युवा पुस्तालाई लोपोन्मुख सोरठी सिकाउँदै ८३ वर्षिय लबहादुर थाने मगर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

नौलो जिमी नौलै भूमि
देउतै हो तमु शरण...
ह सयालु र शितलु मगरैको देश
सयालु र शितलु मगरैको देश ।

म्याग्दी । फुर्सदको समय घरको आगनमा बसेर सोरठी गीत भट्याइरहने म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका ८३ वर्षिय लबहादुर पुन मगर बुढेसकालमा पनि सोरठी संरक्षण अभियानमा खटिइरहनुभएको छ ।

गाउँमा ‘सोरठी गुरु’ को नामले चिनिनुहुने पुन मगर मगर समुदायको जनजीवन भित्रका महत्वपूर्ण सम्पदा मध्येको एक सोरठी गीत र नृत्य पछिल्लो समय लोप हुँदै गएपछि यसको संरक्षण र नयाँ पुस्तालाई आकर्षित गर्नका लागि युवाहरुलाई सोरठी सिकाउँदै आउनुभएको छ ।

सानैदेखि सोरठी गाउँदै आउनुभएका पुन मगर आफुभन्दा अग्रज गुरुहरुबाट सिक्दै अहिले चिमखोला गाउँमा सोरठीका गुरु बन्नुभएको चिमखोलाका मेजन पुनले बताउनुभयो ।

उहाँकाअनुसार आफ्नो लोपोन्मुख संस्कृतिको संरक्षणका लागि ८३ वर्षको बुढ्यौलीलाईसमेत वेवास्ता गर्दै उहाँ लागि पर्नुभएको छ । गाउँका युवायुवतीहरुलाई सोरठीको इतिहास र यसको महत्वका बारेमा बताइरहने पुनले युवायुवती र पाको उमेर समुहका व्यक्तिहरुलाईसमेत सोरठी सिकाउने गर्नुहुन्छ ।

पुन मगरका अनुसार सोरठी नाच नेपालको एक परम्परागत नृत्य हो । यो नाच खास गरेर गण्डकी र कर्णालीमा बसोवास गर्ने गुरूङ र मगर समुदायमा निकै प्रख्यात रहेको छ ।

पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरू भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ । पन्ध्रवटा रानी र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसगँ सम्बन्धित भएकाले सोह्रवटी भन्दा भन्दै अपभ्रंश भएर सोरठी भएको उहाँको भनाइ छ ।

पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने बाध्यताले गर्दा यो लोकप्रिय नाच हराउँदै जान थालेको उहाँले बताउनुभयो । मौलिक लोकलयमा आधारित सोरठी नाच पौराणिक तथा ऐतिहासिक कथाहरू समेटेर विविध लय र तालमा मारूनीसहित गाउँने र नाच्ने गरिन्छ । सोरठी नाच हेर्दा मारूनी नाच जस्तै देखिन्छ । सोरठी नाचमा पनि मारूनी नाच जस्तै मादले, मारूनी र पुर्सिङ्गे हुन्छन् ।

मगर र गुरूङ समुदायको परम्परागत नृत्य रहेको सोरठी नाच अब लोप हुने अवस्थामा छ । देवी, देउता र पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ । सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ । सोरठी नाच गीत भन्दा पनि मादलको तालमा नाचिने नृत्य भएको म्याग्दीकी लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?