नेपाल पत्रकार महासंघले गर्नुपर्ने काम नगरेको भन्दै पछिल्लो समय विभिन्न आरोप खेप्दै आएको छ । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकदेखि सदस्यता शुद्धीकरणका विषयमा पत्रकारहरूले प्रश्न उठाइरहेका छन् । तर, महासंघले भने आफूहरू जिम्मेवारीबाट पछि नहटेको र सक्दो काम गरिरहेको बताउँदै आएको छ । यही सेरोफेरोमा रहेर नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलसँग दाङ संवाददाता विवेक खड्काले गर्नुभएको कुराकानी :-
नेपाल पत्रकार महासंघको तीन वर्षे कार्यकाल कस्तो रहृयो ?
म त्यो बेला माओवादीको सशस्त्र द्वन्द्वकालमा नेपाल पत्रकार महासंघको एउटा भूमिकामा थिएँ । त्यसपछि पनि फरक-फरक भूमिकामा रहेर काम गर्दै आएको छु । पत्रकारिताको सुरुवातसँगै नेपाल पत्रकार महासंघमा म जिल्लास्तरबाटै जोडिएको मान्छे हुँ र मोफसलमा काम गर्दा गर्दै महासंघका विभिन्न जिम्मेवारीमा रहेर काम गरे । अघिल्ला कार्यकालहरूमा फरक भूमिकामा थिएँ । अहिलेको यो कार्यकाल भनेको मैले सिंगो नेपाली पत्रकारिता जगतको नेतृत्व गर्ने मौका पाए । अथवा भनौं देश-विदेशमा रहनुभएका हजारौं पत्रकारहरूले मलाई त्यो जिम्मेवारी दिनुभयो । जो मेरो पत्रकारिताको जीवनपर्यन्त पनि अविष्मरणीय रहनेछ । यो हिसाबले पनि म उहाँहरूप्रति कृतज्ञ छु । आभारी छु ।
मैले मात्रै होइन मैले नेतृत्व गरेको पत्रकार महासंघको कार्यसमिति नेतृत्वमा आउँदै गर्दा देशको राजनीति र पत्रकारिता अलि फरक परिस्थितिबाट गुज्रिरहेको थियो । संवैधानिक अभ्यासका प्रश्नहरू उठिरहेका थिए । प्रेस स्वतन्त्रतामाथि यो वा त्यो नाममा आक्रमण गर्ने नीतिगत प्रयास भइरहेकै थिए । संघीय अनि अरू पनि तहका सरकारहरूले आ-आफ्नै तरिकाले कानुन अनि मस्यौदाका ड्राफ्टहरू तयार गरिरहँदा हामी पत्रकार महासंघको नेतृत्वमा आएका थियौं । त्यो भनेको हामीले संविधान अनि त्यसको भावनालाई रक्षा गर्दै प्रेस स्वतन्त्रता जोगाउनुपर्ने अवस्थाबाट गुज्रिरहेका थियौं । मिडियामैत्री कानुनमाथि जालझेल भइरहेको थियो । त्यो बेला हामी नीति निर्माताहरूलाई सचेत र खबरदारी गर्नका लागि सडक आन्दोलनमै जानुपर्ने अवस्थाबाट गुज्रिरहेका थियौं । त्यस्ता कानुनहरू आउन सकेनन् । महासंघको दबाब र हाम्रो आन्दोलनका कारण । यो वा त्यो नाममा स्वतन्त्र प्रेसको मुख थुन्नका राज्यस्तरबाट भएका थुप्रै प्रयासबाट राज्य पछि हटेको छ ।
यसैबेला विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले नेपाल पनि आक्रान्त भइरहेको थियो । हाम्रो नेपाली पत्रकारिता र पत्रकारहरू पनि यसबाट प्रभावति हुनु स्वभाविकै थियो । त्यो पनि हाम्रो लागि एकदमै चुनौतीपूर्ण समय थियो । सारा नागरिक र पत्रकारहरूको पनि स्वास्थ्यप्रति चासो र चिन्ताको विषय थियो । त्योमाथि पनि पत्रकार भनेका अग्रपंत्तिमै रहेर काम गर्नुपर्ने अवस्थालाई ख्याल गर्दै हामीले पत्रकारहरूको मनोबल बढाउनेखालका काम गर्नुपर्ने अवस्था थियो ।
कोरोनाको उपचारको कुनै विकल्प नदेखिएको अवस्थामा नागरिक सचेतना पनि हाम्रो दायित्व थियो । महासंघले उत्प्रेरणाका कामहरू गर्यो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य निर्देशिका बनाउनेदेखि लिएर हामीले महामारीमा खटिने पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि पनि काम ग¥यौं । पत्रकार तथा उनीहरूका परिवारका लागि उपचार र स्वास्थ सुरक्षाका निम्ति केन्द्रीय कार्यालयदेखि लिएर महासंघका सबै शाखा कार्यालयहरूमा आइसोलेशन सेन्टरहरू बनाएका थियौं । त्यो महामारीका बेला हामीले नागरिकलाई सूसुचित गर्ने मौलिक दायित्व त छँदै थियो त्यसमा पनि श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहयोगदेखि लिएर पत्रकारका दैनिक आवश्यकता पूर्ति गर्न घरघर पुग्ने अभियान समेत हामीले चलायौं ।
यसरी त्यो अवस्थाबाट सुरु गर्दा यो कार्यकालभरि यी र यस्तै अवस्थाहरूको सामना गर्दागर्दै बित्यो । हामीले नेतृत्व सम्हाल्दादेखि कार्यकाल सकेर बाहिँदासम्मै हाम्रो संघारमा यस्ता धेरै चुनौती अझै खडा छन् । समग्रमा हाम्रो यो नेतृत्व र कार्यकाल श्रमजीवी पत्रकारहरूको पक्षमा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खरो उत्रिन सक्यौं भन्ने नै हो । बाँकी त यो कार्यकालमा हामीले के कति गर्न सक्यौं त्यो म आफैंले आफैंलाई अनि अहिले नै गर्ने मूल्यांकन होइन । त्यसको पनि समय आउँछ र समग्र नेपाली पत्रकारिता जगतले त्यसको मूल्यांकन गर्नेछ ।
श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक तोकिए पनि कार्यान्वयनमा आउन सकेको छैन, यसमा महासंघ कत्तिको जिम्मेवार रहन्छ ?
समग्र पत्रकारिता क्षेत्रकै नेतृत्व गरेको हिसाबले सम्पूर्ण श्रमजीवी पत्रकारहरूको हकहितको जिम्मेवारी नेपाल पत्रकार महासंघको पनि एउटा हिस्सा हो । यो अहिलेको मात्रै होइन नेपाल पत्रकार महासंघको स्थापनाको एउटा उद्देश्य पनि यही नै हो । त्यसमा पनि लामो संघर्षपछि हामीले सरकारलाई श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक तोक्न सरकारलाई बाध्य पारेका हौं । कम्तीमा श्रमजीवी पत्रकारलाई राज्यले अपनत्व लिएको हो । त्यसका लागि पहिलो चरणमा न्यूनतम पारिश्रमिक तोक्न र लागू गर्न दबाब दिएपछि त्यसले सार्थकता पाएको हो । सरकारीस्तरबाटै श्रमजीवी पत्रकारहरूको हकहितका लागि न्यूनतम् पारिश्रमिक निर्धारण समिति पनि बनेको छ । त्यो समितिमा पनि सरकारले पत्रकारहरूलाई नै कार्यकारी भूमिकामा नियुक्त गर्दै आएको छ । खासगरी यसमा नेपाल पत्रकार महासंघको भूमिका भनेको सरकारलाई दबाब दिने हो । पारिश्रमिक कार्यान्वयनका लागि सरकारले नै खडा गरेका अंगहरूसँग मिलेर काम गर्ने हो ।
हामीले समन्वय र सहजीकरण गरिदिने हो । त्यसका लागि के-कस्ता उपायहरू अपनाउने भनेर हामीले सरकारलाई सल्लाह सुझाब पनि दिने हो । यो कार्यकालमा पनि हाम्रो नेतृत्वले धेरै श्रमजीवी पत्रकारहरूको हकहितका लागि सडकबाट मात्रै होइन कानुनी लडाइँ पनि लडेका छौं । अदालतकै आदेशबाट धेरै श्रमजीवी पत्रकार साथीहरूले आफ्नो पसिनाको मूल्य पाउनुभएको छ । श्रम र पसिनाको मूल्य पैसामा हिसाब त हुँदैन तथापि हामीले त्योबाहेक एउटा श्रमजीवीले पाउनुपर्ने वा राज्य अनि सम्बन्धित सञ्चारगृहले दिनुपर्ने सबै प्रकारका सेवासुविधाको पूर्ण कार्यान्वयन गर्न दबाव दिइरहेका छौं । श्रमको मुद्दाहरूमा पनि यो कार्यकालमा धेरै महत्वपूर्ण काम भएका छन् । महासंघको श्रम समितिले यसका लागि धेरै योगदान र महत्वपूर्ण कामहरू गरेको छ । श्रमको मुद्दामा हामीले संवाद, दबाब र न्यायिक लडाइँमार्फत श्रमजीवी साथीहरूलाई श्रमको मूल्य दिलाएका छौं । अदालतमार्फत मात्रै हाम्रो कार्यकालमा साढे दुई करोडभन्दा धेरै रकम साथीहरूले श्रमको मूल्य पाउनुभएको छ । संवादमार्फतको मूल्य त अझ ठूलोमात्रामा छ । श्रम र त्यसको उचित मूल्य पाउनुपर्छ भन्ने लडाइँको अन्त्य त अझै भएको छैन । योसँगै हामीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि थुप्रै काम गरिरहेका छौं । विभिन्न कार्यक्रम तथा परियोजनामार्फत पत्रकारको क्षमता र आर्थिकोपार्जनका लागि पनि हामीले काम गरिरहेका छौं । सरकार अनि सम्बन्धि सरोकारवाला निकायहरूको समन्वयमा हामीले काम गरिरहेका छौं । गर्नुपर्ने काम त अझ धेरै छन् । श्रमजीवी पत्रकारहरूका लागि लड्नुपर्ने क्षेत्र धेरै फराकिला छन् ।
पत्रकारितामा नैतिकता हराउँदै भन्ने आलोचनालाई कसरी लिने गर्नुभएको छ ?
हरेक क्षेत्रमा हुने आलोचनालाई सकारात्मक रूपमा लिनु नै नेतृत्वको दायित्व हो । अनि त्यसको आत्मसात गर्नु जिम्मेवारी हो । हामी न त्यस्ता आलोचनाबाट भागेका छौं न जिम्मेवारीबाट पन्छिएका छौं । पत्रकारिता आफैंमा चुनौतीपूर्ण काम हो । यो पेशा वा जागिर पनि हुनसक्ला । यो भनेको व्यावसायिक युग हो र व्यावसायिक हुनैपर्छ । यसो भन्दैमा पत्रकारिताका केही आधारभूत वा भनौं मूलभूत सिद्धान्त छन् । हामीले त्यसको धरातल भने भुल्नुहुँदैन । ती आधारभूत सिद्धान्तका रेखाहरू ननाघेरै हामीले जिम्मेवार पत्रकारिता गर्ने हो । हरेक राज्यमा पत्रकारिता एउटा त्यस्तो क्षेत्र हो जसले हरपल प्रतिपक्षीको काम गरिरहेको हुन्छ र गरिरहनुपर्छ । सिंगो राज्यसत्तालाई नै हाक्न सक्ने हाम्रो कलमको क्षमताकै कारण यो निकै चुनौतीपूर्ण काम पनि हो । कमीकमजोरी हरेक क्षेत्रमा हुन्छन् । हाम्रो पत्रकारिता क्षेत्रमा पनि छन् । अब हिँजोको जस्तो छैन । पत्रकारिताको क्षेत्रसँगै पत्रकारहरूको संख्या पनि बढिरहेको अर्थात् हाम्रो परिवार दिनानुदिन बिराट् हुँदै गइरहेको छ । यस्तो अवस्थामा विकृतिहरू हुँदैनन् भन्ने होइन त्यसको न्यूनीकरण र जिम्मेवारी पत्रकारिताका लागि हामीले आधारहरूको खोजी गरिदिने हो । सहजीकरण र समान्यीकरणको काम गर्ने हो । कामको परिधि जति बढ्दै जान्छ त्यसको रूप पनि उति नै फराकिलो हुँदैजान्छ । त्यसैले पत्रकारिताप्रतिको आलोचनालाई हामीले सच्चिने एउटा शूत्रका रूपमा लिनुपर्छ ।
पत्रकारिताका नाममा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढ्दो छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
पहिलो कुरा त सामाजिक सञ्जालका सूचना र पत्रकारिता अनि पत्रकारले दिने सूचना भनेको एउटै कुरा होइन । यसका बीचमा धेरै फराकिला अन्तरहरू छन् । सैद्धान्तिक र व्यावहारिक मान्यता अनि परिभाषाहरू छन् । सामाजिक सञ्जाल अर्थात् ‘न्यू मिडिया’ भनेका अहिलेको युगमा आमनागरिकको जीवनशैलीजस्तै बनेको छ । यसबाट अलग हुने वा गराउने होइन कि त्यसलाई कसरी सही उद्देश्यमा सदुपयोग गर्ने भन्ने हो । एक प्रकारले भन्ने हो भने सामाजिक सञ्जाल अहिले पत्रकारिताका लागि चुनौतीको विषय पनि हो तथापि यसलाई बाहेक गरेर पत्रकारिता अघि बढाउन सकिन्छ भन्ने पनि होइन । यो प्रविधिको युग हो । एकपछि अर्को प्रविधिको जन्म भइरहन्छ । अहिले आएको ‘एआई’ अर्थात् कृत्रिम बौद्धिकता त्यसकै एउटा आयाम हो । तर, हामीले बुझ्नुपर्ने एउटा कुरा के हो भने यी भनेका पत्रकारिताका लागि चुनौतीमात्रै होइन बरू हाम्रो पत्रकारितालाई अझ परिस्कृत अनि प्रविधियुक्त बनाउने यो एउटा अवसर पनि हो । त्यसका लागि हामीले त्यसको सही सदुपयोग गर्न जान्नुपर्छ । त्यसको बहिष्करणतिर नभई हामीले त्यसलाई राम्रो उद्देश्यका लागि प्रयोग गर्न सक्यौं र जान्यौं भने बल्ल हामी ‘स्मार्ट’ युगका मानव बन्छौं ।
नेपाल पत्रकार महासंघले पनि सही र मिथ्या सूचनाको बारेमा आमनागरिकलाई सचेत बनाउने प्रयासहरू थालेको छ । त्यो भनेको समाजिक सञ्जालका सूचनाहरूलाई कसरी ‘फिल्टर’ गर्ने भन्ने हो । यसलाई एकप्रकारको मिडिया साक्षरताका रूपमा लिन सकिन्छ । हरेक नागरिकमा सूचना प्रणालीका बारेमा सचेतना हुन जरुरी छ । त्योसँगै अझ सूचना प्रणाली र त्यसको माध्यमका बारेमा विवेचना झन् जरुरी छ । हामीले कुन माध्यमबाट ग्रहण गर्दा त्यसको सहजता र प्रभावकारिता । ग्रहण गर्ने क्षमता नागरिकमा जारगरुक हुन जरुरी छ । यो क्षमताको विकास भएमात्रै मिडियामा हुने गलत अभ्यास निरुत्साहित हुनसक्छन् । मिडिया साक्षरता यसकारण पनि जरुरी देखिएको छ । यसबाट हामीले कुन र कस्तामाध्यमबाट सही सूचना प्रवाह हुन्छन् अनि कस्ता माध्यमबाट मिथ्या सूचना ‘भाइरल’ बनाइन्छ भनेर नागरिकलाई सुसूचित गर्न सक्छौं ।
सदस्यता शुद्धीकरणका विषयमा धेरै नै विवाद भइरहेका छन्, श्रमजीवी पत्रकारहरू ‘अन्याय’ मा परे भन्ने सुनिन्छ, यसलाई कसरी लिनुभएको छ ?
नेपाल पत्रकार महासंघमा आफ्ना सदस्यता ‘शुद्धीकरण’ गर्ने प्रयास यसअघि नै भइसकेको थियो । हाम्रा अग्रजहरूले हाम्रो जिम्मेवारीमा छोड्नुभएको र यो आवश्यक भएका कारण अहिले हाम्रो नेतृत्वको पत्रकार महासंघले आफ्ना सदस्यहरूको ‘शुद्धीकरण’ थालेको हो । हामी हाम्रा अग्रजहरूले नै देखाइदिनुभएको बाटो नहिँडी नहुने भएकाले पनि यसको सुरुवात गरेका हौं । यो नै अन्तिम होइन बरू यो त सुरुवातमात्रै हो । यसमा बुझ्नै पर्ने कुरा पहिलो र महत्वपूर्ण कुरा के हो भने यो एउटा अभियान हो । तत्कालको प्रतिक्रियाको आधारमा यसको सफलता वा असफलतालाई मापन गर्न अलि हतार हुन्छ ।
खासमा महासंघले सुरु गरेको शुद्धीकरणको यो मात्रै अभियान होइन बरू यसलाई त हामीले महाअभियान नै भन्दा पनि हुन्छ । किनकि यसको थालनी नै एउटा सच्चा श्रमजीवी पत्रकारको सही पहिचानलाई जोगाइराख्ने एउटा सुरुवात हो । समाजले एउटा श्रमजीवी पत्रकारमाथि राखेको भरोसालाई अझ मजबुत बनाउनु यसको उद्देश्य हो । राज्यका सबै संरचनाहरूमाथि नागरिक विश्वास गुमिरहँदा ती संरचनालाई बलियो बनाउन मिडिया क्षेत्रले मात्रै भूमिका खेल्नसक्छ भन्ने हाम्रो दाबी नै छ र यो मान्यतालाई हामीले स्थापित गर्न सकेका छौं । यसकै एउटा आयाम नेपाल पत्रकार महासंघले थालेको शुद्धीकरण अभियान पनि हो । यसका लागि पत्रकार महासंघ र पत्रकारिता क्षेत्र नै करेक्सनको बाटोमा जानुपर्छ भन्ने मान्यतामा टेकेर हामीले आफूभित्रै सुधार गर्नुपर्ने कुरालाई महत्व दिएर शुद्धीकरण अभियान थालिएको हो । हामी आफूलाई पनि सुधार्छौं र सिंगो राज्यलाई नै सुधार्ने नैतिक आधार तय गर्छौं भनेर हामीले यो शुद्धीकरण अभियानको यात्रा तय गरेका हौं । यो अभियान एउटा यात्रा हो हामीले सुरु गर्यौं तर यो अभियान भने निरन्तर चलिरहने छ भन्ने विश्वास पनि लिएका छौं । यसमा कसैले पनि ‘न्याय’ वा ‘अन्याय’का आँखाले हेर्नुहुँदैन र त्यसरी परिभाषित गर्नुहुँदैन । यो त हरेक विशुद्ध श्रमजीवी पत्रकारहरूको ‘आत्म-सम्मान’का लागि थालिएको एउटा पवित्र अभियान हो । हरेक एउटा नयाँ सुरुवातमा त्यसको आलोचना हुन्छ । टिकटिप्पणी हुन्छन् । त्यसमा कुनै पनि आग्रह–पूर्वाग्रह होइन बरू ती सबैलाई हामी सच्चिने एउटा शूत्रधारका रूपमा ग्रहण गर्नसक्नुपर्छ । हामीले आलोचना सुन्छौं । गुनासा पनि सुन्छौं । अनि त्यसको समाधान खोज्छौं । अर्थात् ती सबको सम्बोधन गर्छौं । समय लाग्ला तर श्रमजीवी पत्रकारहरूकै बृहत्तर हितका लागि थालिएको यो अभियान सर्वस्वीकार्य हुन समय लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच