
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाले राजनीतिक वृत्तमा अनेक बहस सुरु भएका छन् । दुई कार्यकाल गरी झण्डै साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएकी भण्डारी २०७९ फागुन २९ गते शीतलनिवास छाडेर बूढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नीसमेत रहनुभएकी भण्डारी पछिल्ला दिनमा एमालेको राजनीतिक कार्यक्रममा समेत सहभागी हुन थालेसँगै सक्रिय राजनीतिमा फर्कने चर्चा बढ्न थालेको हो । यही क्रममा भण्डारीले एमालेको सदस्यता समेत नवीकरण गरेका चर्चा भइरहेको छ । तर, भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको विषयबारे आधिकारिक पुष्टि भइसकेको छैन । यता, पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय राजनीतिमा फर्किने विषयको चर्चा भने सदनमा समेत प्रवेश गरेको छ । प्रतिनिधि सभामा भण्डारीको सक्रिय राजनीतिभन्दा पनि पूर्वराष्ट्रपतिको हैसियतमा पाइरहेको सरकारी सुविधाबारे बहस सुरु भएको हो ।
पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ कि मिल्दैन ? : खतिवडा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन ? भन्ने कुराको सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद खतिवडाले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्योबारे के सोचेको छ । सरकारले त्यसको जवाफ दिओस् । संविधानमा के छ ? त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु ।’
नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न एमाले सांसदको प्रस्ताव
सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गर्नुभएको छ । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नैपर्ने जिकिर गर्दै सांसद पन्तले भन्नुभयो, ‘केही दिनदेखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सिमाना हो । त्यसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ । हामी एकैचोटि पासपोर्ट सिष्टम लागू गर्ने चरणमा नजाउँला । तर,काँडे तार लाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिष्टममा हामी जानैपर्छ ।’
पाँच सय र एक हजारका नोट प्रतिबन्ध गरौँ : गुरुङ
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आर्थिक सुशासनको लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ । तत्काल पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध गरे गैरकानुनी कारोबार र भ्रष्टाचार रोकिने दाबी गर्दै गुरुङले भन्नुभयो, ‘आर्थिक सुशासनको लागि सरकारले पाँच सय र हजारको नोट क्विट गर्न सक्नुपर्छ । पाँच सय र हजारको नोट क्विट गर्दा ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । त्यसपछि सिरानीमुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा आउँछन् ।’
बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रम सुरु
विनियोजन विधेयक-२०८१ अन्तर्गत विभिन्न आठ मन्त्रालयको बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेक्रम सुरु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीले जवाफ दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकेर असार ७ गते संसद्बाट बजेट पास गर्ने तयारी छ ।
बजेटको मूल मान्यतामै त्रुटि भयो, पुनर्लेखन गर्नुपर्छ : लेखक
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटको मूल मान्यतामै त्रुटि रहेकाले पुनर्लेखन गर्नुपर्ने जिकिर गर्नुभएको छ । मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने,आफ्नै जिल्लामा लैजाने कुराले अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको टिप्पणी गर्दै लेखकले भन्नुभयो, ‘यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो । प्रतिपक्ष त झन् संयमित छ, सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनुपर्छ । भौतिक मन्त्रालयको बजेट त सिद्धान्तः नै गलत विनियोजन भएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ती मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो ? भनेर प्रश्न गर्नुपर्छ ।’
एमालेलाई रास्वपा सांसदको प्रश्न, ‘भ्युटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो ?’
सत्तारूढ दलको घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले एमालेको सरकार हुँदा भ्युटावरमा खर्चिएको पैसा स्टेडियममा खर्च नगरेर गलत भएको टिप्पणी गर्नुभएको छ । एमालेका सांसदहरूलाई त्यतिबेला भ्युटावर बनाउने कन्सेप्ट गलत थियो भन्ने स्वीकार गर्न आग्रह गर्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद ढकालले भन्नुभयो, ‘यो देशमा स्टेडियम बनाउने पैसा हुँदैन, बजेट हुँदैन अथवा अर्थमन्त्रीज्यूले दिनुहुँदैन । अलि पहिला तपाईंहरूको (एमालेका सांसदलाई संकेत गर्दै) पालामा देशैभरी बनेका भ्युटावर हेरौँ त कतिवटा बन्थ्यो स्टेडियम ? असरल्ल भ्युटावर बनाउने कन्सेप्ट गलत थियो । भन्नुपर्छ ।’
बस्नेतको टिप्पणी, ‘खेलाडी एयरपोर्ट पुगे तर विदेशमा खेल्न अरू नै उडे’
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा एयरपोर्ट पुगेका खेलाडी फर्किने तर अर्को चाहिँ विदेश उड्ने घटना धेरै भएको बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले बुधबार प्रतिनिधि सभाको बैठकमा भन्नुभयो, ‘अनावश्यक राजनीतिकरण भएको छ । जसले खेलाडीलाई निरुत्साहित गरेको छ । पहिले-पहिले एयरपोर्टमा पुगिसकेको खेलाडी फर्किने र अर्को मान्छे विदेश जाने घटना धेरै भएको छ । खेलकुद परिषद्मै स्वायत्त हुँ भन्ने, खेलकुद मन्त्री निरीह भन्ने संघहरू आफ्नै ठाउँमा उफ्रिने काम भएको छ । यी गडबडीले पनि खेलाडीलाई निरुत्साहित गराएको छ ।’
कांग्रेसले बोलायो संसदीय दलको बैठक
प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमाथि छलफल चलिरहेको बेला प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार असार ७ गते शुक्रबार संसदीय दलको बैठक आहृवान गरिएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा अपराहृन ३ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलको बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच