
लेखक : योइरी रोयल्ज
अनुवादक : नारायणप्रसाद घिमिरे
लण्डन-विश्व तातिरहेको छ, र हाम्रा राजनीतिक नेताहरू हामीलाई असफल बनाइरहेका छन् । तापक्रम तीव्र गतिमा बढिरहँदा, विश्वको तापमान दर अझै १.५ डिग्रीमै सीमित राख्न सकिन्छ भनी विश्वास गर्नेेहरूको संख्या अब हृवात्तै घट्दै छ । विश्व तापमान वृद्धिदर १.५ डिग्री सेन्टिग्रेडभित्रै सीमित गर्ने अवसर हुँदाहुँदै पनि विश्वभर जलवायु पहल अपूर्ण भएकाले जटिलता निम्त्याएको छ । देशहरू जलवायुसम्बन्धी पेरिस सम्झौताअन्तर्गतका उत्तरदायित्व पूरा गर्न असफल हुँदै छन् । केही घागडान टिप्पणीकारले तापमान वृद्धिको १.५ डिग्रीको लक्ष्य प्राप्ति ‘निक्कै कठिन र खर्चिलो’ भने पनि मेरो निष्कर्ष भने यो लक्ष्यविपरीत छ-वृद्धिदरको १.५ डिग्री लक्ष्य सदा कायम रहनेछ ।
निश्चय नै, विश्व यतिखेर खराब अवस्थामा गुज्रिरहेको छ । औद्योगिक युगको सुरुवातदेखि जारी हरितगृह ग्यास (जिएच्जी) उत्सर्जनले पृथ्वीको तापक्रम झण्डै १.३ डिग्री सेन्टिग्रेडले बढिसकेको छ । यो जानकारी यस वर्षको विश्व जलवायु परिवर्तनका सूचक नामक वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, मेरो आफ्नै र अन्य अध्ययनहरूले पनि जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण उद्देश्य प्राप्त नभएको देखाएका छन् । हाल अपनाइएका नीतिमाथि विचार गर्दा, विश्वको तापक्रम यो शताब्दीको अन्त्यसम्ममा २.५ देखि ३ डिग्री सेन्टिगे्रडले बढ्ने अनुमान गरिएको छ ।
यदि विश्वका सरकारहरूले आफ्ना वर्तमान प्रतिबद्धता पूरा गरे भने पनि विश्व उष्णता दर १.५ डिग्री सेन्टिगे्रडमा कायम राख्ने चुनौती कम छैनन् । जीवाष्म इन्धन उद्योगहरूले अपनाएको ढिलासुस्तीको रणनीति, ग्राहक लोभ्याउन वातावरणसम्बन्धी झुटा सन्देश प्रवाह गरी व्यापार जमाउने खेल र आफैंले वाचा गरेको उत्सर्जनको उद्देश्यबाट पछि हट्ने कुराले स्पष्ट गर्छ कि १.५ डिग्री सेन्टिग्रेडको वृद्धिदर तलै रहने कुरामा झिनो आशामात्रै छ । फलस्वरूप, जलवायु वैज्ञानिकहरू विश्व तापमान वृद्धिको १.५ डिग्री सेन्टिग्रेडको सीमा तोडिने अनुमान गर्छन् ।
यद्यपि, सुरक्षा सीमा बढाए पनि चुनौती यथावत् रहनेछन् । तापमान वृद्धिको १.५ डिग्री नाघेर गए पनि पेरिस सम्झौता अनुरूपका जलवायु प्रतिबद्धता भने कायमै रहन्छन् । १.५ डिग्री राजनीतिक लक्ष्य हो तर यसको प्राप्तिका लागि गर्नुपर्ने कार्य व्यवहारमा देखिएन । यो वैज्ञानिक रूपमै तय गरिएको सीमा हो, जसको वकालत सुरुमा साना टापु राष्ट्रले र विस्तारै महत्वकांक्षी राष्ट्रहरूको बृहद् समूहले गरेका थिए ।
एक थरी विश्लेषकले विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमै सीमित गर्ने लक्ष्य निक्कै खर्चिलो र कठिन छ भने पनि जलवायु परिवर्तनको घातक असर सामना गर्न हाम्रा प्रयासहरू निक्कै निम्छरा छन् । न्यून प्रभावको परिस्थिति सामाना गर्न सक्ने अवस्थासमेत छैन ।
अहिलेसम्मका घटनाक्रमलाई नियाल्दा, विश्व तापमान १.५ डिग्री सेन्टिग्रेडले बढ्न दिनुभनेको सरकारहरूलाई यो चेतावनी हो कि यसले धान्नै नसकिने सामाजिक चुनौती खडा गर्छ, विकासको अवमूल्यन गर्छ र संकटापन्न समुदाय र तिनीहरूको संस्कारको पहिचान जोखिममा पार्छ । त्यतिमात्र होइन, ‘सुरक्षित’ र ‘असुरक्षित’ तापक्रम वृद्धिबीचको रेखा धमिलो हुँदै छ । विश्वभर देखापरेको जलवायु परिवर्तनको घातक असरले भन्छ-१.५ डिग्री सेन्टिग्रेडको तापक्रम वृद्धि पनि खतरनाक छ र हाम्रा समुदायहरूमा यो विपद् सामना गर्ने तयारी फितलो छ ।
विगत २० वर्षमा विश्व एक डिग्री सेन्टिग्रेडले तात्दा कस्तो भयो हामीले अनुभव ग¥यौं । विश्वको कुनै पनि क्षेत्र उष्णताबाट अछुतो रहेन- विभिन्न देशमा आगलागी, बाढी, हुरीका घटनामा बढोत्तरी भयो । यी घटनामा भएको मानवीय तथा आर्थिक क्षति एक देशमा मात्र सीमित रहेन । सन् २००० देखि २००९ सम्म भएका जलवायुसम्बन्धी विपद्मा ५ लाखभन्दा बढी मानसिले ज्यान गुमाए, जहाँ २०० खर्ब डलरभन्दा बढी धनमालको क्षति भयो र ४ अर्ब जति मानिस प्रभावित भए ।
विश्वमा १.५ डिग्री सेन्टिग्रेडको दरमा तापक्रम वृद्धि हुँदा पनि सातमध्ये एक प्रजातिको लोप हुन्छ, उष्णक्षेत्रको समुद्री चट्टानजस्ता संवेदनशील पारिस्थितिक प्रणालीको विनाश हुन्छ र हाम्रा पुर्खाले उनीहरूको जीवनकालमा जम्मा एकपटक अनुभव गरेको अतिशय तापलहरले हामीलाई हरेक छ/छ वर्षमा सताउँछ । बरफ पग्लिएर समुद्री सतह बढ्छ र विश्वका प्रमुख शहरहरू जस्तै लण्डन, न्यूयोर्क, सांघाई र कलकत्ताजस्ता शहरहरूमा बाढी पस्छ । गरिबीबाट मुक्ति पाउन संकटापन्न र सीमान्तकृत समुदायले गरेका पहल कमजोर हुने छन् र हरेक देशको आर्थिक विकासमा अवरोध खडा हुनेछ ।
त्यसैले विश्व तापमान वृद्धि सीमाभित्र राख्नु भनेको सामाजिक न्याय हो, मानवअधिकार हो र दीर्घकालीन विकास हो । तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेड पार भए पनि यो सीमा नकटाउने हाम्रा प्रयास भने कायम रहनै पर्छ । यदि १.५ डिग्री सेन्टिग्रेडको सीमापार भयो भने यसले सोच्दै नसोचेको राजनीतिक असर निम्त्याउँछ । व्यवस्थापन गर्न सकिने जलवायुजन्य क्षति बढ्दा क्षतिपूर्तिका लागि दाबी पनि बढेर जानेछन्, साथै जिएचजी उत्सर्जन घट्नुको राजनीतिक सन्दर्भ उही पेरिस सम्झौताका प्रावधानले पहिल्यै उल्लेख गरे झै हो ।
विश्व तापक्रम वृद्धि रोक्नका लागि पेरिस सम्झौता अनुसार यसका सदस्य राष्ट्रहरूले उत्सर्जन कमीका योजना कार्यान्वयन गर्नुपर्छ । ती योजनामा ‘अधिकतम सम्भाव्य लक्ष्य’ झल्किनुपर्छ । सरकारहरूले यो लक्ष्य पूरा गर्न नसक्दा १.५ डिग्री सेन्टिग्रेडको सीमापार हुँदा पनि उनीहरूका उत्तरदायित्व परिवर्तन हुने छैनन् । तापक्रम वृद्धि जारी रहँदा यी प्रतिबद्धता पूरा गर्नु नै अहिलेको वास्तविक आवश्यकता हो । तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडको सीमा नजिक राख्न हाम्रो अवस्था सुधार गर्ने एकमात्र उपाय भनेको सन् २०३५ सम्म हरेक वर्ष महत्वाकांक्षी तात्कालिक उत्सर्जन कटौतीप्रति प्रतिबद्ध हुनु र कार्यान्वयन गर्नु नै हो ।
यदि १.५ डिग्री सेन्टिग्रेडको सीमा नाघ्ने कुरा हामी टार्न सक्दैनौं भने यो सीमा सान्दर्भिक नै रहन्छ । अतः विश्व जलवायु पहलले बढ्दो तापक्रम दरलाई १.५ डिग्री सेन्टिग्रेडको सीमाभित्रै कायम राखी जतिसक्दो चाँडो सुरक्षित अवस्थामा फर्किनुपर्छ । खुद शून्य जिएच्जी उत्सर्जन गर्ने पेरिस सम्झौताको लक्ष्यले हामीलाई उर्लदो तापक्रम वृद्धिलाई घटाउन सहयोग गर्छ । सुरक्षित, बसोवासयोग्य र न्यायसंगत विश्व निर्माणका लागि हामीले तापक्रम वृद्धिदरको यो १.५ डिग्री सेन्टिग्रेडको सीमा ननाघौं र यो प्राप्ति हाम्रो उच्च प्राथमिकतामा राखौं ।
(स्रोत : प्रोजेक्ट सिन्डिकेट, जुन ५, २०२४)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच