काठमाडौं । लाफा रुंग फाउण्डेशनको आयोजनामा क्यान्सर रोगीहरूको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको कार्यक्रममा नृत्य शिरोमणि भैरबबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गायिका थापाले १६वटा गीत प्रस्तुत गर्नुभएको थियो । जसमा गायिका थापाकै शब्द, संगीतमा रहेको ‘भागेर कहाँ हो जाने’, चाँदनी शाहको शब्द र अम्बर गुरुङको संगीत रहेको ‘मेरो मायाको संसार’, मानबहादुर मुखियाको शब्द र गोपाल योन्जनको संगीतमा रहेको ‘किनार भेट्न’, नागेन्द्र थापाको शब्द र गोपाल योन्जनको संगीत रहेको ‘तारी नदेउ माझीदाइ’, नारायणकुमार आचार्यको शब्द र दीपक जंगमको संगीत रहेको ‘हजार चोटी’, सुरेन्द्र रानाको शब्द र राम थापाको संगीत रहेको ‘सबैले दिने माया’, श्रीपुरुष ढकालको शब्द र राम थापाको संगीत रहेको ‘कुन बेला’, प्रेमराजा महतको शब्द, संगीत रहेको ‘सान्नानी हाँसन दिल खोलेर’, सुबासचन्द्र ढुंगेलको शब्द र राम थापाको संगीत रहेको ‘फूल झरे पनि काँडा झर्दैन’, दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यको संगीत रहेको ‘सयथरी बाजा एउटै ताल’, महेन्द्र गुरुङको संकलनमा रहेको ‘हे साहिला’, गोपाल योन्जनको शब्द संगीतमा रहेको ‘खुट्टामा नेल परे पर्ला र काले पनि देखेँ मैले’, छेत्र गुरुङको शब्द र गोपाल योन्जनको संगीतमा रहेको ‘सोध रामलाई’ गीतहरू प्रस्तुत गर्नुभएको थियो । साथमा सन्जोग लाफा मगरको शब्द र अजय थापा मगरको संगीत रहेको मगर भाषाको गीत र एउटा कौरा भाकाको गीत पनि उहाँले प्रस्तुत गर्नुभएको थियो । गायिका थापाले गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घाबाट वाहीवाही र वान्समोरको आवाज रोकिएको थिएन ।
कार्यक्रममा निर्देशक याम गुरुङ र नृत्यांगना रिना थापा मगरको समूहले गायिका थापाका गीतमा दुईवटा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लाफा रुंग फाउण्डेशनको तर्फबाट गायिका तारा थापालाई सम्मान गरिएको थियो । साथमा नेपाल मगर संघ, अथार मगरात कलाकार संघ, समसामयिक गायक समाजको तर्फबाट पनि सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सुमन पण्डितले गर्नुभएको थियो । गायक देवराज आले, सागर आले, मनोज थापा र गायिका सरिता शाही, दीपा सुहाङ, अप्सु योगीले गायिका तारा थापालाई स्वरमा साथ दिनुभएको थियो ।
कार्यक्रम गीतकार वसन्त वित्यासी थापाको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संगीत संयोजक अशोककुमार राईको संयोजकत्वमा वाद्यवान समूह रहेको थियो । जसमा शिलाबहादुर मोक्तान (किबोर्ड), मनोहर सुनाम (भ्वाइलिन संयोजक), मोहनकृष्ण कार्की ढली (भ्वाइलिन), रविन कार्की ढली (भ्वाइलिन), किशोर कार्की ढली (भ्वाइलिन), केशव सुनाम (भ्वाइलिन), भरत नेपाली (सारंगी), गोपालदेव घतानी (बाँसुरी), धनबहादुर गुरुङ (बाँसुरी), भरत बुढाथोकी (ताल बादन संयोजक), नरेश प्रजापति (ताल बादन), पोषण घर्ती (ताल बादन), अनिल थापा (ताल बादन), रूपेश सिंह (प्याड ड्रम), देव राई (बेश गिटार), प्रभात लामा (रिदम गितार) रहेका थिए ।
फाउण्डेशनका अध्यक्ष चन्द्रज्योति आलेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषदु सदस्य चेतन सापकोटा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, फाउण्डेशनका संस्थापक अध्यक्ष लंकमान रोका मगर, नेपाल मगर महिला संघको अध्यक्ष हिरू राना मगर, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ संगीतकार दिपक जंगम, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभ, सुवासचन्द्र ढुंगेल, वरिष्ठ गायक खड्ग गर्बुजा लगायत गीत संगीत क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति थियो । कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान गरिएको थियो ।
क्यान्सर रोगीहरूको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’मा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै फाउण्डेशनकी अध्यक्ष चन्द्रज्योति आलेले फाउण्डेशन सामाजिक सेवामा हिजोदेखि नै सक्रिय रहेको र यसपाली क्यान्सर रोगीहरूको सहयोगार्थ कार्यक्रम गर्न पाएकोमा गायिका तारा थापालाई हार्दिक आभार प्रकट गर्नुभएको थियो । गायिका थापा ब्रेष्ट क्यान्सर जितेर आउनुभएको हुँदा उहाँलाई नै प्रतिनिधित्व गराएर स्वर्णिम साँझ गर्नु एकातिर गीतसंगीतको क्षेत्रको श्रीवृद्धिमा फाउण्डेशन सक्रिय रहनु हो अध्यक्ष आलेले भन्नुभयो । उहाँले गायिका थापाको उर्जा देखेर अरु क्यान्सर रोगीहरूको पनि आत्मबल बढाउन सहयोग पुग्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच