेको उहाँको भनाइ थियो । अहिले एमाले र माओवादी लगायतका दलहरू बीचको सत्ता सहकार्यलाई राम्रोसँग अगाडि लैजाँदा एकताको आधार तयार हुने तर्क गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामीले सहकार्य सुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिष्टहरूको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको ।’
कम्युनिष्ट पार्टी विभाजनको कारण खोज्नुपर्छ : भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरू पटक-पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा कम्युनिष्ट पार्टी विभाजनको समीक्षा गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ । साँच्चै भन्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी, के गैरवामपन्थी, सबै राजनीतिक दलहरूले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेलाबेलामा समीक्षा गर्दै अगाडि बढ्नुपर्दछ ।’
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवाले उक्त सम्मान अर्पण गर्नुभएको हो । नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिष्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुईपटक निर्वाचित राष्ट्रपति हुनुभएकी भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीको पत्नी हुनुहुन्छ । नेपालको पहिलो महिला राष्ट्रपतिसमेत रहनुभएकी भण्डारी २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ साल फागुन २९ गतेसम्म पहिलो कार्यकाल र २०७४ फागुन ३० देखि २०७९ फागुन २९ गतेसम्म दोस्रो कार्यकाल राष्ट्रपति बन्नुभएको थियो । उहाँ नेकपा एमालेको पूर्व-उपाध्यक्षसमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच