
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन (बर्खे अधिवेशन) आज (शुक्रबार)बाट सुरु हुँदै छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु हुनेगरी आहृवान गर्नुभएको थियो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आहृवान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्का दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद् नयाँ बानेश्वरमा बस्दै छ । विगतको अभ्यासअनुसार अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत लिइन्छ । सरकारले प्रत्येक वर्ष १५ जेठमा संघीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्छ ।
संघीय संसद्मा यस वर्ष चैत महिनामै बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइसकेको छ । अब वर्षे अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत, छलफल र पारित गरेपछि सरकारले बजेट ल्याउँछ । कानुनमन्त्री पदम गिरीले वर्षे अधिवेशन मुख्यतः बजेटमा केन्द्रित भए पनि केही विधेयकमाथि छलफल हुने बताउनुभएको छ । १६ र १७ वैशाखमा भएको लगानी सम्मेलनलाई मध्यनजर गरी सरकारले अध्यादेशमार्फत विभिन्न आठवटा कानुन संशोधन गरेको थियो । ती अध्यादेश प्रतिस्थापन गर्ने विधेयक र संसदीय समितिमा विचाराधीन विधेयकहरूमाथि समेत छलफल हुने जानकारी दिँदै मन्त्री गिरीले भन्नुभयो, ‘संसदीय समितिमा दफाबार छलफल भएका विधेयकहरू छिटोभन्दा छिटो त्यहाँ टुंग्याउने र संसद्मा लगेर पास गर्नेगरी काम अगाडि बढ्दै छ ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानविन समिति माग गरिरहेका बेला सरकारले संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गरेको थियो । सहकारी प्रकरणमा रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै कांग्रेसले छानविन गर्न संसदीय समितिको माग राख्दै आएको छ । सदनको हिउँदे अधिवेशन अन्त्यपछि गतिरोध अन्त्यका लागि सभामुखसहित शीर्ष नेताहरूको छलफल भएको छ । तर, उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने मुछिएको सहकारीको रकम ठगी विवाद जहाँको त्यहीँ छ । त्यसकारण आजदेखि सुरु हुने प्रतिनिधि सभाको बजेट अधिवेशन सहज नहुने आशंका कायमै छ ।
अधिवेशनको पूर्व-सन्ध्यामा सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियो । तर, अघिल्लो अधिवेशनमै प्रतिनिधि सभामा उठेर निरूपण हुन नसकेको सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानविनका लागि संसदीय समिति गठनको विषय भने जहाँको त्यहीँ रहृयो । सत्तारूढ दलहरू सहकारीको समग्र समस्याबारे छानविनका लागि समिति गठन गर्न सकारात्मक देखिएका छन् । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोपित गृहमन्त्री लामिछानेलाई बाहिर राखेर छानविन समिति बन्न नसक्ने भन्दै संसदीय समिति गठन आफ्नो बटमलाइन बनाएको छ । संसदीय समिति गठन गर्ने सहमति नभए अधिवेशनको पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलाई रोष्ट्रममा जान नदिने कांग्रेसको अडान छ ।
नयाँ राजनीतिक समीकरणसँगै २१ फागुन २०८० मा लामिछाने गृहमन्त्री भएपछि कांग्रेसले जिबी राई समूहले चलाएको सहकारीहरूमा भएको अनियमिततामा लामिछानेको संलग्नताको मुद्दा चर्कोसँग उठाइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा संसद्मा गृहमन्त्री लामिछानेको संलग्नता नदेखिएको प्रहरी ब्रिफिङ रहेको जवाफ दिएपछि कांग्रेसले संसदीय समिति गठनको माग ग¥यो । लगातार यो माग राख्दा पनि सरकारले नसुनेको भन्दै कांग्रेसले अघिल्लो संसद् अधिवेशनका दुई बैठक (२७ र २८ चैत) अवरुद्ध गरेको थियो । त्यसपछि सरकारले हिउँदे अधिवेशन नै अन्त्य गर्यो । गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ संसद्मा दिन पाउनुपर्ने माग गर्दै सभामुखलाई पत्र पठाउनुभएको छ । कांग्रेसले भने आरोपित उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई छाडेर संसदीय छानविन समिति बनाउने विषय र आरोपितको भनाइ सुन्न सहमत हुन नसक्ने अडान राखेको छ ।
संघीय संसद्को हिउँदे अधिवेशनबाट तीनवटा विधेयक मात्र पारित भए । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनबाट अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पारित भएर कानुन बनेका थिए । तर, संसद्मा अझै कयौँ महत्वपूर्ण विधेयकहरू विचाराधीन छन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने प्रयास भए पनि विधेयक अधिवेशनले पार लगाउन सकेन । त्यस्तै, संघीय निजामती सेवा विधेयक, राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक पनि अगाडि बढ्न सकेनन् । विद्यालय शिक्षा विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि पारित हुन सकेको छैन ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बिहीबार दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन हुनुभएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि बिहीबार हुने भएपछि बैठक सारिएको थियो । संसदीय दल कार्यसमितिको बैठक आज बिहान ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ । बैठकमा आजबाट सुरु हुने संघीय सदनको बजेट अधिवेशन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणबारे बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप निर्णय हुने जानकारी दिनुभएको छ ।
दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ । प्रतिनिधि सभाको चौथो अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुँदै छ । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । संसद्मा हुनसक्ने सम्भावित अवरोधलाई ख्याल गरेर सभामुखले राजनीतिक दलका नेता र सचेतकहरूसँग निरन्तर संवाद गरिरहनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच