नेपालको समसामयिक राजनीति करिब दुई दशक अघिदेखि तीनजना नेताहरूको सेरोफेरोमा घुमिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका गति, मति र बुद्धिले राजनीतिलाई जता डोर्याउँछ, नेपालको राजनीति त्यतै अग्रसर हुने गरेको छ । या त यी तीनजना नेताहरूको समर्थनमा आवाजहरू घन्किने गरेका छन्, या यिनै नेताहरूका विरुद्धमा चर्काचर्का नारा लाग्ने गरेका छन् । नो नट अगेन भने पनि, बुढाहरू हटाऊ भने पनि सबै नाराहरू मुख्यतः तीनजनामै लक्ष्यित हुने गरेको छ र पनि यी नेताहरूको शीर्षासन आजसम्म हल्लिएको भने छैन ।
तीनजना नेताहरूका सन्दर्भमा जनमत लिने हो भने सम्भवतः ९८ प्रतिशत जनताले अब पाका नेताहरूले विश्राम लिनुपर्दछ भन्ने अभिमत दिन्छन् होला । घर परिवार, नातासम्बन्ध र यी नेताहरूका आडमा राजनीति टिकाइरहेका एवं लाभका अवसरहरू लिइरहेकाहरूको संख्या दुई प्रतिशतको हाराहारी हुनसक्ला र तिनले भने मुलुकमा अझै पनि यस्तै नेताहरूको आवश्यकता छ भन्नेमा आफ्ना मत जाहेर गर्लान् । नत्रभने कम्तीमा दुई जनादेखि बढीमा ठूलै समूह जम्मा भएका अनौपचारिक छलफलहरू सुन्यौं भने यी नेताहरूका पक्षमा कसैले बोलेको सुनिँदैन तर पनि यी नेताहरूको जग हल्लाउन सक्ने आजसम्म कोही पनि देखिएको छैन ।
गणतन्त्र आएपछिका यी नेताहरूका भूमिकाहरू विवादित भए होलान् तर विगत भने सम्मान गर्नुपर्ने खालकै थियो । पछिल्ला समयमा राजनीतिलाई सफा बनाउनुको सट्टा फोहोर पार्ने अभियानमा यी नेताहरूको संलग्नता देखिएकाले जनता सन्तुष्ट छैनन् र पनि नेपालको सत्ता राजनीति भने यी नेताहरूबाट टाढा जानसकेको छैन ।
समय समयमा कोही कसैले सार्वजनिक तबरले नै यी नेताहरूका विपक्षमा आवाज उठाएको सुनिन्छ । विरोधका स्वरहरू मात्रै होइन कि तत्कालै जेल हालेर राजनीति सफा पार्नुपर्ने सम्मका पनि विचारहरू राख्ने गरेको पनि देखिन्छ तर अवसर पाउने बित्तिकै ती चर्का नारा लगाउनेहरू यिनै नेताहरूको दौराको फेरो समातेर वैतरणी तर्ने गरेको प्रत्यक्षै भइसकेको छ । त्यसैले पनि नयाँ उदाएकाहरूसँग जनता पूर्णविश्वस्त हुनसकेका छैनन् । फलतः मुलुकको राजनीति अझै केही वर्ष उनै पुरानाहरूकै कब्जामा घुमिरहन्छ भन्न सकिन्छ । राजनीतिमा नवीन सोच र नयाँ कायैशीली भित्रिएला भनेर आश गर्ने ठाउँ देखिएको छैन ।
यी नेताहरूको गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान रहेकै हो । जनताका पक्षमा आवाज उठाएकै हुन् । प्रजातन्त्रका पक्षमा संघर्ष गर्दा देउवा त जेलनेल भोगेकै नेता हुन् । केपी ओली र प्रचण्डले नेपालमा कम्युनिष्टहरू बढाउन भूमिगत राजनीति गरेकै हुन् । गणतन्त्र आएपछिका यी नेताहरूका भूमिकाहरू विवादित भए होलान् तर विगत भने सम्मान गर्नुपर्ने खालकै थियो । पछिल्ला समयमा राजनीतिलाई सफा बनाउनुको सट्टा फोहोर पार्ने अभियानमा यी नेताहरूको संलग्नता देखिएकाले जनता सन्तुष्ट छैनन् र पनि नेपालको सत्ता राजनीति भने यी नेताहरूबाट टाढा जानसकेको छैन । यतिसम्म हुनथालेको छ कि वर्तमान व्यवस्था ल्याउन रत्तिभर योगदान नभएकाहरूले यी नेताहरूमाथि औंला ठड्याउन थालिसकेका छन् र पनि यी नेताहरूकै कार्यशैलीका कारण समर्थकहरू मौन बस्न बाध्य छन् ।
तर नेकपा एमालेका केपी ओली भने पुराना नेताहरूमा खरा र हिम्मतिला देखिएका छन् । आफ्ना गल्तीहरूलाई पनि सही साबित गर्न कत्ति नहिच्किचाउने र अरूले लाएका आरोपलाई स्वीकार गर्नेदेखि विरोध गर्नेसम्मका कार्यमा पछि पदैनन् । देउवा मौन बसेरै टारिदिने गर्दछन् भने प्रचण्डको सफा छु र छौं भन्ने एकोहोरो रटानमात्रै रहन्छ तर ओली भने अनेक उखान टुक्का, प्रहसन र उदाहरणहरूका माध्यमद्वारा आरोपहरूको प्रतिवाद गरिरहन्छन् । चाहे उनका प्रतिवादले सकारात्मक परिणाम दिऊन् वा नकारात्मक बोल्न नडराउने र नहच्किने नेतामा उनैमात्रै देखिएका छन् । कतिपय उदाहरणहरूले उनैलाई झनै कमजोर बनाइरहेको हुन्छ र पनि बोल्न छाड्दैनन् । आज बोलेका कुरा भोलि नै गलत हुने भए पनि रोचक शैलीमा बोलिरहन्छन् ।
भर्खरै काठमाडौंका मेयर बालेन शाहसँग ओलीको आरोप प्रत्यारोप चल्यो । बालेनले अति नै गम्भीर आरोप लगाए । सामान्य मान्छेले यति ठूलो आरोप खेप्नुपरेको भए कि त हर्ट अट्याक हुन्थ्यो कि ऊ मानहानीको मुद्दा लिएर अदालत जान्थ्यो तर ओलीले सहजै पचाइदिए । बालेनले दशहजार करोडको आरोप लगाए जुन सत्य हो कि असत्य भन्ने अझै किनार लागिसकेको छैन । ओलीको नामै नलिई सबैले बुझ्ने गरी गिरिबन्धु चियाबगानको कुरा उठाए तर बालेनको यस्तो गम्भीर आरोपले ओलीको मुट त परै जाओस्, बाहृय अंगलाई समेत छोएको देखिएन । बरू मेयर बालेनलाई नै झिँगाको उपमा दिए, आफूलाई भैँसी बनाए ।
ओलीले भनेका थिए-भैँसीका आङमा झिँगा भन्किरहन्छन्, झिँगाले भैँसीलाई आफैँले डोर्याएको, तह लगाएको सम्झन्छ । भैंसीले पुच्छर हल्लाउँदा झिँगो उड्छ, फेरि आएर बस्छ । भन्न त ओलीले भने तर ओली जत्तिका चतुर नेताले के भनियो भन्ने चाहिँ हेक्का राखे जस्तो देखिएन । भलै बालेन झिँगै होलान् तर झिँगा भन्किने भनेको फोहोरमा मात्रै हो । सफा ठाउँमा झिँगा भन्किएका दृश्य बिरलै मात्रै देख्न पाइलान् । फोहोरी राजनीतिको माहिर खेलाडीमध्येको एक भए तापनि बालेनले बोल्ने बित्तिकै सहजै स्वीकार नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको छ तर प्रष्ट वक्ता भएका कारणले ओलीले बोले भन्नेहरू पनि भेटिएका छन् ।
देश र जनताको समृद्धिका लागि कांग्रेस-माओवादी वा माओवादी-एमालेको स्थायी सम्बन्ध बन्न सक्दैन । सर्प, बिच्छी र भ्यागुतो एकै ठाउँमा बसे झैँ कांग्रेस, एमाले र माओवादीहरू एकअर्काबाट सधैं त्रसित हुने र मित्रवत् सम्बन्ध सुधार गर्न नसक्ने भएका छन् ।
अर्कातिर समसामयिक राजनीतिमा दीपक मनाङ्गे नामले चर्चित राजीव गुरुङ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी तीनवटै ठूला भनिएका दलहरूको प्राणवायुका रूपमा पछिल्लो समयमा देखापरेका छन् । उनको वर्तमानका क्रियाकलापमा राजनीतिमात्रै देखिएको छ तर विगत भने गतिलो थिएन भन्न कसैले दकस मान्नुपर्दैन । उनको पृष्ठभूमि हेर्दा उनलाई साथमा लिएर हिँड्नेलाई कसैले पनि राम्रो मान्न सक्दैन तर नेपालको वर्तमान राजनीतिमा उनी सबैका लागि अपरिहार्य व्यक्ति बनेर उभिन पुगेका छन् । उनले जसलाई तथास्तु भन्दै आशीर्वाद दिन्छन्, उही गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने गरेको छ ।
सबैभन्दा पहिला राजनीतिमा सांसदका रूपमा उभिन उनलाई सहयोग गर्ने नेकपा एमाले र ओली नै हुन् भन्ने पनि सबैलाई थाहा छ । मनाङ्गेलाई विसं २०७४ मा चुनाव जिताएबापत अनेकानेक आरोप एमाले र ओलीले व्यहोर्नु परेको पनि कसैले बिर्सेको छैन । पछिल्लो पटक विसं २०७९ को चुनावमा त एमाले, माओवादी, कांग्रेस सबैले उम्मेदवारी नदिएर मनाङगेलाई निर्विरोध नै बनाए । आज गण्डकी प्रदेशसभाको यस्तो अवस्था बनेको छ कि मनाङ्गेको साथविना कुनै पनि राजनीतिक दलको गाँस घाँटीबाट भित्र छिर्दैन । मनाङ्गेले अँगालो मारिदिएका दिन साथ पाउनेले तीन दिन तीन रातको भोको मान्छेले घ्यू-भात खान पाउँदा रमाए झैँ रमाउने गरेको छ । यसलाई राजनीतिको कुन स्वरूप मान्ने भन्ने आआफ्नै धारणाहरू हुनसक्लान् तर राजनीतिमा भित्र्याइन नहुने एउटा फोहोरी खेल भित्रिएको चाहिँ सबैले स्वीकार गर्न सक्नैपर्दछ ।
यद्यपि मनाङ्गेको विगत जे जस्तो भए पनि पछिल्लो समयमा भने गण्डकी प्रदेश सभाको अस्थिरतालाई स्थिरतामा बदल्ने काम भने उनले गरेका छन् । तीन वर्षमा छ पटक मन्त्री बने भनेर मनाङ्गे समाचारपत्रहरूका मुख्य शीर्षक बनेका छन् तर उनको यो कार्यको सकारात्मक पक्ष पनि रहेको छ । विसं २०७८ को वैशाख महिनामै प्रदेशसभाको मध्यावधि हुन लागेका बेला आफूलाई चुनाव जिताउन सहयोग गरेको एमालेलाई छाडेर नेपाली कांग्रेसलाई साथ दिई उनैले टारिदिएका थिए । विसं २०७९ को चुनावपछि पनि मनाङ्गेले कहिले यता त कहिले उता साथ दिने नगरेका भए अहिलेसम्म गण्डकी प्रदेशमा पाँचवटा चुनाव भइसक्थे होलान् ।
जनताको पैसा र समय जोगाउनुका साथै संघीयतामाथि उठेका प्रश्नहरूलाई केही साम्य पार्न उनले मद्दत गरेको जस्तै देखिएको छ, भलै उनले आफू मन्त्री बन्न नै यी कार्यहरू गरेका हुन् । अन्तिम पटकको फेरबदलमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र त्यसका सांसद् फणीन्द्र देवकोटाले समेत आफ्नो पद धरापमा राखेर गण्डकी प्रदेशको मध्यावधि चुनावलाई पर धकेल्ने काम गरेका छन् ।
मुलुकका लागि नेपाली कांग्रेस र एमालेले गहिरो सम्बन्ध विकास गर्न सक्दैनन् । देश र जनताको समृद्धिका लागि कांग्रेस-माओवादी वा माओवादी-एमालेको स्थायी सम्बन्ध बन्न सक्दैन । सर्प, बिच्छी र भ्यागुतो एकै ठाउँमा बसे झैँ कांग्रेस, एमाले र माओवादीहरू एकअर्काबाट सधैं त्रसित हुने र मित्रवत् सम्बन्ध सुधार गर्न नसक्ने भएका छन् । सर्पको खुट्टा सर्पले देख्छ भने झैँ एकअर्काका कमजोरी खोतल्न सक्रिय हुने तर सुधारिएर देश विकासमा केन्द्रित हुन नसक्ने जस्तै बनेका छन् । बरू मनांगेलाई नै लाइफ लाइन बनाएर अघि बढ्ने तर तीन दलका बीचमा सम्बन्ध सुधार नगर्ने आदत बसिसकेको छ । यही परिपाटीबाट देश कता जाने हो खोइ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच