
सुर्खेत । भीमा गुरुङ मृत्यु प्रकरणका सम्बन्धमा जिल्ला अदालत सुर्खेतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालतमा दर्ता भएको मुद्दाउपर सुनुवाइ गर्दै अदालतले घटनाको गाम्भीर्यता र संवेदनशीलतालाई ध्यान राखी दुवै पक्षलाई वैशाख २१ गते शुक्रबार छलफलका लागि झिकाउन आदेश दिएको छ । साथै अदालतले मृतकका आफन्त, परिवार, सहयोगी समेतलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा सुर्खेत प्रहरीलाई समेत निर्देशन दिएको छ । पीडितका तर्फबाट कानुन व्यवसायी अधिवक्ता शेरबहादुर खत्रीले बहस गर्नुभएको थियो ।
उपचारका क्रममा कर्णालीको प्रदेश अस्पतालमा मृत्यु भएपछि दैलेख आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङका आफन्त न्याय माग्दै अदालत पुगेका थिए । पाठेघरको उपचार गराउन गत चैत २८ गते सुर्खेतस्थित प्रदेश अस्पताल पुग्नुभएकी भीमालाई चिकित्सकले भोलिपल्ट अर्थात् चैत २९ गते मृत घोषणा गरेका थिए । त्यसपछि भीमाका परिवार तथा आफन्त डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका थिए । घटनाबारे निष्पक्ष छानविन, दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले चैत २९ देखि एक साताभन्दा बढी विरोध प्रदर्शन गरेका थिए । तर, यी माग अस्पताल, जिल्ला प्रशासन तथा प्रदेश सरकार कसैले सुनुवाइ नगरेपछि उनीहरू भीमाको शव अस्पतालमै छाडेर घर फर्किएका थिए । भीमाको शव २२ दिनदेखि अस्पतालको शवगृहमा अलपत्र छ । मृतकका ससुरा नाता पर्ने धनबहादुर बलामी मगरले न्याय माग्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराउनुभएको थियो ।
अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजंग शाही लगायतलाई विपक्षी बनाइएको छ । अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको गम्भीर लापरबाहीले भीमाको मृत्यु भएको धनबहादुर मगरको दाबी छ । अदालतमा दायर भएको मुद्दामा मृतककी नाबालिग आठ महिने छोरीको लालनपालन, रेखदेख संरक्षणका साथै उचित क्षतिपूिर्त अदालतबाटै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको छ ।
मृतक भीमाका आफन्तले आठ महिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्थापन, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका छन् ।
यस्तो थियो घटना
गत चैत्र २८ गते मृतक भीमालाई पेट दुख्ने समस्या भएपछि आफैँ हिँडेर प्रदेश अस्पताल पुग्नुभएको थियो । अस्पतालमा डाक्टरले जाँच गर्दा पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभयो ।
भीमाको शल्यक्रिया गर्नुअघि चैत २९ गते डाक्टरको टिमले यो केस सामान्य भएकाले चिन्ता नगर्नु भनी आफन्तलाई सम्झाई बुझाई गरी शल्यक्रिया कक्षमा लगेका थिए । सोही दिन अपराहृन ३ बज्न १० मिनेट बाँकी रहदाँसम्म डाक्टरहरूले सबै ठीकै छ भनेर रगत चढाएको आफन्तहरूले दाबी गर्दै आएका छन् ।
तर, एक्कासि त्यसको केही समयमा तपाईंको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरियो । फेरि त्यसको केही समयपछि उपचारमा संलग्न डाक्टरहरूले भीमाको मृत्यु भएको आफन्तलाई जानकारी दिए । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाको विषयमा बीचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापरबाहीकै कारण भीमाको मृत्युको भएको आफन्तको दाबी छ ।
घटनापश्चात् कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग आफन्तले छलफल गर्दा भीमाको केस हजारौँमा एकाध मान्छेलाई हुने भन्दै निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएका थिए । तर, खड्काको यो भनाइ भीमाका आफन्तहरू स्वीकार्ने पक्षमा थिएनन् । ‘निकै जटिल र गम्भीर खालको केस थियो भने शल्यक्रिया गर्नुअघि हामीलाई किन जानकारी गराइएन ?’ मृतक भीमाका ससुरा धन बहादुरले भन्नुभयो, ‘अर्को कुरा त्यस्तो गम्भीर केस थियो भने स्त्री रोगसम्बन्धी सिनियर डाक्टरहरू उपचारमा किन संलग्न भएनन् ? यसमा अस्पतालको गम्भीर लापरबाही छ ।’
हाल मृतक भीमाकी आठ महिने नाबालिका दुधे छोरी आमाको बाटो कुरिरहेकी छन् । तर, घटना जे भए पनि भीमा अब कहिल्यै फर्किने छैनन् । यसबारे सत्यतथ्य छानविन हुन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच