काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले विश्वकपमा विजयी सुरुवात गरेको हो । निर्धारित समयमा ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १०९ रनमात्रै बनाउन सक्यो ।
सन् २०१२ पछि पहिलोपटक पुरुष टी-२० विश्वकपमा सुपर ओभर खेलिएको हो । यसअघि टी-२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्याण्ड र वेष्ट इण्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । खेल वेष्ट इण्डिजले जितेको थियो ।
अन्तिम ओभरमा नामिबियालाई जितका लागि ६ बलमा ५ रन आवश्यक थियो । तर, उसले २ विकेट गुमाएर ४ रनमात्र जोडेपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गर्दै नामिबियाले ६ बलमा २१ रन बनाएको थियो । उसका लागि डेविड भिसेले १३ र कप्तान गेर्हार्ड इरास्मसले अविजित ८ रन बनाउनुभयो । २२ रनको लक्ष्य पछ्याएको ओमानले सुपर ओभरमा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।
त्यसअघि नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । उसका लागि जान फ्रिलिन्कले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै, निकोलास डेभिनले २४ र कप्तान गेर्हार्ड इरास्मसले १३ रन जोड्नुभयो । ओमानका लागि मेहरान खानले तीन, अयान खान, अकिब इलियास र बिलाल खानले एक/एक विकेट लिनुभयो ।
त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको मौका पाएको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । उसका लागि खालिद कैलले ३९ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै, जिशान मक्सुदले २२, अयान खानले १५ र शाहिल अहमदले ११ रन जोड्नुभयो । नामिबियाका लागि बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सानदार बलिङ गर्दै ४ ओभरमा २१ रन दिएर चार विकेट लिनुभयो ।
आयोजकद्वयकै विजयी सुरुवात
यसअघि आइतबार राती सम्पन्न खेलमा आयोजक वेष्ट इण्डिजले पनि विजयी सुरुवात गरेको थियो । पपुवा न्युगिनी (पिएनजी)लाई ५ विकेटले हराउँदै वेष्ट इण्डिजले विजयी सुरुवात गरेको हो । आफ्नो पहिलो खेलमा पिएनजीले दिएको १३७ रनको लक्ष्य वेष्ट इण्डिजले सहजै पूरा गर्ने अनुमान थियो । तर, उसले उक्त लक्ष्य पूरा गर्न १९ ओभर खेल्नुपर्यो र वेष्ट इण्डिजले ५ विकेट गुमाएरमात्रै लक्ष्य भेट्टायो । आइतबार बिहान सम्पन्न विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले पनि विजयी सुरुवात गरेको थियो ।
नेदरल्याण्ड्ससँग आज पहिलो खेल खेल्दै नेपाल
आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालासमा हुने दुई देशबीचको खेल नेपाली समय अनुसार राती सबा ९ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् । नेपालले बाँकी दुई खेल भने वेष्ट इण्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।
नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलोपटक खेल्न लागेको हो । बंगलादेशसँग भने नेपालले सन् २०१४ को विश्वकपमै खेलेको थियो । नेदरल्याण्ड्सँग भने नेपालले पटक-पटक म्याच खेलिसकेको छ । नेपाल हाल टी-२० अन्तर्राष्ट्रियको वरीयतामा १६औँ स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौँ, श्रीलंका आठौँ, बंगलादेश दशौँ र नेदरल्याण्ड्स १२औँ स्थानमा छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् ।
त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, घरेलु टोली वेष्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी छन् । टी-२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच