जग्गा बाल संगठनको, बदमासी विशाल ग्रुपको !

सरकारी जग्गा नै धितो राख्दा पनि सरकार किन मौन ?

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । व्यापारिक घराना विशाल गु्रपको नाम ठूलो भए पनि काम भने निकै तल्लो स्तरका छन् । देशकै नाम चलेका ठूला उद्योग, बैंकदेखि विद्यालय र सुपरमार्केटलगायत दर्जनौँ ठाउँमा लगानी फिँजाएको समूहले काम भने तल्लोस्तरका गर्दै आएको छ । विशाल ग्रुपले सरकारी जग्गा हडप्नेदेखि कैयौँ बद्मासी गरेको भए पनि सरकार भने बेखबरजस्तै छ । विशाल ग्रुपका एकपछि अर्को कर्तुतको पर्दाफास हुँदासमेत सरकारी निकायले सुनेको नसुन्यै गरिरहेका छन् । एकपछि अर्को बदमासीमा समूह मुछिँदासमेत सरकारले कुनै वास्ता नगर्नुले देश नै व्यापारिक समूहको कब्जामा रहेको प्रतीत हुन्छ ।

विशाल गु्रपले जहाँजहाँ हात हालेको छ ती सबै क्षेत्र बदनाम भएका छन् । समूहका बदमासी तारन्तार बाहिर आइरहेका छन् । यथेष्ट प्रमाणसहित एकपछि अर्को बदमासी बाहिरिँदासमेत कुनै कारबाही नभोगी समूहले उन्मुक्ति पाउँदै आएको छ ।

काठमाडौंको केन्द्र नक्सालस्थित करिब २९ रोपनी जग्गामा विशाल गु्रपले रजाइँ गरेको वर्षौं भयो । यसबारे प्रमाणसहित समाचारहरू आइरहेका छन् । तर, राज्यका सम्बन्धित निकाय तैँ चुप मैचुप छन् । बाल संगठनको तत्कालीन नेतृत्वसँग मिलेमतो गरी समूहले जग्गा हत्याएको थियो । संगठनका तत्कालीन उच्च अधिकारी र राज्यका निकायलाई दबाब र प्रभावमा पारी तीन दशकदेखि सरकारी जग्गामा विशाल गु्रपले रजाइँ गरिरहेको छ । बाल मन्दिरको साढे २८ रोपनी जग्गामा समूहले कब्जा जमाएको छ । अझै अनौठो सम्झौता गरिएको छ । समूहले संगठनबाट सस्तोमा जग्गा भाडामा लिएर तेस्रो पक्षलाई दिएर महँगो भाडा असुली गरिरहेको छ । जग्गा प्रकरणका एकपछि अर्को फेहरिस्त हिमालय टाइम्सले यसअघि नै पर्दाफास गरिसकेको छ । तर, राज्यका निकाय अझै बेखबर छन् । उनीहरूको मौनता अनौठो र गम्भीर छ ।

भाडामा लिएको जग्गा बन्धकी राखेर कर्जा
स्पष्ट छ, भाडामा लिएको जग्गा निश्चित अवधि प्रयोग गर्न दिइने हो । भाडाको जग्गामा दोस्रो पक्षले सम्झौताबमोजिम मात्रै गर्न पाउँछ । तर, विशाल गु्रपले भने भाडामा लिएको जग्गा बन्धकी राखेर कर्जासमेत लिएको पाइएको छ ।

समूहले गैरकानुनी तवरले भाडामा लिएको सरकारी जग्गा बन्धकी राखेर करोडौँ रुपैयाँ कर्जा लिएको पाइएको हो । सरकारी जग्गा भाडामा लिएको समूहले त्यही जग्गा बन्धकी राखेर कर्जा लिएको विषय सामान्य होइन । यो गम्भीर विषय हो । समूहले सरकारी जग्गा धितो राखेर बैंकबाट कर्जा लिएको अख्तियारसहित विभिन्न सरकारी निकायले पुष्टि गरेका छन् । तर, यसबारे सरकार वा यसका निकाय कोही बोल्न तयार छैनन् । यसले समूहको पहुँच कहाँसम्म रहेछ भन्ने देखाउँछ ।

एक साधारण व्यक्तिले आफ्नो स्वामित्वमा रहेको जग्गा बैंकमा राखेर धितो लिनसमेत १० ठाउँमा प्रमाणहरू बुझाउनुपर्छ । त्यही पनि कर्जा पाइँदैन । तर, विशाल गु्रपले साढे २८ रोपनी सरकारी जग्गा धितो राखेर सहजै कर्जा लिएको देखिन्छ । यो कसरी सम्भव भयो होला ? गम्भीर प्रश्न हो ।

समूहले तत्कालीन बैंक अफ काठमाडौंबाट सरकारी जग्गा धितो राखेर कर्जा लिएको हो । समूहलाई बैंकले दिएको कर्जामा पनि प्रश्न उठेको छ । सर्वसाधारणले आफ्नै सम्पत्ति राखेर कर्जा लिन खोज्दा अनेक बहानाबाजी गर्ने बैंकले पहुँचवाला व्यापारीलाई कसरी अवैधानिक कर्जा दिन्छन् भन्ने पनि यसले छर्लंग पारेको छ । यसमा तत्कालीन बैंक अफ काठमाडौं र नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रितासिंह वैद्यको पनि मिलेमतो देखिएको छ । व्यापारिक समूहलाई कौडीको भाउमा जग्गा भाडामा लिनुभएकी वैद्यले सरकारी जग्गा धितो राखेर ऋण लिँदासमेत मौन समर्थन जनाउनुभयो ।

बैंकको बदमासी, यसरी दियो तत्कालीन बैंक अफ काठमाडौंले ऋण
भारतीय मूलका व्यापारीहरूको लगानी रहेको विशाल ग्रुपले नेपालमा राजतन्त्र छँदै उक्त जग्गा हत्याएको थियो । सरकारी जग्गा, भाडामा लिएर संगठनले यहाँभित्र वृहस्पति विद्या सदन र सबलिजमा राई स्कुल पनि सञ्चालनमा रहेका छन् । बृहस्पति विद्या सदनले आपूmले प्रयोग गर्न बाल संगठनसँग सम्झौता गरेको जग्गा सबलिजमा राई स्कुललाई दिएको हो । जबकि यो कानुनविपरीत हो । बृहस्पतिले बाल संगठनबाट लिजमा लिएको जग्गामध्ये नौ रोपनी जग्गा भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त ‘राई स्कुल’लाई ‘सबलिज’मा दिएको छ । वि.सं.२०७२ साउन ३ गते भएको पूरक सम्झौतापछि बृहस्पतिले राई स्कुललाई सबलिजमा दिएको हो । तर, यसमा पनि विशाल ग्रुपकै सदस्यहरूको सेयर अत्यधिक छ । यसबाट सरकारी जग्गा कुनै संस्था हुँदै विशाल ग्रुपको हातमा पुर्‍याइएको देखिन्छ ।

विशाल ग्रुपले संगठनको जग्गा कौडीको भाउमा लिएर अर्कोबाट महँगो भाडा असुली रहेको छ । समूहले विसं २०४९ सालदेखि संगठनको जग्गा कौडीको भाउमा भाडामा लिन सुरु गरेको थियो । त्यसपछि क्रमशः संगठन राज्यका उच्च पदाधिकारीलाई प्रभावमा पारेर जग्गा बढाउँदै लगेको हो । बाल संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यको पालामा समूहले बाल मन्दिरभित्रको जग्गामा कब्जा जमाएको थियो । सिंह कांग्रेसका सर्वमान्य नेता स्व. गणेशमान सिंहकी छोरी हुनुहुन्छ । सिंह ३० वर्षदेखि लगातार संगठनको नेतृत्वमा हुनुहुन्थ्यो ।

संगठनको नाममा रहेको ११९ रोपनीमध्ये झण्डै २९ रोपनी जग्गामा विशाल ग्रुपले कब्जा जमाइसकेको छ । जग्गा भाडामा लिएको विषयमा पटकपटक प्रश्न उब्जेपछि बृहस्पतिले ५२ करोडको सम्पत्ति अभिवृद्धि गर्ने, जग्गा लिएर र सबलिजमा दिनसक्ने र ६ महिनाभित्र बाल संगठनलाई दुईकोठे भवन बनाइदिने गरी कानुनविपरीत मिलापत्र गरेको कागजका आधारमा तत्कालीन बैंक अफ काठमाडौंले धितो सकारेको देखिएको छ । सर्वसाधारण जनतालाई झुक्याएर कर्जा दिने, किस्ता रकम बढाउने, नम्बरी जग्गा पनि धितो नसकार्ने तत्कालीन बिओकेले लालपुर्जाबिनाको सरकारी जग्गा कुनै आधारबिना नै धितो सकारेको देखिएको छ । विभिन्न बदनामी भोगेको बिओके हाल ग्लोबल बैंकमा गाभिएको छ ।

लिजको जग्गालाई अनुमतिबिना सबलिजमा दिनु गैरकानुनी : अधिवक्ता दाहाल
अधिवक्ता जगदीश दाहालले एउटा प्रयोजनको लागि लिजमा लिएको जग्गालाई जग्गावालाको अनुमति बिना तेस्रो पक्षलाई लिजमा दिन नमिल्ने बताउनुहुन्छ । बालमन्दिरले बृहस्पतिलाई जग्गा लिजमा दिएको थियो । तर, बृहस्पतिले भने आफूले लिजमा लिएको भाउभन्दा धेरै महँगोे मूल्यमा राई स्कुललाई लिजमा दियो । बालमन्दिरसँग अनुमति नै नलिई उक्त जग्गा व्यापारिक प्रयोजनका लागि राई स्कुललाई सबलिजमा दिइनु गैरकानुनी हुने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘बालमन्दिरको अनुमतिबिना बृहस्पतिले राई तेस्रो पक्षलाई लिजमा दिन मिल्दैन । यस्ता कुराहरू सम्झौतामै उल्लेख भएको हुनुपर्छ । बालमन्दिरको अनुमति हुनुपर्दछ ।’ त्यसो त लिजमा लिएको जग्गालाई बन्धकी राखेर बैंक ऋण लिन नमिल्ने तर्क गर्नुहुन्छ अधिवक्ता दाहाल । लिजमा लिएको जग्गालाई बैंकमा बन्धकी राखेर बैंकले ऋण लिनुनै गैरकानुनी भएको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘लिजमा लिएको जग्गामाथि संरचना बनाएर व्यापारिक योजना देखाएर ऋण लिनु छुट्टै कुरा हो । तर, व्यापारिक प्रयोजन नदेखाई केवल लिजमा लिएको जग्गालाई देखाएर ऋण लिनु सरासर गैरकानुनी हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?