![अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/corruption-case-against-the-incumbent-Chief-Secretary-Hita-fornt-page.jpg)
✍️ राजकुमार कार्की
ओखलढुंगा जिल्लाको आठ स्थानीय तहमध्ये एक लिखु गाउँपालिकामा सिँचाइको अभावले जग्गा बाँझै राख्नुपर्ने बाध्यता थियो । ‘जग्गा छ तर उत्पादन छैन’ जनता पीडामा थिए । प्रदेश सरकारको सहयोगमा पोकली खोला मुहान गरी सिँचाइ कुलो निर्माण भएपछि स्थानीयले सिँचाइ गर्न पाएका छन् । वडाध्यक्ष पुरुषोत्तम पौडेल भन्नुहुन्छ, ‘अहिले किसानले खेतीवालीमा मज्जाले सिँचाइ गर्न पाएका छन् । हिजोसम्म बाँझै रहने खेतबारीमा अहिले लहलह खेती देख्दा मनै आनन्द हुन्छ ।’
उब्जाउशील जमिन भए पनि पानी अभावका कारण स्थानीयले खेती गर्न सकेका थिएनन् । पानीको अभावले प्रायःकिसानका जग्गा बाँझै देखिन्थे । खेती गरेकाहरूको पनि पानीको अभावकाले सामान्य उब्जनीमात्रै गर्ने गरेका थिए । प्रयाप्त सिँचाइ अभावले उब्जाउशील जमिन भए पनि नागरिकले आफ्नो जमिनको उचित सदुपयोग गर्न सकेका थिएनन् । कुलो निर्माण सम्पन्न भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् । सिँचाइ उपलब्ध एपछि स्थानीय स्वरोजगार हुने र आयआर्जनमा वृद्धि हुनेमा विश्वस्त रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।
प्रदेश सरकारले ४ लाख ८८ हजार, संघीय सरकारले पनि चार लाख ८८ हजार, स्विस सरकारको अनुदान सहयोग सात लाख ३२ हजार र स्थानीय पालिकाको चार लाख ८८ हजार लगानीमा कुलो निर्माण गरिएको हो । तीनै तहको सरकारको लगानी र विदेशी सहयोग गरी जम्मा २१ लाख ९६ हजार लागतमा सम्पन्न भएको छ । ३०/३० सेन्टिमिटर उचाइ र चौडाइ आरसिसी ढलानसहित कुलो निर्माण भएको हो । एउटा इन्टेक, पाँचवटा आउटलेट, एउटा डिभिजन बक्समार्फत सिँचाइ निर्माण भएको छ । मुहानदेखि उपभोक्तासम्म कुलो निर्माण सम्पन्न हुँदा १३ सय मिटर लम्बाइ छ । ५ सय ३७ मिटर दुईतर्फी आरसिसी ढलान ७ सय ६३ मिटर एकतर्फी ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष हीराबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
कुलो निर्माण भएपछि उपभोक्तालाई आफ्नो खेतबारीमा सिँचाइ गर्न सहज भएको छ । बाह्रै महिना सिँचाइ हुनेमा ढुक्क भएको स्थानीय उपभोक्ता शंकरप्रसाद तिम्सिनालेले बताउनुभयो । कुलोबाट ८ हेक्टर जग्गा सिञ्चित हुनेछ । ९९ घरधुरीका उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसभन्दा अगाडि स्थानीयवासीको लगानी तथा पहल संरक्षणमा माटेकुलो सञ्चालन गर्दै आएका थिए । लामो दूरी र धेरै लगानी गर्नुपर्ने भएकाले सामान्य सानो पानी ल्याउन भने सफल भएका थिए । सानो पानीले प्रयाप्त मात्रामा सिँचाइ गर्न भने सकेका थिएनन् । कुलो मजबुत रूपमा निर्माण गर्न नसक्दा उपभोक्तालाई दैनिकजसो कुलो मर्मत गरिरहनुपर्ने हैरानी थियो ।
फाँटिलो टार र बेंसीमा सिँचाइ योजना
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा-८ टारकेराबारीमा सिँचाइकुलो निर्माण सम्पन्न भएपछि स्थानीय उत्साहित छन् । डुडेखोला मुहान गरी मसार टारकेराबारीको टारसम्म कुलो निर्माण सम्पन्न भएको हो । दुई किलोमिटर सात सय मिटर लम्बाइ भएको कुलो निर्माण सम्पन्न भई सुचारु भएको छ । प्रदेश सरकारको १६ लाख ४४ हजार, संघ सरकारको १६ लाख ४३ हजार ६ सय स्विटजरल्याण्ड सरकारको २४ लाख ५४ हजार र स्थानीय सरकारको १६ लाख ४३ हजार ६ सय गरी जम्मा ७३ लाख ८५ हजार २ सय लागतमा सिँचाइ कुलो निर्माण भएको हो ।
प्रदेश सकार, संघ सरकार, स्थानीय निकाय र दातृनिकायको सहयोगमा कुलो बनेपछि स्थानीयको अनुहारमा खुशीयाली छाएको लिखुगाउँ पालिका अध्यक्ष अशोककुमार कार्कीले बताउनुभयो । ‘उब्जाउशील जमिनहरूमा प्रयाप्त मात्रामा सिँचाइको प्रबन्ध गरे स्थानीयले बेरोजगार बस्नु पर्दैन’, अध्यक्ष कार्कीको विश्वास छ । आवश्यक्ता अनुसारको ठाउँमा आरसिसी ढलान गर्दै ४-४ को कुलो निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष विमलकुमार विष्टले बताउनुभयो । लिखु गाउँपालिका-८ को टारमा भएको मध्ये धेरैजसो जग्गामा सिँचाइ पुगेको छ । केही खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्नसकेको छैन । त्यसमध्ये २२ हेक्टरभन्दा धेरै जग्गामा सिँचाइ सुविधा पुगेको छ । लिखु गाउँपालिकामा सिँचाइमात्र होइन सडक निर्माणले पनि गति लिएको छ ।
पर्यटकीय सडक : पोकली-झर्ना र चम्पादेवी मन्दिर
पोकली ककनी पर्यटकीय सडक निर्माण योजना सुरु भएको छ । सय पर्यटकीय गन्तव्यमा सूचीकृत देशकै दोस्रो अग्लो पोकली झरनासम्म पुग्नेगरीको सडक निर्माण भइरहँदा स्थानीयमा समृद्धिको आशा पलाएको छ । झरना हेर्नकै लागि ठूलो आन्तरिक तथा बाहृय पर्यटक आउने विश्वास गरिएको छ । समुद्री सतहदेखि करिब दुई हजार २०० मिटर उचाइमा पोकली झरना छ । चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किँदा घामको झुल्को र अस्ताउने बेला इन्द्रेणी लाग्छ । लिखुखोलाको उत्तरपूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जंगलले ढाकेको गौरी वन निक्कै आकर्षक देखिन्छ । यो सडकले जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल श्रीचम्पादेवी मन्दिरसम्म पुग्न सहज हुनेछ ।
लिखु गाउँपालिकाको वडा-७ बाट चम्पादेवी गाउँपालिकाको श्रीचम्पादेवी मन्दिर जोड्ने पर्यटकीय सडक निर्माण सुरु भएको हो । कोशी प्रदेश सरकारको ५० लाख लगानीमा सुरु भएको योजना टेन्डरमार्फत काम भइरहेको छ । हिमाल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले निर्माण गरिरहेको छ । ८०० मिटर निर्माण सम्पन्न गर्नेगरी टेन्डर पाएको कम्पनीले लिखु गाउँपालिकाको वडा-७ स्थित राम्चे पहरामा काम गरिरहेको वडाध्यक्ष ताराबहादुर तामाङले जानकारी दिनुभयो ।
यो सडक पर्यटकीयस्थल पोकली झरना, कुण्डलेश्वर महादेव मन्दिर, लिखु गाउँपालिका वडा-५ यसम, मझुवा हुँदै चम्पादेवीको बिलन्दु सडकखण्ड हुँदै श्रीचम्पादेवी मन्दिरसम्म पुग्नेछ । हाल कोशी प्रदेशले सडक निर्माण गर्नका लागि बजेट ५० लाख विनियोजन गरेपछि सडक निर्माण गर्न सुरु भएको हो ।
यो सडक निर्माण सम्पन्न भएपछि चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका नागरिक लाभान्वित हुनुका साथै पर्यटन विकासका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ । पोकली झरनाको दृश्य अवलोकन गर्न आएका आन्तरिक तथा बाहृय पर्यटकलाई श्रीचम्पादेवी मन्दिरसम्म लैजाने र श्रीचम्पादेवी मन्दिरमा आएका धार्मिक पर्यटकलाई पोकली झरनासम्म लैजान सडकको निर्माण गरिएको गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले बताउनुभयो ।
सडक निर्माण सम्पन्न गर्न लिखुमै १८ सय मिटरभन्दा बढी बाँकी छ । चम्पादेवी गाउँपालिकाको भागमा पनि सडक निर्माण र सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । बजेट कम भएकाले समयमा सडक निर्माण सम्पन्न नहुने पालिका अध्यक्ष कार्कीले बताउनुभयो । कोशी प्रदेशले बजेटलाई निरन्तरता वा एकैपटक काम सम्पन्न हुनेगरी बजेटको व्यवस्था गरिदिए सडकको समयमै लाभ लिन सकिने प्रमुख कार्कीले आशा व्यक्त गर्नु भएको छ ।
पोकली झरना पुग्ने अर्को छोटो सडक बन्दै
लिखु गाउँपालिकाको वडा–ं९ स्थित पोकलीदेखि १ सम्मको नयाँ सडक निर्माण तथा स्तरोन्नति सुरु भएको छ । कोशी प्रदेशले विनियोजन गरेको २५ लाख बजेटले सडक निर्माण तथा स्तारोन्नति सुरु भएको हो । यो सडक लिखु गाउँपालिकाको वडा-९ बाट सुरु भई पीपलडाँडा हुँदै वडा-१ को चिउरीडाँडासम्म सञ्चालन हुनेछ । सडकको बीच भागको केही भूगोलमा नयाँ निर्माण गर्नुपर्ने, निर्माण सम्पन्न भएको भागमा पनि स्तर वृद्धि गर्नुपर्ने पालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
सडकको निर्माण हिमाल कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.ले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भएपछि पोकली झरनामा जाने आउने पर्यटकका लागि सबैभन्दा छोटो बाटो हुने छ । सडककको स्तरोन्नतिले हिँउदको समयमा सडक सहज सञ्चालन भए पनि वर्षाको समयमा सञ्चालन कठिन हुने हुँदा कालो पत्रेका लागि प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।
ओखढुंगा जिल्लाका स्थानीय तहमध्ये एक हो लिखु गाउँपालिका । यो पालिका जिल्लाको पश्चिमी भेगमा छ । रामेछाप जिल्लासँग सिमाना जोडिएको यो पालिकाको लिखु नदीले सिमाना छुट्याएको छ । लिखु गाउँपालिकाको जिल्ला सदरमुकामसँग सिधा पहुँच छैन । सदरमुकाम जान रामेछापको मन्थली, सिन्धुलीको खुर्काेटको मोटरबाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
रामेछापकको साँघुटार बजारबाट घोराखोरी फेदीगुठ हुँदै सदरमुकामसम्म मोटराबाटो जोडिएको भए पनि नियमित यातायातका साधन सञ्चालन हँुदैनन् । लिखु गाउँपालिकालाई आफ्नै जिल्ला हुँदै जिल्ला सदरमुकाम पुग्ने सडकको स्तरोन्नति र नियमित सडक सञ्चालन गर्नुपर्ने स्थानीय अञ्जु श्रेष्ठको माग छ । लिखु गाउँपालिकाको विकास गर्न साना योजना गाउँपालिकाको बजेटले सम्भव हुने तर ठूलो आयोजना बजेटको अभावले योजना सञ्चालन गर्नै नसक्ने पालिका अध्यक्ष कार्कीले बताउनुभयो । ठूला खालका योजना सञ्चालन गर्न प्रदेश सरकारले नै लगानी गरी योजना सुरु गरिदिए हुने प्रमुख कार्कीले बताउनुभयो ।
उहाँका अनुसार, लिखु गाउँपालिकाको सबै भूभाग उर्बर भएकाले विभिन्न ठाउँमा कृषि उत्पादन गर्न बजारीकरण गर्न बजेटको व्यवस्था, वडाका सबै टोलमा विद्युतीकरण, सडक स्तरोन्नति तथा कालोपत्रे, शिक्षालाई प्राविधिक र व्यावहारिक बनाउन लगानी गर्ने लगायत दीर्घकालीन योजनामा सहयोगको अपेक्षा रहेको बताउनुभयो । पाँच शैय्याको अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र त्यसको सञ्चालन आवश्यक सहयोग आवश्यक्ता रहेको बताउनुभयो । प्रदेशले आवश्यक नीति नियमको निर्माण गरी स्थानीय रूपमा रोजगारी सिर्जना गर्ने खालका दीर्घकालीन योजना अध्ययन गरी त्यसमा लगानी गर्दा समग्र लिखु गाउँपालिको विकास हुने प्रमुख कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच