म्याग्दीका गाउँ गाउँमा मादल बजाउन सिकाउने तालिम

हिमालय टाइम्स
Read Time = 3 mins

म्याग्दी । लोक संस्कृतिको संरक्षण र महिलाहरुको व्यवसायिक लाभका लागि म्याग्दीका स्थानीय तहहरुले गाउँगाउँमा महिलाहरुका लागि मादल बजाउन सिकाउने सीपमूलक तालिम प्रदान गरेका छन् ।

गाउँ समाज गाइने रत्यौली, लोक भजन लगायतमा महिलाहरुले मादल बजाउन सक्ने गरि सीप सिक्न र उक्त सीपलाई व्यवसायिक बनाई आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यसहित मादल बजाउन सिकाउने तालिम प्रदान गरिएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

जिल्लाका बेनी नगरपालिकासहित मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा यस्ता तालिम आयोजना गरिएका हुन् ।

यसैक्रममा शुक्रबार (हिजो) देखि बेनी नगरपालिका वडा नम्वर ६ मा रहेको ज्ञान मन्दिर सामुदायिक सिकाई केन्द्रको आयोजना र बेनी नगरपालिकाको सहयोगमा ४ दिने मादल बजाउने सिपमुलक तालिम सुरु भएको छ ।

तालिमको बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । उपसचिव पौडेलले कुनै पनि सिपले व्यक्तिको क्षमता विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिँह बानियाँले नेपाली मौलिक लोकबाजा मादल बजाउने सिप महिला दिदी वहिनीहरुका लागि आवश्यक रहेको बताउनुभयो । विहेको रत्यौली गीत गाउदा पुरुषले मादल बजाएको नसुहाउने भन्दै त्यसका लागि महिलाहरुले नै मादल बजाउन सक्ने बन्नुपर्ने बताउनुभयो ।

सिकाई केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मादल बजाउने सिपलाई अनौपचारिक शिक्षाको रुपमा लिन सकिने बताउनुभयो । उहाँले मादलको सिपलाई व्यवसायिकतामासमेत जोड्न सकिने बताउनुभयो ।

चार दिनसम्म संचालन हुने तालिममा म्युजिसियन दिनेश पुन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्यसमेत रहनुभएका कलाकार अमित विश्वकर्मा सहजकर्ताको रुपमा रहनुभएको छ ।

तालिममा बेनपा-६ भित्रका विभिन्न आमा समुहहरुबाट ४२ जनाको सहभागिता रहको छ । यस अघि जिल्लाको सिंगा, पात्लेखेतलगाएतका गाउँमा यस्तो तालिम सम्पन्न भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?