काठमाडौं । चर्चा चुलिए पनि नयाँ सरकारमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुवै मन्त्री नबन्ने हुनुभएको छ । कांग्रेस वृत्तमा दुवै महामन्त्रीलाई महत्वपूर्ण जिम्मेवारी दिएर सरकारमा पठाइनुपर्ने चर्चा चलिरहेको थियो । दुवै जनाले केपी शर्मा ओली नेतृत्वमा बन्ने गठबन्धन सरकारमा आफूहरू सहभागी नहुने र पार्टीकै काममा व्यस्त रहने जानकारी गराउनुभएको छ ।
बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले नयाँ सरकारमा आफू मन्त्री नबन्ने प्रष्ट पार्नुभएको हो । उहाँले महामन्त्रीका रूपमा पार्टीकै गतिविधिमा व्यस्त हुनुपर्ने भएकाले सरकारमा जानेबारे आफूले नसोचेको बताउनुभयो ।
‘म यतिबेला पार्टी महामन्त्रीको जिम्मेवारीमा छु । यो जिम्मेवारीमा रहेर पूरा गर्नुपर्ने कामहरू धेरै छन् । व्यस्तता पनि छ । त्यसैले तत्काल मन्त्री बन्नेबारे मैले सोचेको छैन’, थापाले पत्रकारहरूसँग भन्नुभयो । यसअघि २०७३/७४ मा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा थापा स्वास्थ्यमन्त्री रहिसक्नु भएको छ । कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको दाबेदार थापा सोहीकारण तत्काल मन्त्री नबन्ने तर पार्टीको कामलाई तीव्रता दिने सोचमा रहनुभएको बताइन्छ ।
उहाँले कांग्रेस–एमाले सहमतिको सन्दर्भ फरक रहेको भन्दै संविधानको स्वीकार्यता बढाउन नयाँ गठबन्धनले काम गर्ने बताउनुभयो । विगतमा गठबन्धनका साझेदारहरूले सहमति कार्यान्वयन नगर्दा समस्या उत्पन्न हुने गरेको भए पनि अब भने सात बुँदे सहमतिप्रति कांग्रेस एमाले दुवै जवाफदेही हुनुपर्ने थापाले बताउनुभयो । उहाँले नयाँ सरकार गठनको प्रक्रिया सु्रु हुनासाथ सात बुँदे सहमति सार्वजनिक हुनेसमेत बताउनुभयो ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा यसपटक पनि मन्त्री नबन्ने हुने भएको छ । पहिलोपटक प्रतिनिधिसभा सदस्यको भूमिकामा रहनुभएका शर्माले पनि पार्टी भूमिकालाई प्रभावकारी बनाउन सरकारमा नजाने मनस्थिति बनाउनुभएको हो । संसद्का दुई ठूला दलहरू मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुने आँकलन गरिएका बेला मन्त्री नबनेरै सरकारका काममा सहयोग र खबरदारी गर्ने शर्माको धारणा छ ।
झापा क्षेत्र नम्बर १ मा कांग्रेसका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै महामन्त्री शर्माले ओली सरकारमा आफू मन्त्री नबन्ने घोषणा गर्नुभएको हो । ‘संसद्का ठूला दलहरू मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुने चिन्ता व्यक्त भइरहेको छ । प्रतिपक्षी स्वर कमजोर हुन नदिनका लागि पनि म यसपटक मन्त्री बन्दिनँ’, शर्माले भन्नुभयो । उहाँले सरकारमा जो–जो गए पनि मुलुक र जनताको हितमा पार्टीको शिर उचो राख्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसमा महामन्त्रीभन्दा उपल्लो वरीयतामा रहनुभएका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि मन्त्री नबन्ने पक्का छ । खड्का गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं रक्षामन्त्री हुनुहुन्थ्यो भने गुरुङ सोही सरकारमा कानुनमन्त्री हुनुहुन्थ्यो । कांग्रेसका शीर्ष पाँच पदाधिकारी नयाँ सरकारमा सहभागी नहुने भएपछि सहमहामन्त्रीहरू मध्येबाट मन्त्री बन्ने सम्भावना धेरै छ ।
सहमहामन्त्रीहरू किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार मन्त्रीको दाबेदार हुनुहुन्छ । कांग्रेस र एमालेबीच गत असार १७ मा सात बुँदे सहमति भएको थियो । गोप्य राखिएको सो सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस समर्थित सरकार बन्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच