प्रधानमन्त्री र मन्त्रीहरू पदमा बहाल हुँदाको अन्तिम मितिसम्मको सम्पूर्ण समयलाई राज्यले खरिद गरेको हुन्छ । उच्च पदस्थहरूको शपथग्रहण भनेको नै उनीहरूले आफ्नो समय, बुद्धि, विवेक, क्षमता, कार्यकुशलता आदि पदमा बहाल रहँदाका मितिसम्म राज्यलाई इमानदारीपूर्वक सुम्पन्छु भन्ने वचनबद्धता हो । शपथग्रहण भनेको व्यक्तिगत, पार्टीगत, पारिवारिक आदिका पक्षमा होइन, देश र जनताका पक्षमा काम गर्छु, समय खर्चन्छु भन्ने प्रतिज्ञा हो । प्रतिज्ञाभित्र पदमा बहाल रहँदासम्म मेरो विवेक, बुद्धि, क्षमता आदि सम्पूर्ण समय राज्य र जनतालाई दिन्छु । इमान, धर्मलाई सम्झेर काम गर्छु भन्ने सम्झौता हो । शपथग्रहण व्यक्तिको व्यक्तिगत अर्थात् निजी जीवन एकाएक सामाजिक जीवनमा रूपान्तरण गर्ने राज्यपक्ष र सम्बन्धित व्यक्तिको स्वेच्छिक सम्झौता हो ।
यस सम्झौताविपरीत राज्यलाई तलब, भत्ता र सुविधासँग स्वेच्छाले विनिमय गरेको समयलाई उसले आफ्नो पार्टी, आफ्नो परिवार, नातागोता कसैलाई दिन पाइँदैन । परिवारलाई, नातागोतालाई वा वा पार्टीका कार्यकर्ता र पार्टीका कुनै कार्यक्रमलाई समय दिनुभनेको अपराधजन्य बेइमानी हो । यो दण्डनीय विषय बन्नुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरू जस्तो उच्च पदको शपथ लिनेहरू देशको र जनताको महत्वपूर्ण सम्पत्ति हो । उनीहरूको समयको दुरुपयोग भनेको राज्यको सम्पत्तिको दुरुपयोग हो । उद्घाटन र शिलान्यासमा समय खर्च गरेर देश बन्दैन । देश बनाउन उपयुक्त कार्यक्रम बन्नुपर्छ, अक्षरशः कार्यान्वयन नगरीकन देश बन्दैन । पदको शपथग्रहण भनेको निजी जीवनलाई स्वेच्छाले परित्याग गर्ने र सार्वजनिक जीवन ग्रहण गर्ने संकल्प हो । व्यक्तिगत र पार्टीगत काममा समय खर्चनु संकल्पविपरीतका क्रियाकलाप हुन्, ती कानुनतः दण्डनीय हुनुपर्छ । सार्वजनिक पदमा रहँदा समयको दुरुपयोग गर्ने र नीतिगत भ्रष्टाचार गर्ने जोकोही दण्डित हुनुपर्छ । प्रगतिको बाधक भनेको समय, साधनस्रोत र अधिकारको दुरुपयोग हो ।
राज्यको जिम्मेवारीका सन्दर्भमा शपथग्रहण गर्ने जोसुकैलाई समयको दुरुपयोग गरेकोमा दण्डित गर्ने कानुनी व्यवस्था हुनुपर्छ । राज्यका जिम्मेवार निकायमा बस्नेहरूले विवेक, ज्ञान साथै समयको दुरुपयोग गरेकाले नै हाम्रो विकास र समृद्धि नभएको हो ।
सार्वजनिक पदको शपथग्रहण भनेको व्यक्तिको निजी जीवनलाई नितान्त सार्वजनिक जीवनमा रूपान्तरण गर्छु भन्ने प्रतिबद्धता हो । शपथ मितिदेखि व्यक्तिगत वा निजी जीवनलाई सीमित गरेर देश र समाजको हितमा मात्रै चिन्तनशील, क्रियाशील हुन्छु भन्ने प्रतिबद्धता, वचनबद्धता र संकल्प हो । संकल्प गर्ने पदाधिकारीले लिएको पारिश्रमिक, भत्ता, सुविधा आफ्नो सम्पूर्ण समय राज्यलाई सुम्पिदिन्छु भन्ने सम्झौतानुसार प्राप्त पारितोषिक हो । यो पदमा रहँदासम्म परिवार नातागोता, साथीभाइ, इष्टमित्रहरूको पक्षमा होइन फगत जनता र देशको पक्षमा कुनै प्रकारको लोभलालचजस्ता कुराबाट मुक्त भएर देश र जनताको निष्पक्ष सेवा गर्छु भन्ने करारनामा हो ।
