
काठमाडौं । अभिनेत्री पूजा शर्माको एक्सन अवतार भएको चलचित्र ‘दान्भी’ असार ७ गतेदेखि सिनेमाघरमा आउँदै छ । पूजाको चलचित्र करियरमा उहाँ पहिलोपटक एक्सन चरित्रमा देखिनलाग्नु भएको हो । चलचित्रका लागि उहाँले झण्डै एक महिना फाइटको प्रशिक्षण लिनुभएको थियो । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ । सधैं प्रेमकथाको मात्र गर्नुभन्दा एउटा फरक काम गरौं न भनेर मैले दान्भी गरेकी हुँ । यो चलचित्र गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । ममा एक्सनको ज्ञान शून्य नै थियो । तर, दान्भीको कामले धेरै कुरा सिकायो’, पूजा सुनाउनुहुन्छ ।
आफूले एक्सन चलचित्रबारे न सोचेको बताउने उहाँ अहिलेसम्म गाह्रो र मिहिनेत गरेको चलचित्र ‘दान्भी’ रहेको बताउनुहुन्छ । ‘यो एक्सन फिल्म नै हो । फिल्म हेरेपछि दर्शकले ओहो भन्नुहुन्छ । हामीले अहिलेसम्म हेरिरहेका एक्सनभन्दा फरक एक्सन यो फिल्ममा हेर्न पाइनेछ । एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ,’ पूजा भन्नुहुन्छ ।
पूजा अभिनेत्री रेखा थापाको एक्सनबाट प्रभावित हुनुहुन्छ । उहाँको बुझाइमा रेखापछि कोही अभिनेत्रीले एक्सनमा आफूलाई देखाएका छैनन् । ‘केटी मान्छेले कस्तो एक्सन गर्दोरहेछ भनेर दर्शकलाई फ्रेसनेस हुन्छ । मैले आफ्नो फिल्म बनाउँदा त्यति धेरै प्रतिक्रिया आएको थिएन, जति दान्भीमा आएको छ । किनभने एउटा केटीले एक्सन गरिरहेको छ त्यसले मान्छेलाई नोटिस गरेको रहेछ’, पूजाको दाबी छ ।
‘दान्भी’को एक्सन पाटोले मात्र चलचित्रमा काम गर्न आफूलाई प्रेरित गरेको बताउने पूजाले चलचित्रका लागि द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना अभ्यास गर्नुभयो । चलचित्रका लागि सुटिङ स्थलमा १५ दिनसम्म निरन्तर एक्सन गरिरहेको उहाँको भनाइ छ ।
चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि विशेषत उहाँको एक्सन अवतारको जति तारिफ भयो, आलोचना अथवा खिसिट्युरी पनि उत्तिकै भयो । आफ्नो कामले आलोचना पाउँदा उहाँ केही दुःखी पनि बन्नुभयो । ‘यो गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो होला । नेपालमा यस्तो गर्यो भन्ने हुन्थ्यो । तर, एउटा केटीले बोक्दा ‘गन बोक्न पनि आएन’, ‘गन बोकेको एक्सप्रेसन भएन’ भन्ने सुनें । मैले गन बोकेको छु, म गनसँग डराउने होइन नि त खासमा । मैले अरूलाई हानेको छु । म गनसँग इजी हुनु हो नि । तर, मान्छेले बुझ्दा गन बोकेको छ एक्स्प्रेसन छैनमात्र भने’, पुजाको बुझाइ छ ।
भविष्यमा पनि एक्सन चलचित्रमा देखिने वा नदेखिने भन्ने कुरा ‘दान्भी’ रिलिजपछिको प्रतिक्रियाले टुंगो लगाउने पूजा बताउनुहुन्छ । ‘मलाई दर्शकले एक्सनमा रुचाए भने म अवश्य गर्छु । अहिले मलाई एक्सन मुभीकै अफरहरू आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरू एक्सन फिल्मको कुरै गर्दिनँ’, उहाँ भन्नुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच