लैंङ्गिक मैत्री बन्ने तयारीमा तिलोत्तमा नगरपालिका

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ ।

लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक निर्माण गरी सोही अनुसारको सूचकलाई आधार मानेर मूल्यांकन गरी लैङ्गिकमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरिएको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । उहाँकाअनुसार ११ वटा सूचक निर्माण गरी यो विषयमा विभिन्न सरोकारवाला निकाय, महिला क्षेत्रका विज्ञ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलगायतको विषयमा छलफल गरिएको बताउनु भयो।

नेपालमा पहिलो पटक लैङ्गिकमैत्री नगरपालिका तिलोत्तमा हुने तयारीमा रहेको जानकारी दिँदै नगर प्रमुख खाँणले यसको लागि अन्य छलफल, बहस र पैरवीको काम अगाडि बढाइएको बताउनु भयो।

जनप्रतिनिधहरूसँगको छलफल, बहसबाट लैङ्गिकमैत्री नगरपालिका निर्माणको लागि सूचक निर्माण गरिएको र सोही अनुसार सूचक अन्तिम चरणमा लगेपछि सूचक अनुसारको फारम निर्माण गरी जसको ठाउँ ठाउँमा फारम भरेर सोही अनुसार भए वा नभएको विषयमा एकिन गरेर मात्रै लैङ्गिक मैत्री नगरपालिका घोषणा गरिने नगर प्रमुख खाँणले बताउनु भयो।

देशमा नमुना नगरपालिकाको रूपमा पहिचान स्थापनाको लागि ग्रीन तिलोत्तमा क्लीन तिलोत्तमा, बालमैत्री नगरपालिकासहित अब लैङ्गिकमैत्री नगरपालिकाको अवधारणा अगाडि बढाइएको नगर उपप्रमुख जागेश्वरदेवी चौधरील बताउनु भयो । नगर उपप्रमुख चौधरीले लैङ्गिकमैत्री अवधारणाको नीति वा सूचकहरू अन्य कुनैपनि निकायले हालसम्म पनि निर्माण नगरेको कारण यो विषयमा काम गर्न केही अफ्ठारो भएपनि सोही अनुसार काम अगाडि बढाइएको जानकारी गराउनु भयो ।

सूचक निर्माण गरी अगाडि बढेमा नेपालकै पहिलो लैङ्गिकमैत्री नगरपालिका तिलोत्तमा हुने उहाँको भनाइ रहेको छ । उहाले भन्नुभयो-‘ लैङ्गिक मैत्री नगरपालिका निर्माणको लागि अन्य कुनै पनि पालिका वा निकायले यो काम नगरेको कारण सूचक निर्माण देखि लिएर आधारभूत काम नै गर्नुपर्दा केही समय लागेको हो, हामी निकट भविष्यमा सबै पुरा गरेर घोषणा गर्ने छौं ।’

नगरपालिका महिला बालबालिका तथा सामाजिक कल्याण उपशाखा प्रमुख सम्झना भण्डारी भुषालले लैङ्गिक संवेदनशिल नीति, कानून रणनीति, कार्यविधि, कार्यक्रम र बजेट, लैङ्गिकमैत्री परिवार र समुदाय, लैंङ्गिक मैत्री परिवार र समुदाय संस्थागत (शिक्षा, स्वास्थ्य) संरचना, लैंङ्गिकमैत्री सार्वजनिक नीजि भौतिक संरचना, लैङ्गिकमैत्री भूमि आयोग र निर्माण, लैङ्गिकमैत्री संवेदनशीलता, लैङ्गिक मैत्री सार्वजनिक यातायात, लैङ्गिकमैत्री सुरक्षा प्रणाली, लैङ्गिकमैत्री पर्यटन, लैंङ्गिकमैत्री खेलकुद, लैंङ्गिकमैत्री मिडिया र सञ्चार, लैंङ्गिक मैत्री खेलकुद, लैंङ्गिक मैत्री हिंसा शुन्य सहिष्णुतालगायतका ११ वटा सूचक राखिएको बताउनु भयो।

जसअनुसार ती सूचकको उपसुचक अनुसार मूल्यांकन गरी लैंङ्गिक मैत्री नगरपालिका घोषणा गरिने अधिकृत भण्डारी भुषालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?