सो अवधिमा व्यक्तिगत, परिवार, इष्टमित्र, पार्टीको काममा, मनोरञ्जन र सानसौकत आदि प्रदर्शन गर्नेजस्ता कुनै काममा समयलाई खर्च गर्न पाइँदैन । व्यक्ति विशेषको पाहुना हुने र उपहारसमेत बर्जित विषय हुन्छन् । व्यक्तिगत वा पार्टीगत स्वार्थपूर्तिका लागि साधनस्रोत प्रयोग गर्दा भ्रष्टाचार हुने तर त्यस्ता व्यक्तिहरूको राज्यलाई दिन्छु भनेर शपथ खाएको समयलाई दुरुपयोग गर्दा भ्रष्टाचार गरेको ठहर किन नहुने ? विद्यमान कानुनलाई छल्ने नियतका साथ हुने मन्त्री परिषद्बाट हुने स्वर्थप्रेरित सम्पूर्ण निर्णय दण्डभागी हुनुपर्छ । आर्थिक भ्रष्टाचारजस्तै नीतिगत भ्रष्टाचार र समयको भ्रष्टाचार जघन्य अपराध हुन् ।
अबका दिनमा उच्चपदस्थहरूले गर्दै आएको समयको दुरुपयोग अर्थात् समयको भ्रष्टाचार र नीतिगत भ्रष्टाचार रोक्न अविलम्ब कानुन बन्नुपर्छ । व्यक्तिको समय मुद्रा हो । समयको सदुपयोगले व्यक्तिले आफूलाई आर्थिक रूपमा सम्पन्न बनाउँछ । त्यस्तै सार्वजनिक पदमा रहेको व्यक्तिको चिन्तन, लगनशीलता, कार्यकुशलताले जनता र देश समृद्ध हुन्छ । उच्चपदस्थहरूको समयको दुरुपयोगले देश र समाजको दुर्गति हुन्छ । राज्यको जिम्मेवारीका सन्दर्भमा शपथग्रहण गर्ने जोसुकैलाई पनि समयको दुरुपयोग गरेकोमा दण्डित गर्ने कानुनी व्यवस्था हुनुपर्छ ।
जसलाई राज्यले विविध प्रकारका सुविधा र साधन उपलब्ध गराएर आफ्नो काम गर्न आदेश दिएको छ भने उसको निजी जीवन हँुदैन । समय अब राज्यको हुन्छ व्यक्तिको हुँदैन । त्यसैले प्रधानमन्त्री, मन्त्रीहरूले पदमा बहाल रहँदासम्म म व्यक्तिगत, पारिवारिक, नातागोता र कुनै खास पार्टी वा चिनजानको काम गर्ने समयबाट वञ्चित छु भन्ने कुरा सम्बन्धित व्यक्तिले व्यवहारबाटै आत्मसात गर्नुपर्छ । त्यस्ता व्यक्तिहरूले राज्य र जनताका काममाबाहेक समय र साधनको दुरूपयोग गरेका छन् कि भन्ने निगरानी आमनागरिकले गर्नुपर्छ ।
प्रधानमन्त्री, मन्त्रीहरू पदमा रहँदा राज्यका साधनस्रोतलाई निजी सम्पत्ति ठानेर दुरुपयोग हुने विषयलाई कानुनले भ्रष्टाचार भनेको छ भने समय जस्तो महत्वपूर्ण वस्तुको दुरुपयोगमा किन भ्रष्टाचारको कानुन आकर्षित नहुने ? राज्यलाई सुम्पेको समय दुरुपयोग गर्ने छुट कसैले नपाउने कानुन बन्नुपर्छ । यो सचेतना सबै प्रधानमन्त्रीहरू र मन्त्रीहरूलाई हुनुपर्ने हो । यस्तो सर्वोच्च पदमा बहाल रहनेहरूलाई यति सामान्य विषयमा पनि सचेत गर्नुपर्ने अवस्था आउनु हाम्रो दुर्भाग्य हो । यति सामान्य विषयलाई ख्याल नगर्नेहरू पनि उच्चपदमा पुग्ने हाम्रो संविधान र शिक्षा पद्धतिमा विद्यमान कमजोरी नै यसको कारण हो भन्दा पक्कै पनि अत्युक्ति नहोला ।
प्रधानमन्त्री, मन्त्रीहरूको पूरै समय राज्यले किन्ने अनि त्यै समय अन्य व्यक्तिगत र पार्टीगत काममा खर्च गर्नु भनेको पनि भ्रष्टाचार हो । भ्रष्टाचारलाई यस कोणबाट हेर्ने समय कहिले आउँछ ? कौटिल्यले प्रधानमन्त्री पदमा हँुदा राज्यको कामका लागि बालेको राज्यको बत्तीलाई निभाएर आफ्नो व्यक्तिगत काम गर्दा निजी बत्ती प्रयोग गर्ने भन्ने कुरा उनको गतिविधिको अध्ययनबाट प्रष्ट हुन्छ । त्यसैले लाबालस्कर सुरक्षाकर्मी, साधन, ड्राइभरजस्ता अनगिन्ती खर्च प्रयोग गरेर निजी काममा जाने पार्टीहरूको सभासम्मेलनमा जाने र पार्टीविशेष र उम्मेदवार विशेषको प्रचारप्रसारमा झण्डा हल्लाएर जाने प्रधानमन्त्री र मन्त्रीहरूको गतिविधिलाई अबका दिनहरूमा नियन्त्रण गर्ने विधि र संयन्त्र सशक्त क्रियाशील हुनुपर्छ ।
युवाहरूले यस्तो अनुशासन कायम गर्न दबाब दिनुपर्छ । उनीहरूलाई तलब, भत्ता, अतिथिसत्कार, पानी, बिजुली, पत्रपत्रिका, इन्टरनेट, कम्प्युटर जस्ता अति आवश्यक मात्रै होइन थुप्रै विलासी सामग्रीहरूको व्यवस्था राज्यकोषबाट हुन्छ । उनीहरूका लागि भान्से, सुसारे, निजी सहायक, ड्राइभर, सल्लाहकारहरू, सुरक्षाको लावालस्कर आदि आदि जनशक्तिमा हुने अनगिन्ती लगानी पनि राज्यकोषबाटै हुन्छ । आधुनिक सुविधाहरूले सुसज्जित, सुरक्षित साथै सुविधाजनक गाडीहरूको प्रबन्ध राज्यले गरेको हुन्छ । विशेष सुविधाजनक आवासको प्रबन्धमा पनि राज्यले थुप्रै खर्चेको हुन्छ । हामीले थाहा पाउनेमात्रै होइन थाहा नभएका र लेखापरीक्षण नै नहुने थुप्रै शीर्षकहरूमा पनि राज्यकोष लुटिन्छ ।
निर्वाचन प्रचारमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पार्टीका उम्मेदवारको निर्वाचनको प्रचारप्रसारमा समय खर्च गर्नु भनेको व्यक्तिगत लाभको खपत गर्ने रणनीति हो । सार्वजनिक पदमा बस्नेले एकपक्षलाई हानी र अर्को पक्ष लाभान्वित हुने काममा समय खर्चिनु भनेको दुरुपयोग हो ।
सुविधा लिखितमा उल्लेख भएभन्दा अझ बढी-बढी सुविधा आफू र परिवार नातागोता समेतले लिएर राज्यकोषको ढाड सेकाउने कामको विषयमा लेखाजोखा नै नहुने खर्च राज्यले व्यहोरेको छ । पेट्रोल, मर्मत, मुबिलजस्ता खर्च आवश्यकताभन्दा बढी बिल बनाएर राज्यकोषको दोहन प्रतियोगिता पनि यिनीहरूबीचमा सधैं हुँदै आएको छ । देश र जनतालाई उनीहरूले के दिने भन्ने चिन्तन छैन यिनीहरूको चिन्तन सबै राज्यको ढुकुटीबाट कसरी धेरैभन्दा धेरै लिन सकिन्छ भन्ने सोच सबैमा प्रबल भएकाले राज्य प्रतिदिन दुब्लाउँदै छ भने यिनीहरू प्रधानमन्त्री र मन्त्री बनेर निस्कँदा छ/आठ महिनामै मोटाएर निकन्छन् ।
सम्पत्ति आफ्नो जोड्न र राज्यको अन्धाधुन्ध खर्च गर्ने मानसिकता, चिन्तन, मस्तिष्क र प्रवृत्तिको सिकार सधैं राज्यकोष भएकाले राज्यकोषलाई यिनीहरूको खर्चको भार थामिनसक्नु भएर अब टाट उल्टने अवस्थामा पुगेको छ । सुविधा वैध अवैध दुइटै कुम्ल्याउँदासमेत नपुगेर अवैध आर्जनमा अर्थात् भ्रष्टाचारमा क्रियाशील रहेको कुरालाई सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्डजस्ता काण्डहरूले प्रमाणित गरेका विषय हुन् । उपराष्ट्रपतिको जस्तो उच्च सचिवालय र तिनका कर्मचारीहरू सुनतस्करीमा प्रयोग भएको भन्ने समाचार पत्रपत्रिकाहरूमा प्रकाशित हुने विषय वास्तवमा लज्जास्पद विषय हुन् ।
यस्ता लज्जास्पद विषयको मसिनो लेखाजोखा गर्ने हो भने पदमा हुनेहरू नचुकेका अब पाउनै मुस्किल हुने विषयले भ्रष्टाचारको आयतन कति छ भनेर आकलन गर्नै कठिनाइ हुने अवस्था भनेको संविधान, कानुन र नियमनकारी निकायहरूको असफलता हो भन्नु किञ्चित अन्यथा हँदैन । राज्यले सबै समय किनेका मानिसहरूले त्यो समय आफ्नो परिवारलाई, निजी कामलाई र आफ्नो पार्टीलाई खर्च गर्न पाइने कि नपाइने अब यसलाई बहससँगै कारबाहीको विषय बनाउनुपर्छ । आफ्नो पार्टीको मिटिङमा आफ्नो पार्टीको उम्मेदवारको प्रचारप्रसार गर्न प्रधानमन्त्री र मन्त्रीहरूले राज्यले किनेको समय र साधनहरूको चरम दुरुपयोग गर्न पाइने कि नपाइने भन्ने विषयमा अब गम्भीर बहस प्रारम्भ गर्ने कि ?
सरकारी साधन र स्रोतलाई जसले दुरुपयोग गर्छ । त्यो भ्रष्ट हो । उसका क्रियाकलाप भ्रष्ट क्रियाकलापमा गनिनुपर्छ । भ्रष्टाचार भनेको फगत आर्थिक भ्रष्टाचारलाई मात्र भनेका छौं, सरकारी साधनस्रोत दुपयोग, प्राप्त अधिकारभन्दा बढी र कम अधिकारको प्रयोग साथै समयको दुरुपयोगमात्रै होइन अहिले नांगिएको नीतिगतजस्ता समग्र उच्चपदस्थका बद्नियतपूर्ण निर्णय र क्रियाकलापलाई भ्रष्टाचारको श्रेणीमा राख्नुपर्छ ।
निर्वाचन प्रचारमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पार्टीका उम्मेदवारको निर्वाचनको प्रचारप्रसारमा समय खर्च गर्नु भनेको व्यक्तिगत लाभको खपत गर्ने रणनीति हो । सार्वजनिक पदमा बस्नेले एकपक्षलाई हानी र अर्को पक्ष लाभान्वित हुने काममा समय खर्चिनु भनेको दुरुपयोग हो । यो भ्रष्ट क्रियाकलाप र भ्रष्ट आचरण हो । त्यसैले अबका दिनमा आर्थिक भ्रष्टाचारसँगै समय साथै नीतिगत निर्णयबाट हुँदै आएको भ्रष्टाचारलाई दण्डित गर्ने जनताको माग र समयको आवश्यकतालाई आत्मसात गर्न जिम्मेवारहरूले ढिला गर्नु हुँदैन ।
(अष्ट्रेलियाको मेलबर्नबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच