घनेन्द्र ओझा नेपाली साहित्यमा विशेषगरी कविता, गजल, मुक्तकफर कथामा सक्रिय हुनुहुन्छ । समालोचनामा पनि क्रियाशील उहाँका विभिन्न विधा र सिद्धान्त/समालोचनाका दर्जनजति कृतिहरू प्रकाशित छन् । ओझाका हालसम्म प्रकाशित साहित्यिक कृतिहरूमा ‘आफ्नै चिहानमा टेकेर,’ २०६२, ‘बल्झेर याद तिम्रो’, २०६२, ‘बाटो अझै छ बाँकी’, २०६५ (राधा कणेलसँग संयुक्त) गजलसंग्रहहरू तथा ‘दुल्हा राजा आउनुभो’, २०६९ बालगजलकृति प्रकाशित छन् । उहाँका ‘एउटा अर्को संग्रामको घोषणा’, २०६५ र ‘असमान पहाडहरू’, २०७८ कविताकृति पनि प्रकाशित छन् । ‘नेपाली गजलः विगत र वर्तमान’, २०६४ (संयुक्त), ‘गजल कसरी लेख्ने ?’, २०६६ (संयुक्त), ‘नेपाली गजलः सिद्धान्त र विवेचना’, २०६७ र ‘गजलज्ञान’, २०७१ जस्ता गजलका सैद्धान्तिक/समालोचनात्मक पुस्तकहरूसमेत लेखिसक्नुभएका ओझाले नेपाली गजललाई परिष्कार गर्ने र छिरलिएको नेपाली गजललाई सैद्धान्तिक मार्गमा ल्याउने प्रयत्न विगत दुई दशकदेखि गर्दै आउनुभएको छ । उहाँले ‘बहरमाला’, २०६३, ‘गजलमाला’, २०६६ संयुक्त छन्द÷बहरबद्ध गजलकृतिहरू, १९ वटा भाषाको ‘राष्ट्रिय भाषाका गजलहरू’, २०६९, समस्यापूर्ति संयुक्त गजलकृति ‘छातीभरि दुख्छ देश’, २०७२, ‘गजल बहस’, २०७१, गजलप्रधान पत्रिका ‘अनाम’ तथा ‘अनाममण्डली’ स्मारिकाको सम्पादनसमेत गर्नुभएको छ । ओझाको शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको एल्बम ‘शुभेच्छा’ बजारमा आएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको उक्त एल्बममा ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, सन्तोष श्रेष्ठ, निशा देशार र अस्मिता अधिकारी गरी नेपाली गायनका चार पुस्ता समेटिएको छ । अनाममण्डलीका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष, यसरी नै अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका संस्थापक महासचिव तथा हाल अध्यक्ष, नेपाली लेखक संघका पूर्वसचिव हुनुहुन्छ ओझा ।
नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध गजलकृति ‘बल्झेर याद तिम्रो’, २०६२ प्रकाशन, नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘बहरमाला’, २०६३ र दोस्रो छन्द/बहरबद्ध संयुक्त गजलकृति ‘गजलमाला’, २०६६ सम्पादन तथा नेपाली गजलमा पहिलो बहरबद्ध गजल एल्बम ‘शुभेच्छा’ प्रकाशन गर्ने घनेन्द्र ओझासँग हिमालय टाइम्स दैनिकका लागि कृष्ण भुसालले गर्नुभएको गजल संवादको संक्षिप्त अंशः-
तपाईंका अभिव्यक्तिमा गजल लेखनप्रति पूरै असन्तुष्टि देखिन्छ, किन ?
पूरै असन्तुष्टि त नहोला किनभने पछिल्लो समय नेपाली गजल परिष्कारको बाटोमा अघि बढिसकेको छ । यसमा त सन्तुष्ट हुनैपर्छ । तर, पूरै सन्तुष्ट हुन भने सकिएको छैन किनभने नेपाली गजल लेखनमा अझै विकृति, गलत बुझाइ, गलत सिकाइ र गलत अभ्यास व्याप्त छन् ।
कसरी विकृति, गलत बुझाइ, गलत सिकाइ र गलत अभ्यास व्याप्त छन् ?
पहिलो कुरा त हाम्रो सिकाइको परम्परा नै ‘अथोरिटी’ अर्थात् जान्ने/बुझ्ने भनिएकाले भनेको सही मान्ने भन्नेबाट भयो । ज्ञान आर्जनका चारवटा तरिकाहरू अन्तर्बोध, अनुभव, विश्वास र वैज्ञानिकमध्ये हामीले विश्वासमा बढी विश्वास गरेका छौँ । हाम्रा अग्रजले/गुरुले/दाजुले भनेकाले त्यही सही भनिरहेका छौँ । उहाँहरू कत्तिको सही हुनुहुन्छ भनेर जाँचेनौँ, परीक्षण गरेनौँ र उहाँहरूसँग प्रश्न पनि गरेनौँ, जसका कारण उहाँहरूले सिकाएका कतिपय गलत कुराहरूलाई पनि सही ठानेर हामी पनि गलत नै भइरहृयौँ । तर, विश्वास गर्नुपर्नेचाहिँ वैज्ञानिक तरिकामा थियो । वैज्ञानिक तरिकामा चाहिँ हरेक कुराको परीक्षण, जाँच र पुनर्जाँच भइरहन्छ । यसले गलत भएका ठाउँमा सच्याइरहन्छ आफूलाई ।
गजल बहरमा लेख्नुपर्छ भनेको छैन मैले । मैले त गजल बहरमा मात्र लेखिँदो रहेछ भनिरहेको छु किनभने घनेन्द्र ओझाले भनेको सिद्धान्त होइन, सिद्धान्तले भनेको चाहिँ घनेन्द्रले भनेको हो । गजलको सिद्धान्तले नै गजल बहरमा मात्र लेखिन्छ, बहरमा नलेखिएका रचना गजल हुन सक्दैनन् भन्दो रहेछ । तर, बहरमा लेख्दैमा मात्र पनि कुनै पनि रचना गजल नहुने रहेछन् । गजल बन्नका लागि त न्यूनतम तीनवटा कुरा अति आवश्यक रहेछन्- काफिया, बहर र शिल्प वा उक्तिवैचित्य ।
गजलको पछिल्लो विवाद लयमा बढी देखिन्छ किन ?
नेपाली गजलको २०५० सालयता २०६० सालको सुरुसम्म गजलमा काफियाको बहस खुब चल्यो । कुन र कस्ता शब्दलाई काफिया मान्ने, कुन र कस्ता शब्दलाई काफिया नमान्ने भन्ने बहसमा अल्झियौँ हामी । यद्यपि, हिन्दी/उर्दूमा मानिने काफिया फरक रहेछन्, हामीले मान्ने फरक रहेछन्, यसबारे धेरैलाई जानकारी अझै छैन ।
काफियाको बहस चलिरहँदै २०६० को दशकको सुरुमै लय अर्थात् बहरबारे बहस तीव्र बन्यो, जुन आजसम्म पनि जारी छ । लयको बहस लामो समय चलिरहनुमा गजलको शास्त्रीय स्वभाव नै गेय हुनुपर्ने रहेछ । सिर्जनालाई गेय बनाउने उचित तत्व लय हो । तर, गजलको लय भिन्न हुने रहेछ । गीतका लय गजलका लय होइन रहेछन् । गजलकै लागि भनेर छुट्टै लय निर्माण भएका रहेछन्, जसलाई बहर भनिँदो रहेछ ।
बहर भनेका शास्त्रीय छन्द रहेछन् । संस्कृतका पिंगल छन्द जस्तै फारसीका छन्दहरूलाई बहर भनिने रहेछ । ती बहरहरूमा ह्रस्व-दीर्घको एकरूपता हुने रहेछ, यति र गतिको समानता हुने रहेछ र यस्ता बहरमा लेखिएका गजल स्वतः गेय हुने रहेछन् । सँगसँगै गजल गायन अर्धशास्त्रीय हुने परम्परा रहेछ । उक्त परम्पराअनुसार संगीत गर्न र गाउन पनि बहर आवश्यक पर्ने रहेछ । अर्कातर्फ, गजलका हरेक शेरमा काफियाको बन्धन/अनुशासनमा पनि बहरको भूमिका हुने रहेछ ।
यी आदि कारण गजलमा बहरको अनिवार्यता र आवश्यकताबारे बहस भइरहँदा विवाद उठ्यो । यसरी विवाद उठ्नुका कारण केही छन् । पहिलो कारण- लामो समय बहरबारे जानकारी नभई गजलका नाममा सिर्जना गरिरहेकाहरूलाई आफ्ना सिर्जनाप्रतिको माया अर्थात् आफ्ना सिर्जना गजल नहुने डर । दोस्रो कारण- अब आएर बहर सिकेर बहरमा अभ्यास गरेर उत्कृष्ट सिर्जना गर्न सम्भव नदेख्नु । तेस्रो कारण- गजलको शास्त्रीयताबारे अध्ययन, खोजमा रुचि नहुनु ।
चौथो कारण- माथि भनिएझैँ अग्रजप्रति बढी विश्वास गर्नु तर अग्रजका ज्ञान/सिकाइको परीक्षण नगर्नु/प्रश्न नगर्नु ।
यी आदि कारणले मात्र लयमा विवाद बढेको हो तर जो-जो विवादमा छन्, उनीहरूलाई पनि, धेरैजसोलाई गजलमा बहरको आवश्यकताबारे महसुस भने भइरहेको देखिन्छ । विस्तारै बुझ्लान् र परिष्कृत होलान् ।
गजल बहरमा लेख्नुपर्छ भन्नुहुन्छ अनि बहरमा लेखिएका गजल भएनन् पनि भन्नुहुन्छ किन ?
गजल बहरमा लेख्नुपर्छ भनेको छैन मैले । मैले त गजल बहरमा मात्र लेखिँदो रहेछ भनिरहेको छु किनभने घनेन्द्र ओझाले भनेको सिद्धान्त होइन, सिद्धान्तले भनेको चाहिँ घनेन्द्रले भनेको हो । गजलको सिद्धान्तले नै गजल बहरमा मात्र लेखिन्छ, बहरमा नलेखिएका रचना गजल हुन सक्दैनन् भन्दो रहेछ । तर, बहरमा लेख्दैमा मात्र कुनै पनि रचना गजल नहुने रहेछन् । गजल बन्नका लागि त न्यूनतम तीनवटा कुरा अति आवश्यक रहेछन्- काफिया, बहर र शिल्प वा उक्तिवैचित्य ।
यसो भन्नुको अर्थ गजलमा हरेक शेरमा अनुप्रासयुक्त शब्द अर्थात् काफिया, हरेक मिसरा वा पंक्तिमा एउटै लय अर्थात् शास्त्रीय बहर र हरेक शेरमा चामत्कारिक प्रस्तुति अर्थात् उक्तिवैचित्यता अनिवार्य रहेछन् । यीमध्ये कुनै एकको अभावमा ती शेर बन्दैनन् र शेर नबनेपछि त्यो रचना गजल हुँदैन ।
यसकारण बहरमा लेख्दैमा रचना गजल हुँदैन । उक्त रचनामा बहरसँगै काफिया र उक्तिवैचित्यता पनि हुनै पर्छ ।
अर्कातर्फ, पछिल्लो समय बहरका नाममा जसरी लेखिँदै छ, त्यो बहर होइन । उर्दू, हिन्दीको नक्कल गरेर जुन शब्द प्रयोग गरेर बहर भनेर लेखिँदै छ, त्यसले हाम्रो मानक भाषा, वर्णविन्यास र व्याकरणिक व्यवस्था ध्वस्त बनाउँदै छ । लचकता/छुट/मिलावटका नाममा गरिएका यस्ता प्रयोगले मानक नेपाली भाषालाई हिन्दीकरण गरिरहेको छ भने जथाभावी ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व मानिदिने बुझाइले रचना बहरमा हुँदैन । बहरमा पनि मानक भाषा र वर्णविन्यासकै प्रयोग जरुरी छ । भाषा र वर्णविन्यासका मानक भत्काइएका रचना बहरमा हुँदैनन् ।
उर्दू, हिन्दीमा मात्रा गिरावट, चढावट, मिलावटलाई ‘कठिन बाटोमा बैसाखीको सहारा’ वा ‘अड्को पड्को तेलको धूप’का रूपमा मात्र स्विकारिएको छ तर हामीले यसलाई अनिवार्य गर्नै पर्ने भनेर जबर्जस्ती प्रयोग गरिरहेका छौँ । हामीलाई शब्दभण्डार बढाउन, खोज्न, वैकल्पिक शब्द खोज्न जाँगर छैन ।
सँगसँगै बहरमा छुट लिन सकिने र नसकिने अवस्थाबारे पनि जानकार छैनौँ । विशेषगरी तीन अवस्थामा छुट लिन पाइँदैन- संस्कृत तत्सम शब्दमा, नाम पदमा र दुई अर्थ दिने शब्दमा ।
हामीलाई संस्कृत तत्सम शब्द कुन-कुन हुन् भन्ने जानकारी नभई छुट लिइरहेका छौँ । यस्ता शब्द हजारौँ छन्, त्यो कतिलाई थाहा होला ? नामपद अनेक छन्- व्यक्तिवाचक, भाववाचक, समूहवाचक, द्रव्यवाचक, स्थानवाचक । यस्ता नामपदबारे हामीलाई कति थाहा छ ? ह्रस्वलाई दीर्घ, दीर्घलाई ह्रस्व बनाउँदा/उच्चारण गर्दा अर्को अर्थ लाग्ने धेरै शब्द छन्, त्यस्ता शब्दबारे हामी कति जानकार छौँ ? अहिले बहरका नाममा यी विकृति र बेवास्ताको क्रम तीव्र छ । यसरी लेख्नु बहरमा लेख्नु होइन, लहडमा लेख्नु मात्र हो ।
गजलमा विद्यावारिधि गरेकाहरूलाई र वर्षौंदेखि गजल लेखिरहेकाहरूलाई गजल थाहै छैन भन्नुहुन्छ तपाईं, यसो भन्ने आधार के हुन् ? तपाईंलाई थाहा छ भन्ने आधार के हुन् ?
वास्तवमै गजलका विषयमा विद्यावारिधि गर्नुभएका व्यक्तित्वहरूले गजल सिद्धान्तमा नभएर परम्परा, प्रवृत्ति, रस, व्यंग्य जस्ता विषयमा विद्यावारिधि गर्नुभएको रहेछ । यसो भएकाले उहाँहरूलाई गजल सिद्धान्तबारे अध्ययन, खोजी गर्नु आवश्यक नै परेनछ । उहाँहरू गजलसिद्धान्तको महासागरको किनारै किनार हिँडेर ‘मैले महासागरमा डुबुल्की मारेको छु’ भन्नुहुँदो रहेछ । यसको दुर्भाग्यचाहिँ उहाँहरूले गजल सिद्धान्तबारे पर्याप्त ज्ञान लिन सक्नुभएनछ । यसो भनिरहँदा ‘घनेन्द्रलाई चाहिँ गजलबारे के थाहा छ त ?’ भन्ने प्रश्न स्वाभाविक रूपमै उठ्छ । मलाई पनि गजलबारे थोरै मात्र ज्ञान छ । गजल महासागर रहेछ, यसभित्र पसेपछि जति भित्र छिरिन्छ, उति गहिरोमा फसिने रहेछ । मलाई कम्तीमा यति थाहा भयो/छ, उहाँहरूलाई चाहिँ यति थाहा पाउन नै धेरै वर्ष लाग्ला भन्ने लाग्छ किनभने उहाँहरू डा. उपाधि लिइसकेपछि अध्ययन सकिएको ठानेर जति थेसिसका लागि पढ्नुभयो/खोज्नुभयो, त्यसमै सीमित रहन चाहनुभएछ । यो तथ्य उहाँहरूका लेखाइ/बोलाइबाट पनि बुझिन्छ । तथापि, केही डा. साबहरू उपाधि पाएपछि ज्ञानको दायरा बढाउने प्रयासमा देखिनुहुन्छ ।
बहरबद्ध गजलको पहिलो एल्बम भनेर ‘शुभेच्छा’ ल्याउनुभएको छ, यसको आवश्यकता किन पर्यो ?
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत र मेरो रचनामा पाँचवटा बहरबद्ध गजलहरूको एल्बम ‘शुभेच्छा’ ल्याएका छौँ । यसमा नेपाली गायनका चार पुस्ताको स्वर समेटिएको छ । अग्रज गायिमा ज्ञानु राणाले आफ्नो साढे पाँच दशकको गायन यात्रामा पहिलोपटक यही एल्बममा गजल गाउनुभएको छ भने प्रसिद्ध गायक आनन्द कार्की, लोकप्रिय र चर्चित गायक/गायिका शिव परियार, निशा देशार र सन्तोष श्रेष्ठ तथा पछिल्लो पुस्ताकी प्रिय गायिका अस्मिता अधिकारीको स्वर छ ।
यो एल्बम किन ? भन्ने प्रश्नमा अहिले नेपाली गजल लेखनले समातेको परिष्कारको मार्गमा अब गायनमा पनि परिष्कृत गजलले तीव्रता पाउनुपर्छ भन्ने सोचले यो एल्बम ल्याइएको हो । गजल गायनमा पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने प्रयास पनि हो यो । सँगै अबको नेपाली गजल गायनको बाटो निर्माण गर्ने सानो लोभ पनि हो । यही लोभकै परिणाम होला, तपाईंले प्रश्नमै उल्लेख गर्नुभएको ‘बहरबद्ध गजलको पहिलो एल्बम’ हुने सौभाग्य ‘शुभेच्छा’ले पाएछ ।
भर्खरै प्रत्यक्ष गजल गायन पनि गर्नुभएको छ र आगामी १० वर्षलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ बनाउने भन्नुभएको छ, यसका आधार के हुन् ?
हजुर, कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल संगीत र स्वरमा गजलकार राधा कणेल र मेरा शब्दमा गत जेठ १९ गते प्रत्यक्ष गजल गायन सम्पन्न भयो । उक्त कार्यक्रमलाई अग्रज साहित्यकार डा. भोजराज घिमिरे, साहित्यिक अभियन्ता बाबू त्रिपाठी तथा दुई दर्जन संघसंस्थाको सहयोग, साथ र सहकार्य रहृयो । सोही क्रममा हामी सन्तोषजी र मैले नेपाली गजल लेखनमा आइरहेको परिष्कारसँगै परिष्कृत गजल गायनलाई पनि तीव्र बनाउने भन्दै गर्दा ‘नेपाली गजल गायनको स्वर्ण दशक’ परिकल्पना गरेका हौँ । हो, हरेक कुरा घोषणा गरिदिन सजिलो छ तर पूरा गर्न गाह्रो । हामी हाम्रो अभियानप्रति सजग छौँ । हाम्रो परिकल्पनाका केही आधार छन् । जस्तो, २०७९ भदौमा सन्तोषजीको एकल संगीत र मेरो एकल शब्दमा बहरबद्ध एल्बम ‘शुभेच्छा’ आएपछि बहरबद्ध गजल संगीत र गायनमा तीव्रता आयो । बहरबद्ध गजलका प्रत्यक्ष गायनहरू नियमितजसो भइरहेका छन् भने गजल रेकर्डको क्रम पनि बढिरहेको छ ।
यो दुई वर्षभित्र आधा दर्जन प्रत्यक्ष गजल गायन भइसकेका छन् भने अब नेपाल गजल प्रतिष्ठानले भदौमा र चैतमा, अनाममण्डलीले आगामी मंसिरमा प्रत्यक्ष गजल गायन गर्ने बुझेको छु । डा. भोजराज घिमिरेको एकल रचनामा पुसमा पनि प्रत्यक्ष गजल गायन हुने सुन्नमा आएको छ ।
यसरी नै ‘शुभेच्छा’पछि गजलकार राधा कणेल र मेरा शब्दमा सन्तोष श्रेष्ठकै संगीत र स्वरमा ‘गगन’ तथा राधा, रश्मी असफल र मेरा शब्दमा जीवनप्रकाश प्रधानको संगीतमा ‘मतला’ एल्बम चाँडै आउँदै छ । सन्तोषजीकै संगीतमा ‘अनाम’ एल्बमको पनि तयारी छ । आगामी वर्ष सुरुतिरै भव्य प्रत्यक्ष गजल गायनको योजना पनि बनिसकेको छ । यी आधारमा यही क्रम निरन्तर रहन सके पक्कै पनि हाम्रो ‘नेपाली गजल गायनको स्वर्ण दशक’ परिकल्पना साकार हुन सक्छ ।
ओझाजीको कुरा धेरे पहिलेबाट सुन्दै आएको हो । लेख्नु प्रथम कुरा हो । हामीले लेखेका चिर्कटोहरू गजल नभए पनि केही छैन । तर नेपाली भाषामा नयाँ शब्द खोज्ने नाममा संस्कृत, वा हिन्दी स्वीकार्य हुने हाम्रा राष्ट्र भाषा नेवारी, मगर, गुरङ, मैथिली, भोजपुरी अथवा जनजातिले बोल्ने पाराका नेपाली शब्द अस्वीकार्य हुने प्रवृति किमार्थ राम्रो होइन । गजल भन्दै हिन्दी र उर्दु वा अरवी व्याकरण ठोस्नु पनि गलत हुन्छ । विशेषत हाम्रा पढेलेखेका अझ प्रष्ट भन्दा संस्कृत पृष्ठभुमिका मनुश्यहरूले तत्सम शब्द चलाउनै नदिने किन होला ? नेपाली भाषा स्वतन्त्र भाषा हो भने हरेक शब्द नेपाली भाषाको परम्परा अनुसार लेख्ने र पढ्ने गरुम न ? संस्कृत र हिन्दीको ढङढङि कति सहने ? रहेक भेगका नेपाली बोली फरक छ ती फरकलाई फरक रुपमा स्वीकार्न नसक्नाले हामी नेपालीमा बोली फुटेका जनजातिले बोल्न नजान्ने पाखे भनेर कति गाली खाइ रहने ? हाम्रा बच्चा कतिन्जेल फेल हुने ? अब अति भयो । तान्न मिल्ने अक्षर दीर्ध हो तान्न नमिल्ने अक्षर ह्रस्व हो त्योभन्दा अरु ह्रस्व र दीर्घमा म केही भेट्दिनँ । केही शब्दमा ह्रस्व र दीर्घ लेख्दा अर्थ फरक हुन्छ त्यसमा सकभर वैकल्पिक शब्दले काम चलाम । त्यस्ता हामीलाई गाली खुवाउने शब्द छोड्दै जाम । गजल गेयात्मक विधा हो गाउँदा मज्जा आउने हुनुपर्छ । नेपाली गजल नेपाली गायकले अरवी शैलीमा गाउन थाले कस्तो होला ??