
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । २८औँ राष्ट्रिय चिया दिवसका अवसरमा शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा उहाँले भत्ता र सरुवा, बढुवाको माग गर्ने बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिन नसकेको बताउनुभयो । ६० हजार बढीलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भन्दै मन्त्री साहले सोहीअनुसार काम गर्न र चिया दिवस चिया बगानमै मनाउन निर्देशनसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज यो कार्यक्रम काठमाडौंको एउटा हलमा सीमित छ । मलाई लागिरहेको छ, यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपर्ने अथवा झापाको कुनै बगानमा गर्नुपर्ने थियो ।’ बोर्ड चिया तथा कफीको प्रवद्र्धनका लागि बनेको भए पनि बोर्ड सदस्यहरूले नै विगतमा दुर्ई वर्षमा बैठक बसेको, बैठकमा पनि भत्ता र सरुवा हुने कुरा गरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री साहले भन्नुभयो, ‘जो वास्तविक कृषक छ । १६ हजार लगभग किसानले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा जो सुरुवात गर्नुभएको छ । चिया तथा कफी व्यवसायीले जो सुरुवात गर्नुभएको छ र अझ विस्तार गरेर १४ जिल्ला अझ थप गर्नुभएको छ ।
चिया क्षेत्रमा निराशामात्र होइन, राम्रा कुरा पनि धेरै भएका छन् । हिजोको झापा, इलामबाट सुरु चिया आज झापा, तेह्रथुम, धनकुटा, पाँचथरलगायत अझ हामीले विस्तार गरेर सबै गरेर १९ जिल्लामा काम हुनु आफैंमा सकारात्मक पक्ष हो । जसमा ६० हजार श्रमिकले काम पाएका छन् ।’
साहले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न पनि व्यवसायीलाई आग्रह गर्नुभयो । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लामा पनि पर्ने भएकाले यसपटक पनि सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको बताउनुभएको थियो ।
बोर्डका अनुसार नेपालको निर्यातजन्य केही सीमित कृषि बालीमध्ये चिया अग्रस्थानमा रहँदै आएको छ । बोर्डको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार नेपालमा कुल २० हजार दुर्ई सय ३० हेक्टरमा चियाखेती हुँदै आएको छ । सो अवधिमा दुई करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक करोड ६५ लाख केजी चिया निर्यातबाट तीन अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन भएको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निर्यात भारतमा नै हुने गरेकाले भारतीय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको बोर्डले जनाएको छ । तर, भारतले आयातसम्बन्धी नीतिमा सानो परिवर्तन गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ ।
भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ । गत मार्च २४ देखि २६ सम्म अमेरिकाको लस भेगासमा सम्पन्न वल्र्ड टी एक्स्पोमा २०२४ मा नेपालको सिद्धदेवी टी स्टेट प्रालि वेभरेज च्यालेन्जतर्फ ग्राण्ड च्याम्पियनका रूपमा पुरस्कृत भएको थियो । विगत वर्षमा पनि चीनमा भएको टी च्याम्पियनसिपमा नेपाली चिया उत्पादकहरूले ग्रेण्ड गोल्ड मेडल जितेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच