गणतन्त्र दिवसमा रक्तदान तथा स्वास्थ्य परीक्षण

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । गणतन्त्र दिवस - २०८१को अवसरमा हेटौंडामा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजना तथा हातेमालो बचत सहकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा स्थित बुद्धचोकमा भएको उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा उक्त रक्तदान कार्यक्रम भएको थियो ।

रक्तसंचार केन्द्रमा रगतको अभाव नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य मन्त्री श्रेष्ठले बताउनुभयो ।

रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उहाँले यस्ता कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो । आफ्नो अमूल्य रगत दान गर्ने सहयोगीलाई उहाँले धन्यवाद समेत दिनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रवत्ता डा.खगेश्वर गेलाल, सुचना अधिकारी डा.रविन भुसाललगायको उपस्थिति रहेको थियो ।

हातेमालो सहकारीको १८ औं स्थापना दिवसको अवसर समेत भएकाले उक्त कार्यक्रममा सहकार्य गरेको सहकारीका सचीव सिताराम दाहालले जानकारी दिनुभयो । कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, रक्तचापको ८० जनाले निस्शुल्क परिक्षण गराएको दाहालले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा हेटौंडा-१ स्थित सन्चो हस्पिटलले सहकार्य गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?