
सपना तामाङ/प्रशिक्षार्थी विद्यार्थी
काठमाडौं । घाम होस् या झरी, गर्मी होस् या जाडो किरण साह काठमाडौं जोरपाटीको सडकछेउमा सधैं व्यस्त भेटिनुहुन्छ । पुराना र फाटेका चुत्ता/चप्पल सिलाउन औंला चलाइरहनुहुन्छ । प्रायः ग्राहकबाट उहाँ घेरिएकै हुनुहुन्छ । विराटनगरबाट कामको खोजीमा काठमाडौं आउनुभएका उहाँले विगत सात महिनादेखि यही ठाउँमा बसेर यो पेशा गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘हेर्दाहेर्दै सिकियो, अहिले फाइदै भएको छ । दुःखमा जीवन धान्ने सीप नै रहेछ ।’ आफ्नो यो पेशाबाट के खाऊँ, के लाऊँ भनी कहिल्यै चिन्तित हुनु नपरेको र व्यवसाय राम्रोसँग चलेको उहाँ बताउनुहुन्छ ।
हुन त अहिलेका युवाजस्तै उहाँले पनि विदेश जाने सोच नबनाएको भने होइन । तर, देशप्रतिको माया र परिवारदेखि टाढिनुको पिडा सम्झेर यहीँ काम गर्ने सोचाइका साथ यो पेशा सम्हालेको साह बताउनुहुन्छ । उहाँकी श्रीमती र पाँचजना बालबच्चा भने विराटनगरमा नै छन् । उहाँकी श्रीमती किसान हुनुहुन्छ भने बालबच्चा पढाइ गरिरहेका छन् । सातजना परिवारको पेट भर्नका लागि उहाँ दिनरात नभनी खटिरहनुभएको छ । जुत्ता सिलाउने पेशाबाट उहाँले प्रतिदिन ६ सयदेखि एक हजारसम्म कमाउनुहुन्छ तर हालको समयमा पहिलेको तुलनामा ग्राहकहरूको घुइँचो कम लागेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘काम सानो र ठूलो हुँदैन । जुत्ता सिलाउने पेशा भनेर लाज मान्न आवश्यक छैन । अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानु नै बेस । यहाँ अवसर छन् तर अहिलेका युवा भने सानोतिनो काम भनेपछि गर्न हिचकिचाउँछन् ।’
साहका अनुसार पढाइलेखाइ गरेका व्यक्तिहरू पनि यही पेशामा लागेका छन् । उहाँकै पाँचजना साथीहरू पनि हाल काठमाडौंकै सडकमा यही काम गर्दै आइरहेका रहेछन् । उहाँ अरूको फाटेको जुत्ता सिलाएर वा पालिस गरिदिएर नयाँ झैँ बनाइदिनुहुन्छ । मान्छेहरूले सानो काम गरेको भनेर हेप्ने गर्छन् तर हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ, माया गर्नुपर्छ, जनुसुकै पेशाको कदर गर्नुपर्छ भन्ने व्यक्तिगत सोचाइ भने साह राख्नुहुन्छ ।
स्वर्गजस्तो जन्मभूमि र परिवार छोडेर अन्य मुलुकमा आफ्नो पसिना बगाउन बाध्य नेपालीको अवस्था र गरिब जनतालाई भनेर छुट्याइएका राहत पहुँच हुनेका लागि मात्र रहेकोप्रति भने उहाँले गुनासो गर्नुभयो । राज्यले बनाएको नीति व्यवहारमा नल्याएको उहाँको भनाइ छ । सबै पेशालाई सम्मान गर्न सकेमा मात्र समाजलाई परिवर्तन गर्न सकिनेमा उहाँको जोड थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच