एसइईको परीक्षाफलमा धादिङका ५ विद्यालयको नतिजा शुन्य

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा धादिङका ५ विद्यालयको नतिजा शुन्य आएको छ । जसमा धादिङको बेनीघाट रोराङको पञ्चकन्या मा.वि., बासखर्क मा.वि., रुवीभ्यालीको च्याम्रादेवी मा.वि., सिद्धलेकको सुन्दरी मा.वि. र नौविसेको सुपपक्याटलिष्ट इ स्कुलको नतिजा शुन्य आएको हो ।

२०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसइई परीक्षामा धादिङमा सरकारी र निजी गरी कुल १ सय ६० वटा विद्यालयबाट ४ हजार ८९० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा २ हजार ५३४ जना भने अनुतिर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाई धादिङले जनाएको छ ।

यस्तै जिल्लाको ७ वटा विद्यालयले शत प्रतिशत नतिजा आएको छ । गल्छीको द राइजिङ भिलेज वोर्डिङ, सक्सेस एकेडेमी, बेनिघाट रोराङको श्री व्राइटफ्यूचर वोर्डिङ, त्रिपुरासुन्दरीको सल्यानटार वालविकास बोर्डिङ, भिमोदय मा.वि. आगिन्चोक, नीलकण्ठ ज्यामरुङको वरपिपल मा.वि. र नौविसेको बुद्धभिजन एकेडेमीले शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् ।

न्यू किबो बोर्डिङकी शिल्पा श्रेष्ठले ४ जिपीएसहित जिल्ला प्रथम हुँदा सदरमुकाममै रहेको एड्भान्स एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी एन्जिल बसौला र विकास लम्साल समान ३.९६ जिपीए ल्याउँदै जिल्ला द्वितिय हुन सफल भएका छन् ।

यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घटेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ’ग्रेड’ ल्याउन सफल भएकाछन् ।
’नन-ग्रेडेड’ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ । गत चैत १५ देखि २७ गतेसम सञ्चालित एसइई परीक्षामा नियमिततर्फ कुल ४,६४,७८५ परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ २,२२,४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ’नन-ग्रेड’ (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ । बोर्डका अनुसार २२१ जनाको परीक्षा रद्द भएको थियो ।

नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?