
काठमाडौं । यही जेठ १० गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूजार सार्की’मा अभिनेता आर्यन सिग्देल पूजापाठ गर्ने ब्राहृमण चरित्रमा हुनुहुन्छ । यो चलचित्रलाई लिएर यतिबेला विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । चलचित्रमा रहेका पात्रका भूमिकालाई लिएर चर्चा भइरहेको हो । यसमा आर्यनको ‘ब्राहृमण लुक’ उहाँकै पिताबाट लिइएको हो । चलचित्रका निर्देशक दिनेश राउतले एकपटक आर्यनको घरमा उहाँको पिताको जवान अवस्था (३०-३५ वर्ष उमेर)को फोटो देख्नुभएको रहेछ । त्यही फोटोबाट निर्देशक राउतले चलचित्रका लागि आर्यनको क्यारेक्टर लुक्स तयार पार्नुभयो । यसैले चरित्र निभाउन गाह्रो भए पनि लुक्सका लागि खासै मिहिनेत गर्नुनपरेको आर्यनको अनुभव छ ।
चलचित्रमा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली हुनुहुन्छ । अञ्जनाले दलित युवतीको भूमिका निर्वाह गर्नुभएको छ । आर्यन र अञ्जनाको अन्तरजातीय प्रेमकथा चलचित्रले भनेको निर्माण पक्षले जनाएको छ । आफ्नो चरित्र (पूजार)बारे आर्यन भन्नुहुन्छ, ‘चलचित्रमा मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको र पीडा बोकेर हिँड्ने खालको छ । त्यसले गर्दा प्रेम गर्दा पनि म खुल्न पाउँदिनँ र पूजा गर्दा पनि मन लगाएर गर्न सक्दिनँ ।’
उहाँ चलचित्रमा आफ्नो चरित्रलाई एकदमै चुनौतीपूर्ण रहेको मान्नुहुन्छ । ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ । त्यो हामीले देखिरहेकै कुरा हो । कति घटना अहिले पनि घटिरहेका हुन्छन् । त्यही परिस्थितिको कथा चलचित्रमा छ । यसमा मेरो चरित्र निर्माण चुनौतीपूर्ण थियो,’ उहाँ भन्नुहुन्छ । यो चलचित्रले आफूलाई फरक चरित्र पनि गर्न सक्ने कलाकारका रूपमा चिनाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
पहिलो चलचित्र ‘किस्मत’पछि लभर ब्वाइका रूपमा चिनिनुभएका आर्यनले चलचित्र ‘होमवर्क’बाट आफ्नो छवि बदल्न खोज्नुभएको थियो । यसमा उहाँले तन्नेरी र वृद्ध पुरुषको भूमिका निभाउनुभएको थियो । तर, चरित्रको हिसाबले आर्यनलाई ‘होमवर्क’भन्दा ‘पूजार सार्की’ चुनौतीपूर्ण लागेको रहेछ । ‘यसमा शारीरिक हाउभाउ, कास्कीकोट क्षेत्रमा बोलिने भाषा र लवजमा काम गर्दा अलि ‘टफ’ थियो,’ उहाँले भन्नुभयो ।
चलचित्रले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ । चलचित्रमा आर्यनसहित प्रदीप खड्का र पल शाह पनि मुख्य भूमिकामा हुनुहुन्छ । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई संगीतकार सुभाष भुसालले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच