काठमाडौं । ‘विशाल ग्रुप’ पटक-पटक विवादमा आइरहने व्यापारिक घराना हो । नेपालकै ठूलो व्यापारिक समूह मध्येको एक ‘विशाल ग्रुप’का अनेक बदमासी छन् । सरकारी जग्गा हडप्नेदेखि कमसल सामग्री उत्पादन गर्ने सम्मका बदमासीमा विशाल ग्रुप जोडिने गरेको छ । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा विशाल समूहका पाँच कम्पनी सम्हाल्ने अभिनव सिंघानियाविरुद्ध यही साता पक्राउ पुर्जी जारी भएको थियो । बाल मन्दिरको जग्गा अपचलन प्रकरणमा गत बिहीबार पक्राउ पुर्जी जारी भएका २० जनामध्ये सिंघानिया विशाल ग्रुपका उपल्लो पदका व्यक्ति हुनुहुन्छ । भारतको गुजरात घर भएका उहाँ पछिल्लो पाँच वर्षदेखि नेपालमा रहँदै आउनुभएको छ । उहाँ समूह अन्तर्गतका पाँचवटा विभिन्न कम्पनीको प्रबन्ध निर्देशक हुनुहुन्छ । समूहले सञ्चालन गरिरहेको फर्मा एक्स नेपाल प्रालि, फर्मा लाइफ नेपाल प्रालि, राई स्कुल, शुकल्प इन्टरनेसनल र बृहस्पति विद्यासदन स्कुलको प्रबन्ध निर्देशक सिंघानिया हुनुुहुन्छ । यतिका समूह सम्हालिरहेका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी हुनुले पनि समूहले गरिरहेको बदमासी दर्शाउँछ । समूहको बदमासी यतिमै सीमित छैन । यसको फेहरिस्त लामो छ । पहिले जग्गा प्रकरणमै कुरा गरौँ ।
कौडीको मूल्यमा बाल मन्दिरको जग्गा
नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको मूल्यमा भाडामा लिएको विषयमा व्यापारिक घराना विशाल ग्रुप विवादमा परेको थियो । बाल मन्दिरको जग्गा भाडामा लिएर विशाल ग्रुपले बृहस्पति स्कुल र राई स्कुल सञ्चालन गरेको थियो । नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रिता सिंह वैद्यले विशाल ग्रुपलाई कौडीको मूल्यमा बाल मन्दिरको जग्गा भाडामा दिएको आरोप छ ।
बाल मन्दिरको जग्गाको भाडा विवाद २०४९ सालदेखि नै देखिएको छ । त्यतिबेला देखिको विवाद तन्किँदै २०८० सम्म आइपुगेको हो । खासगरी व्यापारिक समूह र राजनीतिक शक्तिबीच बढ्दो सम्बन्धकै कारण अनाथ र सहाराविहीन बालबालिकाको संरक्षणका लागि उपयोग गर्ने भनिएको जग्गा व्यापारिक घरानाको हातमा पुगेको थियो । राजनीतिक शक्ति र पहुँचका आधारमा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यले जग्गा सस्तोमा व्यापारिक समूहलाई जग्गा भाडामा दिनुभएको थियो । अर्थात्, २६ वैशाख २०४९ मा विशाल ग्रुपले उक्त जग्गा सस्तोमा भाडामा लिएर बृहस्पति विद्यालय चलाएको थियो । संगठनको कित्ता नम्बर ७३० को नौ रोपनी जग्गा र घरटहरा १० माघ २०५३ सम्म भाडामा दिने सम्झौता भएको थियो ।
त्यतिबेला वार्षिक भाडादर भने ४२ लाख १६ हजार ६०८ रुपैयाँ तोकिएको थियो । त्यसलाई थप सहुलियतका लागि भाडा अग्रिम भुक्तानी गरे २० प्रतिशत छुट दिने सम्झौता पनि गरिएको थियो । तर, यी सबै सम्झौताका बाबजुद विशाल ग्रुपले चलाएको विद्यालय बृहस्पतिले भाडाबापत कहिले कति रकम कुन माध्यमबाट संगठनलाई भुक्तानी दियो भन्ने व्यवस्थित अभिलेख पाइएको छैन ।
खासमा विशाल समूहको प्रवेश चार वर्षका लागि भएको देखिन्छ । तर, बृहस्पतिले भाडाको समय बढाउँदै लगेर ८ जेठ २०५८ मा पाँच रोपनी दुई आना जग्गा थपेको थियो । २१ साउन २०५९ मा थप १३ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिन बृहस्पतिले प्रस्ताव गरेको थियो । साता दिन नबित्दै ३० साउनमा बसेको बाल संगठनको बैठकले महासचिव रामकाजी कोनेमार्फत कित्ता नम्बर ७६० अन्तर्गतको थप १३ रोपनी १२ आना १ पैसा जग्गा २०८८ साल सम्मका लागि दिने निर्णय लिएको थियो ।
त्यही निर्णयका आधारमा ११ भदौ २०५९ मा २०८८ सालसम्मका लागि बृहस्पतिलाई भाडामा दिनेगरी संगठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भएको थियो । बृहस्पतिले चाहे अनुसारको जग्गा र समय पाइरहेको बेला उसलाई थप लाभ हुनेगरी सम्झौता भएको थियो ।
२०५९ सालमा भएको सम्झौताको म्याद २०८८/०८९ मा सकिँदै थियो तर म्याद सकिन १६ वर्षअघि नै २१ जेठ २०७२ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी चार आना जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गर्यो । त्योभन्दा अघि बढेर बृहस्पतिलाई २०८९ पछिको थप ४३ वर्ष (२१३१ सालसम्म) पनि बाल मन्दिरमै बस्न पाउने सम्झौता गरियो ।
त्यति मात्र होइन, शक्ति र पहुँचकै आधारमा अनन्त कालसम्म भोगचलनको अधिकार पाएपछि बृहस्पति विद्यालयले भारतीय बोर्डबाट सञ्चालित राई स्कुललाई बालमन्दिर परिसरकै पाँच रोपनी सब-लिजमा लगाएको छ । बृहस्पतिलाई जग्गा भाडामा दिएबापत संगठनलाई वार्षिक ९० लाख रुपैयाँ भाडा दिने सम्झौता भएको थियो । तर, जग्गा हत्याएपछि बृहस्पतिले पाँच रोपनीकै वार्षिक ६० लाख भाडा असुल्ने सहमतिसहित राईलाई भित्र्याएको हो ।
खाद्यवस्तुदेखि निर्माण सामग्रीसम्म बदमासी
विशाल ग्रुपका बदमासी अरू पनि छन् । कुनै समय म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउने गरेको विशाल ग्रुपकै भगिनी कम्पनी कमला रोलिङ मिल्सले उत्पादन गरेका डण्डी पनि गुणस्तरहीन भेटिएका थिए । प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनले उपभोक्ता स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै म्याद सकिएका चकलेट, बिस्कुट लगायतका सामानमा नयाँ लेवल लगाएको अवस्थामा ठूलो मात्रामा बरामद गरेको थियो । म्याद गुज्रेका खाद्यवस्तु रि-लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको विशाल ग्रुपकैै कम्पनी कमला रोलिङले मापदण्ड विपरीतका डण्डी उत्पादन गरेर बेचेको भेटेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको थियो । कमला रोलिङको एफई ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएम डण्डीमा केमिकलको मात्रा बढी भेटिएको थियो ।
न्यून गुणस्तरको डण्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगनसमेत गरेको थियो । कमला रोलिङ मिल्सबाट उत्पादित डण्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६ प्रतिशत, फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०५९ प्रतिशत, सल्फर तथा फस्फोरसको मात्रा ०.१०५ प्रतिशत हुनुपर्नेमा ०.११९ प्रतिशत रहेको भेटिएको थियो । सल्फरको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । प्रहरीले कंलकी र बाफलमा छापा मार्दा विशाल ग्रुपका म्याद नाघेमा सामानमा रिलेवलिङ गरेको भेटेको थियो । ओरियो बिस्कुट, स्निकर्स, वन भिटा, प्रिङगल्स र युनिलिभर कम्पनीका उत्पादन समेतमा पुनः लेवलिङ गरेको भेटिएको थियो । म्याद सकिएका सामानमा पुनः अर्को स्टिकर टाँसेर बजारमा पठाउन संलग्न आठ जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो ।
विशाल ग्रुपका बदमासीको हाम्रा अन्य फलोअप स्टोरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच