काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । १ जेठमा सर्वाेच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूर्ण इजलासले आइतबार पनि हेर्दाहेर्दैमा राखेको हो । अब अर्को सुनुवाइ सोमबार (आज) नै छ । आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट चार जनाले बहस गरे ।
प्रदेश सभामुख अम्बरबहादुर विष्टको तर्फबाट दुई जनाले बहस गरेका थिए । वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र कृष्णभक्त पोखरेलले बहस गर्नुभएको थियो । रिटमा प्रतिवादी बनाइएका तीनजना सांसदको पक्षको बहस आज हुनेछ । सर्वाेच्च अदालत स्रोतका अनुसार आज मुद्दाको किनारा लगाउने तयारी छ ।
कोशीका प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई २६ वैशाखमा पदमुक्त गर्दै सोही उपधाराअनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । नयाँ सरकार गठनविरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आहृवान बदर, प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गर्नुभएको छ ।
गण्डकीका मन्त्री देवकोटाको रिट ‘हेर्दाहेर्दै’ मा
गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाले दायर गरेको रिट आइतबार ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजालसमा रिट माथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । देवकोटा नेकपा (माओवादी केन्द्र) को चुनाव चिहृनबाट निर्वाचित हुनुभएको थियो । गएको जेठ २९ गते माओवादी केन्द्र संसदीय दलले उहाँलाई कारबाही सिफारिश गरेको थियो । सोही आधारमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले उहाँ सांसद पदबाट मुक्त भएको घोषणा गर्नुभएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा ‘फ्लोर क्रस’ गरेको भन्दै माओवादीले उहाँलाई ‘हृवीप’ उल्लंघनका आधारमा पार्टी परित्यागको कारबाही गरेको थियो ।
०७९ सालमा प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टीका प्रतिनिधि माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिहृनबाट चुनाव लड्नुभएको थियो । देवकोटाले आफू माओवादी पार्टी सदस्य नभएकाले कारबाही गर्न नसक्ने रिटमा जिकिर गर्नुभएको छ । आफू समाजवादी पार्टीको सांसद रहेको र विश्वासको मत दिन स्वतन्त्र भएको दाबीसहित गएको बिहीबार देवकोटाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच