असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताउनुभएको हो । उहाँले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्छ्याैटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउनु भयो । सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलका कार्याकर्ताहरुलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरु, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भएपनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फर्छ्याैट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन । बाढी पहिरोले ठूलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ । पार्टीको कार्यकर्ताहरुलाई पनि तत्काल सम्बन्धित पार्टीहरुले निर्देशन दिनुपर्छ ।’

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले दुध र उखु किसानहरुको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?