
काठमाडौं । नवीकरणीय ऊर्जा प्रयोगबाट धानलगायतका कृषिजन्य वस्तुको उत्पादन लागत घटाउन सकिने विज्ञ तथा व्यवसायीले बताएका छन् । २१औँ धान दिवसका अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघसँगको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । सहभागी वक्ताहरूले सोलार प्रविधिबाट सिँचाइ पम्पिङ गर्न सकिने र खेर जाने फलफूल तथा तरकारी सोलार ड्रायरमा सुकाएर भण्डार गर्न सकिने भएकाले उत्पादन लागत पनि घट्ने र उत्पादित वस्तु बजार अभावमा त्यत्तिकै फाल्नुपर्ने अवस्थाको अन्त्य हुनसक्ने बताए । तथापि आवश्यक जनचेतनाको अभावमा कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग बढ्न नसकेको भन्दै पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा प्रयोगबाट भइरहेको सकारात्मक पक्ष उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कृषि र पशुपालनमा नवीकरणीय ऊर्जालाई जोड्न सरोकारवालाबीच प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा समेत उहाँले जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन अति आवश्यक हुँदाहुँदै पनि सीमित स्रोत साधनका कारण अपेक्षाअनुसार केन्द्रले कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनालगायत अर्थतन्त्रमा देखिएका नकारात्मक प्रभावका कारण सरकारले कतिपय खर्च कटौती गर्नुपरिरहेको अहिलेको अवस्था छ ।
हामीले माग गरे पनि सरकारले दिन नसक्ने अवस्था छ । त्यही भएर पनि आवश्यकताअनुसार केन्द्रले कार्यक्रम अघि बढाउन सकेको छैन । तर, सधैँ यस्तो अवस्था रहने छैन । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पुगेको छ । विधेयक पारित भएपछि नवीकरणीय ऊर्जा क्षेत्रका लागि थप सहज हुने हाम्रो विश्वास छ ।’
नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले यस वर्षको धान दिवसको नाराले पनि कृषिमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने सन्देश दिएको भन्दै जलवायुमैत्री कृषिका लागि पेट्रोलियम ऊर्जालाई विस्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न नसकेकै कारण सिँचाइका लागि अधिकमात्रामा पेट्रोलियम इन्धन प्रयोग भइरहेको अवस्था छ भने माटो बिगार्ने रासायनिक मल पनि व्यापक प्रयोग भइरहेको छ । जसले उत्पादन लागतका साथै वातावरणसमेत बिगारिरहेको छ । नवीकरणीय ऊर्जा र जैविक मल प्रयोग गरी उत्पादन लागत घटाउन सकिन्छ ।’ सो अवसरमा कृषिमा नवीकरणीय ऊर्जा र प्रविधि प्रयोगको सम्भावनाबारे सम्बन्धित क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच