भू–उपयोग नीति कार्यान्वनका विषयमा अन्तरक्रियाको थालनी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर नगरपालिकाले भू–उपयोग नीति कार्यन्वनका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया सुरु गरेको छ । भोजपुर नगरपालिकाले अहिले वडा स्तरीय अन्तरक्रिया सुरु गरेको हो ।

भू–उपयोग नीतिका बारेमा सरोकारबालाहरुलाई जानकारी दिने उदेश्यले अहिले नगरपालिकाले वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सुरु गरेको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताउनुभयो । भु–उपयोग ऐन २०७६, भु उपयोग नियमावली २०७९ मा भएका मापदण्ड तथा ब्यबस्था र वर्गीकरणको सवालमा वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम भई रहेको हो ।

भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ जारी भएकाले भोजपुर जिल्लामा रहेका २ नगरपालिका र ७ गाउँपालिकाहरुले पनि सोही अनुसार आफनो क्षेत्रमा कार्यान्वनमा ल्याउने छन । जग्गा वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र सहित १० क्षेत्रमा विभाजन गरिएको छ ।

भौगोलिक अवस्था, भूमिको क्षमता एवम् आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भू–उपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्नुपर्ने भनिएकाले सोही अनुसार भोजपुर नगरपालिकाले पनि तयारी सुरु गरेको हो । सोही अनुसार भोजपुर नगरपालिकाले पालिका भित्रका १२ वटा वडा मध्ये वडा नम्वर एक देखि १० सम्म सार्वजनिक छलफल सहित अन्तरिक्रया गरेको छ ।

भोजपुर नगरपालिका, भू–उपयोग परिषदको आयोजना तथा वडाहरुको स्थानिय ब्यबस्थापनमा भु–उपयोग ऐन २०७६, भु–उपयोग नियमावली २०७९ मा भएका मापदण्ड तथा ब्यबस्था र वर्गीकरणको सवालमा वडा स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था तथा कार्यालयका कर्मचारी, बौद्धिक तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?