पानीको अभाव बेहोरेकी खिमकुमारीको पानीको मूलले लियो ज्यान

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 6 mins

स्याङ्जा । भीरकोट नगरपालिका वडा नं ५ को ज्यामिरे मल्ल गाउँमा असार २२ गते बज्रपात पर्‍यो । अविरल वर्षासँगै मल्ल गाउँको सिरानबाट अकल्पनीय तरिकाले एक्कासी पहिरो गयो । पहिरोले ७३ वर्षीया खिमकुमारीलाई सधैंका लागि साथमा लग्यो भने उनीसँगै उनको रक्षा गर्ने बुहारी रीता मल्ललाई घाइते बनाएर छाड्यो ।

सधैं पानीको हाहाकार हुने ज्यामिरे गाउँमा २२ गते बिहान एक्कासी मुल फुटेको थियो । घरमाथि मुल फुटेपछि खिमकुमारी घरमा भल तर्काउन लागिन् । भल तर्काएर घरभित्र सुतिरहेकी बुहारीलाई उठाइन् । बुहारी उठेर यताउति गर्दै थिइन् । ‘एक्कासी ठुलो आवाजसहित मुल फुटेको ठाउँबाट पहिरो आएपछि घर हल्लियो । आमा पहिरो गयो भन्दाभन्दै आमालाई पहिरोले छोपिहाल्यो ।’ बाँचेकी घाइते बुहारी रिता मल्ल त्यो कालो मसाने रात सम्झिन्छिन् ।

‘रिता भाग्दाभाग्दै हिलोले पुरिइसककी थिइन् । धन्न बाँच्न सफल भइन् ।’ छिमेकी जमन मल्ल पुर्पुरोमा हात राख्दै त्यो अँध्यारो दिन सम्झिन्छन् ।’ त्यो दिनको पहिरोमा मल्ल गाउँकी जेठीबाठी मानिने ख्यामकुमारीले ज्यानमात्र गुमाइनन् विपन्न सन्तानका लागि दुःखले बनाइदिएको सुन्दर घर समेत सन्तानले गुमाए । आखिर न खिमकुमारी बाँचिन्, न घर रह्यो न गोठ नै । मान्छेमात्र होइन गोठमा बाँधेका ४ वटा बाख्रासमेत पहिरोमा पुरिए ।

बाख्रालाई असाध्यै माया गर्ने खिमकुमारीले बाख्रालाई साथमै लिएर गईन् । पहिरोले खिमकुमारीको घर र गोठको नामोनिशान केही बाँकी राखेन भने छिमेकी टोपबहादुर मल्लको गोठका २ वटा भैंसी र १४ वटा बाख्रासमेत एक चिहान बनायो ।

मरेर मात्र खिमकुमारीले सुख पाइनन् दिउसो साढे तिन बजेतिर पहिरोमा उनको प्राणपखेरु उडेको थियो तर उनको मृत शरीर करिब १८ घण्टा आफ्नै घरका छपनीमुनि सुतिरह्यो । त्यस दिन उदधार हुन नसकेपछि भोलिपल्ट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ घण्टा लगाएर उनको शव पहिरोबाट उधिनेको थियो ।

पहिरो निरीक्षण र राहतमा पुगेका वडाध्यक्ष कृष्णबहादुर थापाले भने, ‘यस्तो सम्मै जस्तो ठाउँमा पनि नसोचेको पहिरो गयो । हामी आश्चर्यमा परेका छौं । यहाँबाट पहिरो जाला भनेर कल्पनै गरेका थिएनौं ।’ उनले ज्यामिरेको सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको बताउँदै सबैलाई सहयोगको लागि अपील समेत गरे ।

विपन्न परिवार रहेको खिमकुमारीका जेठा छोरा नेत्र भारतमा सामान्य नोकरी गर्छन् भने कान्छा छोरा विपिनलाई परिवारले बल्लतल्ल अरब पुर्‍याएको थियो । जीवनभर दुःख र हण्डर खाएकी खिमकुमारीले कान्छा छोराले भर्खर घर खर्च चलाउन थालेदेखि थोरै भए पनि सुखको सास फेरेकी थिइन् । जीवनका उर्वर समय दुःखजिलो गरेर बिताएकी खिमकुमारीले छोराहरुको कमाइले सुखका दिन बिताउने कल्पना पहिरोमा बिलायो । लोग्नेले छोडेर गएको दसकौसम्म साना छोराहरु हुर्काउन उनले गरेको सङ्घर्षलाई सबै गाउँलेले राम्ररी थाहा पाएका छन् । उनकी छोरी पर्ने सुनिता ठकुरी गहभरि आँसु पार्दै भन्छिन्, ‘सानीआमाले जीवनभर दुःख गरिस्यो । सानोबुबाले पहिले नै छोडेर जानुभयो । कमाइ नभएको विपन्न परिवारमा उहाँले भोगेको दुःखको हामी बयान नै गर्न सक्दैनौं ।’

यतिखेर छोराहरु नेत्रबहादुर मल्ल र विपिन मल्ल एकातिर आमा गुमाएको पीडाले रन्थनिएका छन् भने अर्कातिर पैतृक सम्पत्तिका नाममा रहेको एउटा घरसमेत मेटिँदा बासको चिन्ताले तड्पिएका छन् । त्यतिमात्र नभएर ज्यामिरे गाउँका बाँकी घरहरु पनि पहिरोको जोखिममा परेपछि गाउँबासी रातभरि सुत्न सकेका छैनन् । पानी आउँदा उनीहरुको मुटुले ठाउँ छोड्छ । उनीहरुको एउटै आवाज छ ‘हामी बाँचेकाहरु ढुक्क भएर कसरी सुत्ने होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?