काठमाडौं । निरन्तरको अन्तरसंघर्ष र नेतृत्वको निषेध व्यहोरेका नेकपा एमालेका नेता डा.भीम रावल अन्ततः पार्टी परित्यागको मनस्थितिमा पुग्नुभएको छ । एमालेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नुभएका रावलले ‘एमालेभित्र आफ्नो कुरा सुनिने अवस्था नरहेको’ भन्दै एमाले छाड्ने संकेत गर्नुभएको हो ।
एमालेको पूर्व–उपाध्यक्षसमेत रहनुभएका रावल पूर्व– उपप्रधानमन्त्रीसमेत हुनुहुन्छ । एमालेको हालै गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा रावललाई सहभागी हुन दिइएको थिएन । बैठकस्थलमा पुग्नुभएका रावललाई परिचयपत्र नभएको भन्दै सेक्युरिटी गार्डले बैठकस्थल प्रवेशबाट रोकेका थिए । यसअघि पनि अध्यक्ष ओलीसँगको राजनीतिक मतभेदका कारण रावलको राजनीतिक भविष्यबारे अनेक चर्चा हुने गरेका थिए । यसपटक भने रावल आफैँले पार्टीभित्र आफ्नो कुरा सुनिने स्थिति नरहेकोले नयाँ निर्णय लिने बताउनुभएको छ ।
‘देश, जनता, नेपालको संविधानका प्रावधानहरू, नेकपा एमालेको बहुदलीय जनवाद, त्यस अन्तर्गतको नैतिक विषय, विधि, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा, कार्यकर्ताको अधिकारका कुराहरू उठाएकै कारण मलाई यो दुव्र्यवहार गरेको कुरा त प्रष्टै छ नि’, रावलले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले एमालेमै रहेर संघर्ष गर्ने सम्भावना अब सकिएको समेत स्पष्ट पार्नुभयो । ‘गोदावरीमा भएको महाधिवेशन प्रतिनिधिको बैठकमा जुन प्रकारले निषेध गरेर मसँग प्रतिशोधपूर्ण ढंगको व्यवहार गरियो । त्यो हेर्दा त मैले बोलेको कुरा एमालेमै सुनिन्छ भन्ने स्थितिमा म छैन’, उहाँले भन्नुभयो ।
एमालेमा रहने अवस्था नभए पनि अबको राजनीतिक यात्राबारे आफूले सोचिनसकेको रावलको भनाइ छ । ‘मैले यस्तै गरौँला भनेर सोचेको त छैन तर धकेलिसकेपछि कि अपमान सहेरै बस्नुप¥यो कि अगाडि बढ्ने हो भने त कुइनेटोबाट अगाडि त लाग्नुपर्ला नि’, उहाँले भन्नुभयो ।
गोदावरी बैठकमा आफूलाई गरिएको निषेधलाई रावलले ‘नयाँ बाटो तय गर्ने’ मुख्य कारण माने पनि खासगरी पछिल्लो पाँच वर्ष देखिको शक्ति संघर्षले नै रावललाई एमालेबाट अलग गर्न लागेको हो ।
ओलीसँगको मतभेद नै कारक
बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्षमा रावलले प्रतिस्पर्धा गर्नुभएको थियो । संविधान निर्माणपछि बनेको ओली नेतृत्वको सरकारमा रावल उपप्रधान एवं रक्षामन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यतिबेला ओलीको विश्वास पात्रको रूपमा सबैले रावललाई चिन्थे । पार्टीको आन्तरिक शक्ति संघर्षमा लामो समय सहकार्य गरे पनि विगत आधा दशकदेखि ओली-रावल सम्बन्ध तीक्ततापूर्ण रहृयो । एमाले र माओवादीबीच भएको एकतापश्चात् नेकपामा रावललाई उचित भूमिका दिइएन । नेकपाको सचिवालयमा समेत नपरेपछि अध्यक्ष ओलीको कटु आलोचकका रूपमा रावल प्रस्तुत हुनुभयो ।
नेपालमा आयोजनाको तयारी गरिएको आइफा अवार्डबारे सत्तारूढ दलकै सांसदका रूपमा रावलले कडा विरोध जनाउनुभएको थियो । नेकपाको तत्कालीन सरकारले एमसिसी अगाडि बढाउन खोज्दा रावलले विरोध जनाइरहनु भएको थियो । ओलीले संसद् भंग गरेपछि प्रचण्ड र माधव नेपाललाई रावलले साथ दिनुभएको थियो । एमाले ब्युँतिएपछि ओलीविरुद्ध निरन्तर लागे पनि पार्टी विभाजनमा माधव नेपाल र झलनाथ खनाललाई रावलले साथ दिनुभएन ।
सर्वोच्चको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने बेला रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको थियो । पार्टीभित्रै रहे पनि नेतृत्वलाई निरन्तर लाञ्छित गरेको भन्दै संस्थापन पक्ष रावलसँग रुष्ट थियो । यही कारण एमालेको सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी रावलबाट खोसियो । यिनै विवादको निरन्तरता महाधिवेशनसम्म पुग्यो । चितवन महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । एक हजार ८३७ मत ल्याउनुभएका ओलीविरुद्ध रावलले जम्मा २२३ मत ल्याउनुभयो । महाधिवेशनको साढे दुई वर्षसम्म भूमिकाविहीन बनाइएका रावलले गत निर्वाचनमा संसदीय टिकटसमेत पाउनुभएन । विवाद र संघर्षको यही शृंखलाले अन्ततः रावललाई झण्डै पाँच दशक सक्रिय योगदान गरेको पार्टीबाट अलग बनाउँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच