हालका वर्षहरूमा शिक्षाको स्तर खस्किँदै गएको छ । यसो भन्न सकिने केही आधारहरू छन् जसमध्ये हालै प्रकाशित एसइईको परीक्षाफल प्रमुख र महत्वपूर्ण आधार हो । यो चिन्ताको विषय हो । हुन त हाम्रो देशमा चिन्ता गर्नुपर्ने विषय धेरै छन् । सबैभन्दा बढी चिन्ता गर्नुपर्ने विषय भनेको राजनीति हो । राजनीतिले नै देशलाई डोहोर्याउने भएका कारण राजनीति संग्लो हुन सकेन भने देशका अन्य सबै पक्ष बिथोलिन पुग्छन् । हालको अवस्था यस्तै प्रकारले अगाडि बढिरहेको छ । केही समय अगाडिसम्म मनसुन सक्रिय नभएका कारण किसानहरूले रोपाइँ गर्न पाएका थिएनन् तर जब मनसुन सक्रिय हुन थाल्यो चारैतिर बाढी र पहिरोको बितण्डा देखा परिरहेको छ ।
यसबाट केहीको ज्यान गएको छ भने धेरै मानिसहरू प्रभिवित बन्न पुगेका छन् । भ्रष्टाचार, अनियमिता जस्ता अन्य धेरै क्षेत्र चिन्ता गर्नुपर्ने विषयमा पर्छन् । यसवर्ष शिक्षा क्षेत्र पनि चिन्ताकै विषय बनेर आएको छ । गत वर्ष अथवा २०८० सालको एसइईको परीक्षाफल हालै प्रकाशित भएको छ । प्रकाशित भएको नतिजाले सबैमा चिन्ता बढाएको छ । शिक्षा क्षेत्रमा सुधार गर्ने भनेर अनेकौं प्रयास भइरहेका छन् । ऋण र अनुदान वर्षेनी थपिँदै गएको छ । चार पाँच दशक पहिलेकै अवस्थामा शिक्ष क्षेत्र रहनुपर्छ भन्ने होइन । त्यसका सुधार गर्दै जानुपर्छ । तीस र चालीसको दशकमा १५, २० प्रतिशत विद्यार्थीहरू फलामे ढोका भनेर हाइगुजीका रूपमा चित्रण गर्ने गरिएको एसएलसी परीक्षामा उत्तीर्ण हुने गर्थे ।
शिक्षाले बिस्तारै फड्को मार्दै जाँदा प्रजातन्त्रपछिका अनेकौं प्रयासका कारण हाल विद्यालय तहको अन्तिम परीक्षा एसइईको परीक्षाफल राम्रो हुँदै गएको थियो । परीक्षाफल प्रकाशित हुँदा ६६ प्रतिशत र त्यसपछि दिइने मौका परीक्षको परिणमसमेत जोड्दा ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको रेकर्ड पनि छ । तर, त्यो माओवादीको विद्रोहका बेलाको परिणाम भएकाले त्यस परिणाम माथि विभिन्न क्षेत्रबाट सन्देह प्रकट भएको थियो । एकातिर विदेशी दातृ निकायहरूले आपूmले यत्रो अनुदान दिँदा पनि राम्रो नतिजा निकाल्न नसकेको भनेर सोध्ने गरेका कारण र अर्कोतिर नतिजा नराम्रो आए माओवादीसँग विद्रोहकै बाटो लाग्लान् भनेर पनि सकेसम्म धेरैलाई पास गराइएको हो भन्ने चर्चा त्यति बेला हुने गरेको थियो तर माओवादीहरू शान्ति प्रक्रियामा आएपछिदेखि त्यस प्रकारको परिणाम आएको छैन ।
यस वर्षको यस प्रकारको नतिजालाई नराम्रो भन्न नमिल्ने केही कारण छन् । विद्यालयहरूमा गएर त्यहाँको पठनपाठन हेर्ने हो भने यत्तिको परिणाम पनि कसरी आयो भन्नुपर्ने अवस्था छ । बाहिरका जिल्लाहरूका कुनाकन्दराका विद्यालयमा विभिन्न कारणले नियमित पठनपाठन हुन सक्दैन । विद्यार्थीहरू नियमित नहुने, घरका काममा लाग्नुपर्ने, विद्यार्थीहरूमात्र होइन शिक्षकसमेत नियमित नहुने, योग्य शिक्षकहरू दुर्गममा जान नचाहने, अभिभावकहरूमा पनि चेतनाको स्तर कम हुने र भौतिक संशाधनको अभाव जस्ता कारणले गर्दा दुर्गम क्षेत्रका विद्यालयले नतिजा राम्रो निकाल्न नसकेका हुन् । साथै सामुदायिक विद्यालयका स्थायी शिक्षकहरू आफ्नो राजनीतिक आस्थाको पार्टीको सदस्य बन्ने र विद्यालयमा अनुपस्थित भएर राजनीतिक कार्यक्रमहरूमा जाने गरेकाले सामुदायिक विद्यालयहरूले आशातीत परिणाम ल्याउन नसकेका हुन् ।
पछिल्लो समयमा शहर-बजारमा बसेर संस्थागत विद्यालयहरूमा पढ्ने प्रवृत्ति बढेर गएको छ । अभिभावक जति दुःख गरेर भए पनि आफ्ना छोराछोरीलाई शहरका उच्च माविमै पढाउन चाहन्छन् । अहिले त कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ । त्यसकारण कक्षा दशको अन्तिमको एसइई परीक्षालाई पहिलेको एसएलसी जत्तिको मान्यता दिइँदैन । त्यसकारण पनि नतिजा खस्किएको हुनसक्छ । अब एउटा के कुरा निश्चित छ भने एसइईको परिणाम कम आएपछि कक्षा ११ को भर्ना प्रतिशत घट्छ । त्यसको असर ती शिक्षण संस्था सञ्चालन गर्नेहरूमा त पर्छ नै साथै तिनमा आश्रित हुने वर्गलाई समेत पर्न जान्छ । पढाउने शिक्षकहरूको काम नआउनसक्छ अथवा तिनले काम पाए पनि साविकभन्दा काम घट्न सक्छ ।
सञ्चालकहरूको आयस्रोत घट्ने भएकाले तिनमा लगानी गर्ने वित्तीय संस्थाहरूले आफ्नो लगानी उठानसमेत सहज नहुन सक्छ । तालिम लिएका र योग्य भनिएका शिक्षकहरू भएर पनि तिनले विद्यालयमा बसेर नपढाएपछि परिणाम राम्रो आउनसक्ने कुरै भएन । यस पटको एसइईको नतिजा खस्कनुमा यस्तै कारण कारक बनेर आएका हुन सक्छन् । यस बारेमा चिन्तामात्र होइन चिन्तन गर्नुपर्ने हुन्छ । किन यस्तो परिणम आएको हो भनेर पहिले त्यसमाथि निर्मम समीक्षा हुनुपर्छ । विद्यालयहरूमा कडाइका साथ अनुगमन गरिनुपर्छ, नियमित नहुने र राजनीतिक पार्टीका कार्यकर्ता भएर हिँड्ने शिक्षकहरूलाई विभागीय कारबाही हुनुपर्छ । विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय आउन प्रोत्साहन गरिनुपर्छ । यसो हुनसक्यो भने र यसो गरियो भने परिणाममा सुधार हुने कुरामा विश्वास गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच