देशैभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता

अधिकांश स्थानमा पुरानै अनुहार, हेभिवेटलाई स्वतन्त्रको चुनौती

अनिल क्षेत्री
Read Time = 24 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूले आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । देशैभर शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिसिभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सिटका लागि ठूलो संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताका क्रममा राजनीतिक दलका नेता कार्यकर्ताहरूमा उत्साह देखिएको थियो । उम्मेदवारी मनोनयन गर्न जाँदा कसैले नृत्य एवं झाँकीहरूसहित उम्मदेवारी दर्ता गरेका छन् भने कसैले सामान्य रूपमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताको दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश शीर्ष नेताहरू आफँै निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गरे पनि केही शीर्ष नेताले भने वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजू देउवामार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ सालदेखिका सबै निर्वाचन जित्दै आउनुभएका देउवा सातौँपटक उम्मेदवार बन्नुभएको छ । यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने भएको छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भइसक्नु भएका देउवा सबैभन्दा बढी चुनाव जित्ने नेताको शीर्ष स्थानमा हुनुहुन्छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हार्नुबाहेक ओली निरन्तर चुनाव जित्दै आउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको छवि बनाउनुभएका दाहालले डा. बाबुराम भट्टराईलाई साथै लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा पहिलोपटक संसदीय निर्वाचन लड्नुभएका दाहालले रोल्पा २ र काठमाडौं १० दुई ठाउँबाट उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहाबाट उम्मेदवारी दिए पनि काठमाडौं १० मा पराजित हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा चितवन ३ बाट विजयी हुनुभएका दाहाल आसन्न निर्वाचनको लागि गोरखाबाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि रौतहट क्षेत्र नम्बर १ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो चुनावमा काठमाडौं २ बाट विजयी हुनुभएका नेपालले यसपटक भने गृहजिल्ला रौतहटबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ देखि निरन्तर चुनाव जित्दै आउनुभएका पौडेल अघिल्लो चुनावमा भने तत्कालीन वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले पनि तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना समर्थकहरूको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर पूर्व-गृहमन्त्रीसमेत रहनुभएका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी झेल्नुपर्ने भएको छ ।

कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका कोइराला अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभएको थियो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ उम्मेदवारी दिनुभएको छ । मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैँ झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि काठमाडौं १ बाट उम्मेद्वारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा जस्तै काठमाडौं क्षेत्र नम्बर १ मा पुन सिंह र मिश्रबीच प्रतिस्पर्धा निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफैँ चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दर्ता गराउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडांै ५, अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ र संविधानसभाका अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराउँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र रायले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पूर्वसभामुख ओनसरी घर्तीले काठमाडांै क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने अर्थमन्त्रीसमेत रहनुभएका जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादीका प्रभावशाली नेतामध्येका एक वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । राप्रपाका वरिष्ठ नेता दीपक बोहराले एमाले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणले पनि रुपन्देही ३ बाटै उम्मेदवारी दर्ता गर्नुभएको छ । अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिम १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यी हुन् चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका चर्चित नेता
नेकपा एमालेका शीर्ष नेतामध्ये अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, युवराज ज्ञवाली आसन्न निर्वाचनमा नउठ्ने भएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । यस्तै, नेकपा एमालेबाट बाहिरिएर नेकपा एकीकरण राष्ट्रिय अभियान गठन गर्नुभएका एमालेका पूर्व-उपाध्यक्ष वामदेव गौतम पनि आगामी निर्वाचनमा नउठ्ने हुनुभएको छ । कुनैबेला नेपाली राजनीतिक हर्ताकर्ताको रूपमा चिनिएका गौतमले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्नुभएको थियो । तर, गठबन्धनबाट निर्वाचन क्षेत्र भागमा नपरेपछि गौतम चुनाव लड्नबाट वञ्चित हुनुभयो । नेकपा माओवादी केन्द्रका तीनजना शक्तिशाली नेताहरूले पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएन । उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल र सभामुख अग्निप्रसाद सापकोटा योपटक प्रतिस्पर्धा नगर्ने भएका हुन् । तीनैजना नेताहरू २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता निरन्तर जित्दै आउनुभएको थियो । यस्तै, नेपाली कांग्रेसका नेता एंव पूर्व-अर्थमन्त्री डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल र महेश आचार्य, गुरुराज घिमिरेलगायत नेताहरू पनि आसन्न निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।

गोरखा आएर मैले एउटा रेकर्ड बनाएको छु : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताउनुभएको छ । गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताउनुभएको हो । गोरखाबाट आफ्ना सहकर्मी डा.बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ । मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो । गोरखामै पार्टी हेडक्वार्टर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यहीँ गरेको हो । यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएँजस्तो लागेको छैन । परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु । मैले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ । गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

मनोनयन दर्ता गर्दा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मूर्दावाद’को नारा लागेको हो । नाराबाजी गर्नेहरूले कालोझण्डा पनि देखाएका छन् । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस हुनुभएको थियो । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिनुभएको छ । रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चारजना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

रेशम चौधरीद्वारा जेलबाटै बर्दिया २ मा उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । चौधरीले उम्मेदवारी दर्ता प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतले विजयी हुनुभएका रेशम चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आउनुभएको छ । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

जगन्नाथ पौडेलको उम्मेदवारी धरापमा
चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले सात लाख ५० हजार रुपैयाँ जरिवाना नतिरे उम्मेदवारी रद्द हुने भएको छ । गत स्थानीय तह निर्वाचनका बेला भरतपुर नगर प्रमुखको उम्मेदवार बन्नुभएका पौडेलले निर्वाचन खर्च नबुझाएका कारण निर्वाचन आयोगले कालोसूचीमा राखेको छ । गत असोजको पहिलो साता आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारको सूची प्रकाशन गर्दै उम्मेदवारी दिएको पदअनुसार जरिवाना तोकेको थियो । ती उम्मेदवारले ६ महिनाभित्र जरिवाना रकम नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नसक्ने गरी कालोसूचीमा राखिने आयोगले बताएको थियो । सोअनुसार चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गर्नुभएका पौडेलले सो रकम नतिरे उम्मेदवारी खारेज हुने भएको हो । नेपाली कांग्रेसका नेता रहेका पौडेलले गत स्थानीय तहको निर्वाचनमा पनि पार्टीले गरेको गठबन्धनलाई चुनौती दिँदै महानगर प्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।

हुम्लाका उम्मेदवारद्वारा काठमाडौंमै मनोनयन दर्ता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला हुम्लाका उम्मेदवारहरूले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरूमा हिमपात भइरहेकाले विमान जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरूले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् । नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधिसभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको जानकारी दिनुभयो । रावलले आफ्नो पार्टीको प्रतिनिधिसभा र प्रदेशसभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनुभयो । सत्ता गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएको बताएका छन् ।

‘अबको प्रधानमन्त्री म’: डा.कोइराला
नेपाली कांग्रेसका पूर्व-महामन्त्री एवं पूर्वी नवलपरासी–१ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनयन दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै डा. कोइरालाले भन्नुभयो, ‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन् । यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि बढ्नेछु । पार्टीभित्र पनि मैले सोहीअनुसार कुराकानी गरेको छु ।’

डडेल्धुरामा टुट्यो एमाले र कांग्रेस बिपीको गठबन्धन
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले र कांग्रेस बिपीबीचको गठबन्धन टुटेको छ । कांग्रेस बिपीसँगको सहमतिविपरीत नेकपा एमालेका नेता विक्रमबहादुर शाहीले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएपछि गठबन्धन टुटेको हो । डडेल्धुरामा नेकपा एमालेले कांग्रेस बिपीसँग चुनावी तालमेल गरेको छ । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले कांग्रेस बिपीसँग उम्मेदवार नउठाएर कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो । तर, उक्त सहमतिविपरीत एमाले नेता विक्रमबहादुर शाहीले डडेल्धुरा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभामा २४७३ र प्रदेश सभामा ३३९३ जनाको उम्मेदवारी दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ७३ जनाको उम्मेदवारी परेको जनाएको छ ।

यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो ।

प्रतिनिधि सभाअन्तर्गत देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी कुल २ हजार ४ सय ७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश सभातर्फ ३ हजार ९९ पुरुष, २ सय ९३ महिला र अन्य १ गरी जम्मा ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी परेको छ ।

कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको र पूरा सूची आज मात्रै आउने आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?