‘यात्राको लय’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समालोचक ज्ञानु अधिकारी, डा.अनन्त अधिकारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, कृतिकार प्रदीप सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्या। रामेश्वर थापाले प्रदीपजीमा यति ठूलो कला रहेछ भन्ने थाहा पाउँदा खुसी लागेको बताए । आफूले पुस्तकलाई अध्योपान्त पढ्ने र प्रतिक्रिया दिने भन्दै कृतिकारलाई शुभकामना व्यक्त गरे ।

समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले कृतिकारको शिष्ट र शालिन व्यक्तित्व नियात्रामा पनि आएको उल्लेख गरे । कृति उत्कृष्ठ रहेको भन्दै उनले चाँडै दोस्रो संस्करण प्रकाशन हुन सकोस भन्ने शुभकामना व्यक्त गरे ।

वरिष्ठ नियात्राकार जय छाङछाले नियात्रा विधामा अहिलेसम्मको सबैभन्दा कान्छो कृतिका रुपमा प्रदीप सापकोटाको कृति आएको उल्लेख गरे । नियात्राहरु रोचक र पठनीय रहेको उनले बताए ।

अर्की समालोचक ज्ञानु अधिकारीले कृतिको सिंहावलोकन गर्दै ऐतिहासिक, धार्मिक, विकट स्थानका हिसाबले नियात्राहरु रोचक रहेको उल्लेख गरिन् । विगत २० वर्षको समयलाई नियात्रामा समेटिएको उनले बताइन् ।

कार्यक्रममा भूँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डा. अनन्त अधिकारी लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले हवाई जहाज चढेर गएपछि मात्रै नियात्रा लेख्नुपर्छ भन्ने भावना हाबी भएको बताए । नियात्रामा संख्या थपिए पनि गुणस्तर नआएको उनले बताए । गुणस्तरहीन लेखनले नियात्रा लेखनको विकासमा अवरोध पुर्याएको उनले बताए ।

लेखकीय मन्तव्य राख्दै नियात्राकार प्रदीप सापकोटाले आफू असल पाठक भएको उल्लेख गरे । नियात्रा लेखनमा भरखर सिक्दै गरेको उनले बताए ।कृतिमा १७ वटा नियात्रा रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा उपस्थितहरुलाई समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत गरेका थिए भने समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?