बाल मन्दिरको जग्गामा तीन दशकदेखि ‘विशाल ग्रुप’को साम्राज्य

लिज सम्झौता नै गैरकानुनी र बदनियतपूर्ण, विस्तृत छानविन गरी कारबाही गर्न सिफारिस, तर राज्यले नै लुकायो प्रतिवेदन

हिमालय टाइम्स
Read Time = 13 mins

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणले बजार तताएको छ । जग्गा प्रकरणले सामाजिक सञ्जालदेखि सडक र सदनसम्म तताएको छ । ललतिा निवासको सरकारी जग्गा हिनामिनामा कर्मचारीदेखि उच्च पदस्त राजनीतिज्ञ समेतको संलग्नतामा देखियो । हिनामिना प्रकरणका अभियुक्त हिरासतमा छन् । ललितानिवास प्रकरणले बजार तताए पनि काठमाडौंकै केन्द्र नक्सालस्थित नेपाल बाल संगठनको जग्गामा दशकौँदेखि एउटै व्यापारिक समूहले रजाइँ गरिरहँदा सबै तैँ चुप मै चुपको अवस्थामा छन् । संगठन र राज्यका उच्च अधिकारीलाई दबाब र प्रभावमा पारेर व्यापारिक समूह विशाल ग्रुपले झण्डै ३० वर्षदेखि बाल मन्दिरको साढे २८ रोपनी जग्गामा कब्जा जमाएको छ । भारतीय मूलका व्यापारीहरूको लगानी रहेको विशाल ग्रुपले नेपालमा राजतन्त्र छँदै उक्त जग्गा हत्याएको थियो । नेपालमा राजा फालेर गणतन्त्र आएकै १५ वर्ष बढी भइसक्दा पनि बाल मन्दिरको जग्गा विशाल ग्रुपले नै दोहन गरिरहेको छ । सेटिङ र कमिसनमा चरम चलखेल गरेर दशकौँदेखि बाल मन्दिरको जग्गा हत्याएको समूहले संगठनलाई नगण्य भाडा तिरेर चार गुणा बढी मुनाफा लिइरहेको छ ।

बाल संगठनको २८ रोपनी पाँच आना जग्गा २१३२ सालसम्मलाई लिजमा लिएर स्कुल चलाइरहेको बृहस्पति विद्या सदनले थप जग्गा गैरकानुनी रूपमा राय स्कुललाई ‘सबलिज’मा दिएको छ । यी दुवै स्कुलमा अधिकांश स्वामित्व व्यापारिक घराना विशाल ग्रुपकोे छ ।
कतिसम्म भने विशाल ग्रुपले संगठनको जग्गा कौडीको भाउमा लिएर अर्कोबाट महँगो भाडा असुली रहेको छ । समूहले विस. २०४९ सालदेखि संगठनको जग्गा कौडीको भाउमा भाडामा लिन सुरु गरेको थियो । त्यसपछि क्रमशः संगठन राज्यका उच्च पदाधिकारीलाई प्रभावमा पारेर जग्गा बढाउँदै लगेको हो । बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यको पालामा समूहले बाल मन्दिरभित्रको जग्गामा कब्जा जमाएको थियो । सिंह कांग्रेसका सर्वमान्य नेता स्व. गणेशमान सिंहकी छोरी हुनुहुन्छ ।

बाल संगठनमा महाधिवेशन वा राजनीतिक नियुक्ति दुवै बाटोबाट अध्यक्ष नियुक्त हुने अभ्यास छ । बाल संगठनको जग्गाजमिन हिनामिना गरेको भन्दै संगठनका तत्कालीन अध्यक्ष रीता सिंहलाई २०७७ साउन १२ गते पदमुक्त गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले विद्या उपाध्याय न्यौपानेलाई अध्यक्ष नियुक्त गरेको थियो । सिंह ३० वर्षदेखि लगातार संगठनको नेतृत्वमा हुनुहुन्थ्यो । संगठनको नाममा रहेको ११९ रोपनीमध्ये झण्डै २९ रोपनी जग्गामा विशाल ग्रुपले कब्जा जमाइसकेको छ ।

जग्गा हडप्न विशाल ग्रुपले बृहस्पति विद्या सदनको नामबाट पुरुषोत्तमराज जोशीलाई अगाडि सारेको छ । जोशी बृहस्पति विद्या सदनका संस्थापक हुनुहुन्छ । बृहस्पति देशकै ठूलोमध्येको व्यापारिक घराना, विशाल ग्रुपले अधिकांश स्वामित्व ओगटेको स्कुल हो । संगठनले बालमन्दिर चलाउन छुट्याएको जग्गामध्ये २८ रोपनी पाँच आनामा विशाल ग्रुपको कब्जामा छ । जग्गा हडप्न विशाल ग्रुपले बृहस्पति विद्या सदन नामको निजी विद्यालयलाई अगाडि सारेको छ । नक्सालमा बाल संगठनको जग्गा बृहस्पतिकै लागि भनेर भाडामा दिइएको छ । बृहस्पति विद्या सदन पुरुषोत्तमराज जोशीले स्थापना गरेको विद्यालय हो । बृहस्पतिमा जोशी परिवारको सानो मात्र लगानी रहेको छ भने अधिकांश सेयर विशाल ग्रुपकै सदस्यहरूको हातमा रहेको छ ।

यसरी हडपियो जग्गा
२७ माघ २०४९ मा संगठनले घर टहरासहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो । त्यसबेला नौ रोपनी जग्गा भाडामा दिइएको देखिएको थियो । पहिलो सम्झौता १ फागुन २०४९ देखि १ फागुन २०५२ सम्म तीन वर्षको थियो । सम्झौतामा दुवै पक्षले कुनै कारण देखाएर सम्झौता भंग गर्न नमिल्ने, सम्झौता अवधि सकिएपछि नवीकरण गर्न सकिने एकलौटी प्रावधान राखिएका छन् । त्यसपछि पुनः २०५३ मा बाल संगठन र बृहस्पतिबीच भएको अर्को सम्झौता भएको छ ।

२०५३ देखि आठ वर्षका लागि बृहस्पतिलाई जग्गा भाडामा दिने निर्णय गरिएको कागजातले देखाउँछ । १० माघ २०६१ सम्म संगठनको जग्गा भोगचलन गर्ने अधिकार पाउँदा बृहस्पतिले ९ रोपनीको मासिक भाडा १ लाख ५० हजार रुपैयाँ तिर्ने, भाडा तीन-तीन महिनामा बुझाउने र वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता भएको थियो ।

दोस्रो सम्झौता अवधि १० माघ २०६१ सम्म थियो । विशाल ग्रुपले जग्गा हडप्नकै लागि २०५८ मा थप ३० वर्षका लागि तेस्रो बहाल सम्झौता गरेको देखिएको छ । यही सम्झौतापछि नाफा कमाउने उद्देश्यले बृहस्पतिले भाडामा लिएको जग्गामा ठुल्ठूला भवन निर्माण गर्ने अधिकार पाएको थियो । २०८८ सम्मलाई बाल संगठनको १४ रोपनी नौ आना जग्गा पाइसकेको बृहस्पतिले २०५९ मा थप १३ रोपनी जग्गा लिन सफल भएको देखिन्छ ।

२०७२ मा दुवै पक्षबीच अर्को पूरक सम्झौता गरी पुनः अवधि थप गरेको देखिन्छ । यस सम्झौताबाट भाडा अवधि बढाएर २१३२ सालसम्म पुर्‍याएर संगठनको २८ रोपनी पाँच आना एक पैसा जग्गा हडपेको देखिएको छ । २०२१ सालमा तत्कालीन राजपरिवारले जग्गा उपलब्ध गराइदिएर बाल संगठन स्थापना भएको थियो । कुल १०२ रोपनी जग्गामध्ये ४९ रोपनी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लिएपछि बाल संगठनसँगको एकल स्वामित्वमा ५१ रोपनी जग्गा छ । जसमा २९ रोपनी चार आना जग्गा बाल संगठन र ललितकलाको साझा रहेको छ । जसमध्ये साढे २८ रोपनीमा विशाल ग्रुपले कब्जा जमाएको छ ।

राज्यको निरीहता कि संरक्षण ?
नेपाल बाल संगठनले अभिभावक र संरक्षकविहीन बालबालिकाका निम्ति देशभर ११ वटा बालगृह चलाइरहेको छ । संगठनको मुख्यालयसँगै रहेको काठमाडौं नक्सालस्थित बालगृह त्यसमध्येकै ठूलो बालगृह हो । नक्सालको बालगृहमा ७० जना बालिकाले आश्रय पाएका छन् । अहिले संगठनको प्रमुख आम्दानीको स्रोत जग्गा लिजमा दिएबापत् आउने भाडा हो । तर, बाल संगठनका तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा पहुँचवाला व्यापारिक घरानादेखि ठेकेदार, व्यापारी र विभिन्न संघसंस्थाले गरेका जग्गा लिज सम्झौता नै गैरकानुनी र बदनियतपूर्ण छन् । जग्गा प्रकरणबारे छानविन गर्न समितिसमेत बनेको थियो ।

बाल संगठनमा व्यापारीलाई ६० वर्षसम्मका लागि जग्गा भाडामा दिनेदेखि चल अचल सम्पत्तिको दुरुपयोग, आर्थिक अनियमितता, विधानविपरीत लगायतका काम कारबाही तीव्र बनेपछि त्यसबारे छानविन गर्न सरकार कात्तिक १७ गते बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । उच्चस्तरीय जाँचबुझ आयोगको त्यो प्रतिवेदनमा संगठनको २८ रोपनी पाँच आना जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिँदा पटक-पटक गरिएका सम्झौता सार्वजनिक सूचना, बोलकबोल र बढाबढको प्रक्रियामा नगई सोझै दिइएको ठहर गरिएको छ । बृहस्पतिलाई नै निरन्तर जग्गा भाडामा दिइरहने निर्णय आर्थिक अनुशासन र पारदर्शिताको सामान्य सिद्धान्तको प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो । सम्झौतामा संलग्न बाल संगठनको तत्कालीन नेतृत्व र बृहस्पतिका सञ्चालकमाथि अख्तियारप्राप्त निकायबाट विस्तृत छानविन गरी कारबाही गर्नसमेत सिफारिस गरेको थियो । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले बाल संगठन र बृहस्पतिबीच भएको सम्झौता कानुनविपरीत भएको निष्कर्ष निकालेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सरकारले चाहेको भए तीन वर्ष पहिल्यै त्यो प्रतिवेदन कार्यान्वयनमा ल्याएर बालमन्दिरको जग्गा व्यापारीलाई सुम्पने निर्णय रद्द गर्न सक्थ्यो । जग्गामाथि सधैँलाई कब्जा गर्न चाहने व्यापारिक घरानाको चाहनामाथि लगाम लगाउँदै दोषी पदाधिकारीलाई दण्डित गर्ने कदम चाल्न सक्थ्यो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन परको कुरा, अहिलेसम्म त्यो प्रतिवेदन सार्वजनिक नै नगरी लुकाएर राखेको छ ।

स्वार्थ र बदनियतपूर्ण ढंगबाट जग्गा लिज सम्झौता : अध्यक्ष न्यौपाने
बाल संगठनकी वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपाने विगतको नेतृत्वले नै स्वार्थ र बदनियतपूर्ण ढंगबाट जग्गा लिज सम्झौता गरेको बताउनुहुन्छ । उहाँका अनुसार सम्झौतामा बृहस्पतिले बहालमा लिएको जग्गा अर्को पक्षलाई पुनः भाडामा लगाउन सक्ने उल्लेख छ । सोही प्रावधानको आधारमा वृहस्पतिले राय स्कुल सञ्चाललाई जग्गा भाडामा लिएर पैसा उठाइरहेको छ । राय स्कुललाई बृहस्पति विद्या सदनले लाखौँमा जग्गा सब-लिजमा दिएको छ । तर, कानुनी रूपमा भने एक लाख मात्रै देखाइएको उहाँले बताउनुभयो ।

नक्सालमा मात्रै होइन बाल संगठनको अन्य ठाउँको जग्गामा पनि विभिन्न व्यापारीले रजाइँ गरिरहेका छन् । संगठनका अध्यक्ष न्यौपानेका अनुसार टेकु, जावलाखेल, भक्तपुर लगायतका ठाउँका जग्गा पनि सस्तोमा विभिन्न व्यक्तिलाई दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?