धरान । धरान बास्केटबल संघको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला-पुरुष बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लबले जितेको छ । इण्डोर बास्केटबल कोर्ट धरान रंगशालामा सम्पन्न फाइनल खेलमा इमोर्टल क्लबले यलम्बर क्लबलाई ७५-५६ अंकको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । सहज जित निकाल्न सफ इमोर्टलले प्रत्येक क्वाटरमा यलम्बरविरुद्ध १५-१२, २१-११, २१-१५ र अन्तिम क्वाटरमा १८-१८ अंक जोडेको थियो ।
इमोर्टलले उपाधिसँगै नगद ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । इमोर्टलबाट उत्कृष्ट प्रदर्शन गर्नुभएका अभिषेक डंगोल प्रतियोगिताका उत्कृष्ट खेलाडी एमभिपि उपाधि विजेता घोषित हुनुभयो । उहाँले नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजेता बनेको यलम्बरले नगद २५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी महिलातर्फको खेलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९-३१ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको छ । पहिलो क्वाटरमा पाँच-पाँच बराबर अंक जोडेका आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११-१३ अंक जोड्दै पहिलो हाफमा मेघा कलेज १८-१६ अंकले अग्रता लिएको थियो ।
दोस्रो हाफको खेल सुरु भएपछि आइएस नेपालले आफ्नो खेललाई सुधार्दै तेस्रो क्वाटरमा १२-४ र चौथो क्वाटरमा ११-९ अंकको अग्रता बनाउँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
आइएसए नेपालले उपाधिसँगै नगद २० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्यो भने टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सन्ध्या डंगोल प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उपाधि विजेता घोषित हुनुभयो । उहाँले नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । डंगोलले फाइनल खेलमा व्यक्तिगत २१ अंक जोड्नुभएको थियो । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको राइजिङ प्लेयर महिलातर्फ इमोर्टल क्लबका सुनिता राई र पुरुषतर्फ सविन राई घोषित हुनुभयो । सुनिता राईले नगद दुई हजार ५०० र सविन राईले नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका नगरप्रमुख हर्कराज राई, सभाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच