काठमाडौं । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ र बझाङ प्रदेशसभा क्षेत्र-१ मा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार इलाम-२ को प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी दौडमा छन् । त्यसैगरी, बझाङको प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । इलाम-२ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयाघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो । यस्तै, प्रदेशसभा सदस्य रहेका बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।
संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ । साथै प्रदेश सभाको हकमा धारा १७६ को उपधारा ८ मा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ । संविधानको सोही व्यवस्थाअनुसार इलाम-२ र बझाङ प्रदेशसभा–१ मा नयाँ जनप्रतिनिधि चयनको लागि उपनिर्वाचनअन्तर्गत आज मतदान हुन लागेको हो ।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले आज हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले शनिबार सम्पन्न हुने इलाम–२ र बझाङ १ (१) मा हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको हो । आयोगले उक्त निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ । आयोगले उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सम्पूर्ण मतदाताहरूलाई अपिल गरेको छ । आयोगले निर्वाचन आचारसंहिता पालना गराउन र निर्वाचन सुरक्षाबारे सूक्ष्म रूपमा अनुगमन कार्य भइरहेको उल्लेख गर्दै भनेको छ, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको छ ।’
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौँडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिई सकिएको पनि निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारीसाधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यससम्बन्धी प्रबन्ध मिलाउन गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसकेको छ । यस अघिका चुनावहरूमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरू मात्र सञ्चालन गर्न दिइन्थ्यो । तर, उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रूपमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले भन्नुभयो, ‘यसअघिका चुनावहरूमा सार्वजनिक सवारीका साधन निर्वाध सञ्चालन गर्न पाइँदैनथ्यो, यसपटक भने चलाउन दिने निर्णय गरेका छौँ ।’ आयोगले दिएको निर्देशनमा लेखिएको छ, ‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने ।’
निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधन पनि मतदाता बोक्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ । आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन पनि सञ्चालन हुन पाउनेछन् । उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एकजनाले मतदानको दिन चार पाङ्ग्रे, तीन पाङ्ग्रे वा दुई पाङ्ग्रेमध्ये कुनै एउटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न पाउनेछन् ।
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
इलाम र बझाङमा आज हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रहरीले तीन चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात् गरेर तीन चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता (डिआइजी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो । इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा हुने प्रदेश सभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा एक हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डिआइजी ढकालले जानकारी दिनुभयो । निर्वाचन सुरक्षामा दुई हजार ३८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा एक हजार ३६३ जना र बझाङमा एक हजार २४ जना प्रहरी परिचालन गरिने डिआइजी ढकालले बताउनुभयो । ४२ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ ।
इलाममा १९ र बझाङमा २३ मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । मतदान स्थलमा ६९ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा छन् । अति संवेदनशील मतदान स्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । पाँचवटा परिस्थित आएमा बल प्रयोग गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई अनुमति दिइएको छ । मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्था आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् । मतदाताहरूलाई कसैले मतदान गर्न जान नदिए पनि बल प्रयोग गर्न अनुमति दिइएको डिआइजी ढकालले जानकारी दिनुभयो । यस्तै, उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुमति दिनुभएको छ ।
दुई क्षेत्रमा मतदाता संख्या कति ?
निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन हुने इलाम र बझाङको अन्तिम मतदाता नामावलीअनुसार इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन् । बझाङको १ (१) मा ६१ हजार ७४८ जना छन् । आयोगले २०७९ मंसिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको हो । त्यस्तै, बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख दुई हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् ।
उपनिर्वाचनमा करिब १७ सय कर्मचारी परिचालन
इलाम र बझाङको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई यसअघि नै निर्देशन दिइसकेको थियो । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारीको प्रबन्ध मिलाइएको छ । निर्वाचन आयोगले इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तय गरेको छ । बझाङ प्रदेश (१) मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । आयोगले देशभरमा १० हजार ८९२ मतदानस्थल स्वीकृत गरेको थियो । मतदान केन्द्रअनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिएको छ । प्रत्येक केन्द्रमा एक-एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी रहेका छन् । उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
मतदाताले यी कागजात भए पाउँछन् भोट हाल्न
इलाम-२ र बझाङ १(१) प्रदेशसभा उपचुनावमा मतदाता नामावली सूचीमा नाम रहेका व्यक्तिले कुनै पनि सरकारी परिचयपत्र भए मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्रसम्बन्धी निर्णय गर्दै सरकारले जारी गर्ने कुनै पनि परिचयपत्र भए मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच