विज्ञापनसम्बन्धी आचारसंहिता लागू, कार्यान्वयनमा सञ्चारमन्त्री कार्कीको जोड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसंहिता लागू भएको छ । आइतबार काठमाडौंमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्नुभएको हो ।

३८ पृष्ठको आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ । सो क्रममा मन्त्री कार्कीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । आचारसंहिताले आउँदो सातादेखि नतिजा दिन थाल्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी सो आचारसंहिता जारी गरिएको बताउनुभयो । ‘विज्ञापन बजारमा देखिएको विसंगतिहरूलाई सम्बोधन गर्न सक्ने समाधानमुखी एउटा आचारसंहिता तयार भएको छ । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही जटिलताहरू आउलान् । त्यसलाई विज्ञापन बोर्डले सहजीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘सञ्चार संस्थाहरू टिकाउका लागि पनि विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोहीअनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नेछ ।’

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका संघ-संस्थालगायत सरोकारवालासँग पटक-पटक छलफल गरिएको जानकारी दिनुभयो । आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने काम नेपाल सरकारले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

आइतबारबाट लागू भएको सो आचारसंहितामा १३ परिच्छेद रहेका छन् । नेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू गरिएको हो । विगतमा मिडियासम्बन्धी अरू कानुन वा आचारसंहितामा मात्रै विज्ञापनका थोरै विषय समेटिएको थियो । कार्यक्रममा सञ्चारिका समूहका प्रतिनिधि र सञ्चार मन्त्रालयका सचिवको उपस्थिति थियो ।

नेपाल विज्ञापन संघद्वारा स्वागत
आइतबारबाट लागू भएको आचारसंहितालाई नेपाल विज्ञापन संघ (आन)ले स्वागत गरेको छ । आनले एक विज्ञप्ति जारी गर्दै यसको स्वागत गरेको हो । यसबाट सिंगो विज्ञापन क्षेत्र उत्साहित भएको भन्दै आनले यो संहिताबाट विज्ञापन चक्रका पाँचवटै पक्षलाई सहयोग पुग्ने जनाएको छ ।

आचारसंहिताले विज्ञापन व्यवसायीहरूका सुझावलाई केही मात्रामा समेटेको पनि बताइएको छ । ढिलै भए पनि आएको यो संहिताले देशमा विज्ञापन क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउँदै उपभोक्ताको वस्तु वा सेवाको बारेमा जानकारी पाउने अधिकारलाई सुनिश्चित गरेको आनको भनाइ छ ।

ऐन, नियम, नीति र कानुन आउनुभन्दा पनि त्यो कार्यान्वयनमा जानु महत्वपूर्ण हुने भन्दै आनले यो आचारसंहिता तत्काल लागू गर्न आवश्यक रहेको र यसलाई कार्यान्वयन गर्दै समयानुकूल सुधार गर्नु तथा व्यवसायीहरूको मागहरूलाई सम्बोधन गर्न सकेमा संहिता प्रभावकारी हुने जनाएको छ । विज्ञापन बोर्डलाई विज्ञापन बजारको विस्तार, प्रवद्र्धन, संरक्षण र विकासमा बोर्डले चालेका कदमहरूमा हातेमालो गर्न आन सदा तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?