शिक्षालाई समृद्धिको आधार मानिन्छ । शिक्षाकै कारण देशमा सीपयुक्त, असल र सक्षम नागरिक उत्पादन हुने, सीपयुक्त, असल र सक्षम नागरिकले मात्रै मुलुकलाई समृद्ध बनाउन सक्ने मान्यता रहिआएको छ । तर, नेपालको शिक्षा भने उल्टो दिशातर्फ रहेको भन्दै असन्तुष्टि व्यक्त भइरहेका छन् । देशमा जति धेरै शिक्षित जमात बढ्दो छ, त्यत्ति नै मात्रामा विकृति, विसंगति र देश अधोगतितर्फ गइरहेको अवस्था छ । समाज मानवीय संवेदनाहीन बन्दै गएको छ । परिवार, समाज र देशकै धरोहरका रूपमा रहेका परापूर्वकालदेखिका सामाजिक, धार्मिक र सांस्कृतिक परम्परा भत्किँदैछन् । देश क्रमिक रूपमा सबै क्षेत्रमा परनिर्भर बन्दै गएको छ । आखिर किन यस्तो हुँदैछ ? के नेपालको शिक्षा नीतिमै समस्या हो कि विकृत राजनीतिकको उपज हो ? प्रस्तुत छ, शिक्षाको समग्र पक्षमा केन्द्रित रहेर काठमाडौं नयाँबजारस्थित निजीस्तरको देशकै जेठो हृवाइटफिल्ड कलेजका प्रिन्सिपलका साथै सेन्ट्रल कलेजका डाइरेक्टरसमेत रहनुभएका पारस श्रेष्ठसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको कुराकानीः-
हृवाइटफिल्ड कलेजबारे बताइदिनुस् न ?
हामीले सुरुमा स्कुल हुँदै कलेजको सुरुवात गरेका हौँ । संस्थापक प्रिन्सिपल श्रीमती दुर्गा श्रेष्ठले क्षेत्रपाटीको भुरुङखेलमा २०३७ सालमा स्कुल सुरु गर्नुभएको थियो । त्यतिबेला रक्तकाली प्राइमरी स्कुल थियो । २०४७ सालमा पहिलोपटक एसएलसीमा विद्यार्थीलाई सहभागी गराइएको थियो । २०५१÷०५२ सालतिर उच्च माध्यमिक शिक्षा परिषद् स्थापनापछि काठमाडौंका केही सीमित निजी स्कुलमध्येमा हाम्रो र भिएस निकेतन स्कुलले पहिलोपटक प्राइभेट स्कुलका रूपमा प्लस टुको स्वीकृति पाएका थिए । परिषद् उपाध्यक्षमा डा. तीर्थ खनिया हुनुहुन्थ्यो । त्यतिबेला स्कुलमा प्राइभेट कलेज, प्लस टुबारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी नै नभएकाले निजी कलेजमा विद्यार्थी ल्याउन गार्हो भयो । २०५३ सालदेखि मात्रै हामीले पढाइ सुरु गरेका थियौँ ।
त्यसअघि सरकारी कलेजमात्रै कलेज भन्ने थियो ?
हो, प्राइभेट कलेज भर्खर आएकाले धेरैलाई जानकारी नै थिएन । प्राइभेट कलेज सीमित संख्यामा रहेकाले सबैको पहुँचमा पनि थिएनन् । एसएलसीसम्म निजी स्कुलमा पढे पनि त्यसपछिको उच्च शिक्षाका लागि भने विद्यार्थी सरकारी कलेज नै खोज्थे । त्यतिबेला आइए, आइकम भनिन्थ्यो । तर, २०४६/०४७ सालपछि सरकारले पनि शिक्षा प्रणालीमा केही परिवर्तन गर्यो, प्राइभेट कलेज धेरै आउन थाले र सहज हुँदै गयो ।
त्यतिबेला पनि उच्च शिक्षाका नाममा विद्यार्थी बाहिर जान्थे ?
जान्थे तर यस्तो धेरै होइन । त्यतिबेला अमेरिका, अष्ट्रेलियालगायतका देश नभई नेपाली विद्यार्थीहरू इण्डिया जाने प्रचलन थियो । पछि अशान्ति, राजनीतिक अस्थिरताका कारण विद्यार्थी इण्डिया जानेक्रम बढ्दै गयो । खासगरी माओवादी मुभमेन्टका कारण नेपालमा सहज अवस्था नभएकाले पढाइका लागि इण्डिया जाने ट्रेण्ड बढेको थियो । अहिले त प्लस टुपछि विद्यार्थी बाहिर जानेक्रम भयावह नै छ ।
हृवाइटफिल्डमा चाहिँ कुन-कुन विषयमा पढाइ हुन्छ ?
स्कुल त भइहाल्यो । कलेजतर्फ हृयुमनिटिज, म्यानेजमेन्ट र साइन्स पढाइ हुने गरेको छ । साइन्स र म्यानेजमेन्ट पहिलेदेखि नै थियो भने हृयुमनिटिज भने पछि सुरु गरेका हौँ । तर हृयुमनिटिजमा केही समस्या देखिएको छ । विद्यार्थीको त्यति आकर्षण छैन । पहिलो कुरा त विद्यार्थी अभाव, अर्को भर्ना भइहाले पनि निरन्तरता नहुने अवस्था छ । हृयुमनिटिजबारेमा विद्यार्थी र अभिभावकलाई राम्रोसँग बुझाउन नसक्दा यस्तो अवस्था आएको हो जस्तो लाग्छ । त्यसो त अहिले राजधानीबाहिर धेरै कलेज रहेकाले काठमाडौंमा विद्यार्थीको चाप घटेको पनि हुनसक्छ । समग्रमा विद्यार्थी संख्या घटेको भन्दा पनि कलेजहरू साइजमा आएका भनौँ ।
नेपालमा सीपयुक्त शिक्षा नभएको गुनासो छ नि ?
अहिलेभन्दा त २०४६ सालअघिको शिक्षा सीपयुक्त थियो । हामीले नै पूर्वव्यावसायिक शिक्षा पढेर आएको हो । विद्यालयमै विद्यार्थीले तरकारी फलाउँथे, माटोमा घुलमिल हुन्थे । २०४६ को राजनीतिक परिवर्तनसँगै हाम्रा पाठ्यक्रम पनि परिवर्तन भए । संस्कृत शिक्षा, पूर्व व्यावसायिक शिक्षा, नैतिक शिक्षा, इतिहास भूगोल सबै हटाइयो । त्यसपछिको शिक्षाले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ भन्ने कुरा हामीले अहिले देखिरहेकै छौँ । देशको आधाभन्दा बढी अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको अवस्था छ । त्यो पनि सीपबिनाको रेमिट्यान्स । गाउँ-गाउँ गएर वैदेशिक रोजगारमा जाने मान्छे खोज्ने अनि पठाउने । त्यही भएर नेपालीहरू विदेश गएर पनि सीपयुक्त काम गर्न सकेका छैनन् । यहाँ पनि त्यस्तै भइरहेको छ । आफूले पढेर हासिल गरेको ज्ञान कसरी सीपमा ढाल्ने र कसरी आयआर्जन गर्ने भन्नेतर्फ विद्यार्थीहरूको ध्यान छैन ।
यस्तो किन भइरहेको छ त ?
पहिलो कुरा त शिक्षामा राज्यको लगानी नै कम छ । उपयुक्त वातावरण पनि छैन । समृद्धिको मुख्य आधारशिला शिक्षा नै हो तर अपेक्षाअनुसार लगानीको वातावरण नहुँदा राम्रो प्रतिफल पाउन नसकेको हो । सरकारी शिक्षा हामीले देखिरहेकै छौँ । यस वर्ष पनि सरकारी स्कुलको एसइईको नतिजा राम्रो आउन सकेन । पास हुनै गा¥हो छ । हुन त विगतको तुलनामा अहिले विद्यार्थीलाई धेरै सहज छ । प्राइभेट स्कुलमा त झनै राम्रो हुने भइहाल्यो । प्राइभेट स्कुलले विद्यार्थीलाई कम्फोर्ट जोनमा राखेका छन् । घरमै पनि आमाबाबुले सबै इच्छा आवश्यकता पूरा गरिदिएका हुन्छन् ।
त्यही भएर उनीहरूमा किन काम गर्ने भन्ने भयो । विद्यार्थीमा सिर्जनशीलता र मिहिनेतमै कमी आयो । हाम्रो समयमा कति अभाव थियो । एसएलसी पास गर्न कति गार्हो थियो । पास भइहाल्यो भने राम्रो नम्बर ल्याएन भने भर्नामा समस्या हुन्थ्यो तर अहिले विद्यार्थी कम, कलेज धेरै भएकाले कम प्रतिशत ल्याउने विद्यार्थीले पनि भर्ना पाउँछन् । अर्को कुरा, एसइईमा पनि फेल हुँदैन भन्ने मानसिकताले पनि समस्या आएको हो । यसपालि देखियो, एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल भए । विद्यार्थी फेल भएका होइनन्, समग्रमा हाम्रो शिक्षा नीति नै फेल भएको हो । परीक्षामा विद्यार्थीले केही लेखेकै छैन भने टिचरले कसरी माक्र्स दिने ? टिचरले माक्र्स नदिँदा ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् नि !
कलेजमा विद्यार्थी अभाव बढ्दै गएको हो ?
हो, उच्च शिक्षाका नाममा विद्यार्थी पलायनका कारण यहाँका कलेजमा विद्यार्थी अभाव हुन थालेको छ । प्लस टु पास भएपछि ७० प्रतिशतभन्दा बढी विद्यार्थी बाहिरै गएको देखिएको छ । एक लाख ६५ हजार विद्यार्थीमा एक लाख ३० हजार विद्यार्थी बाहिरै गएपछि बाँकी रहेका ३० हजार विद्यार्थीलाई २२ वटा विश्वविद्यालयले बाँडेर लिनुपर्ने अवस्था छ । विश्वविद्यालयका पाठ्यक्रमहरू पनि त्यस्तै छन् । पाठ्यक्रम ठीक बनाएको होला तर त्यो पाठ्यक्रम पढ्ने, पढाउने कलेज र विद्यार्थीलाई उद्योग व्यापार क्षेत्रमा कनेक्ट गराउन सकिरहेको छैन । अहिले कुनै विश्वविद्यालयमा हाइड्रो इञ्जिनियरिङ पढाइ भइरहेको छ, कुनैमा माइनिङ इञ्जिनियरिङ पढाइ भइरहेको छ, कुनैमा मेकानिकल इञ्जिनियरिङ पढाइरहेको छ । तर, सम्बन्धित क्षेत्रमा कलेज र विद्यार्थीको कनेक्ट छैन । पढेपछि जबका लागि कहाँ जाने हो, त्यो त देखाइदिनुप¥यो नि ∕ विद्यार्थी आफैंमा पनि कमाउँदै र पढ्दै गर्ने सोचको विकास भएको देखिँदैन, अलिकति दुःख त गर्नुप¥यो नि ? बाहिर जाने विद्यार्थीहरूले कमाउँदै पढ्ने हो भने यहाँ पनि त्यो गर्न सकिन्छ । त्यसो त बाहिर दूरदराजबाट काठमाडौंमा पढ्न आउने विद्यार्थीले आफैं काम गरेर पढिरहेको अवस्था पनि छ ।
शिक्षाका नाममा विद्यार्थी पलायनले ‘क्यापिटल प्लाइट’को जोखिम कति देख्नुहुन्छ ?
त्यो त स्वाभाविक हो । ब्याचलर्स लेबलका विद्यार्थी विदेश जाने र पढाइ सकिएपछि स्वदेश नफर्किने अवस्था छ । उतै बिहे गर्ने, उतै बालबच्चा जन्माउने । आमा, बाबुलगायत परिवारका बाँकी सदस्यलाई पनि सँगै लैजाने । पछि यहाँको सबै पैतृक सम्पत्ति बिक्री गरेर उतै लैजाने भएपछि क्यापिटल प्लाइटको अवस्था त भयावह नै छ । त्यसको असर क्रमिक रूपमा सबै क्षेत्रमा देखिन थालिसक्यो । कलेजमात्रै होइन, स्कुलमा समेत विद्यार्थी संख्या घट्दै गएको छ ।
गलत शिक्षा नीतिले बेरोजगारी बढ्यो भनिन्छ, शिक्षा नीति परिवर्तन गर्नुपर्ने हो ?
केमा परिवर्तन गर्ने ? पाठ्यक्रममा गर्ने कि परीक्षा प्रणालीमा परिवर्तन गर्ने ? एउटै पाठ्यक्रम पढाउने प्राइभेट स्कुल कलेजका विद्यार्थी उत्कृष्ट हुने, सक्षम हुने, सरकारी स्कुल कलेजमा विद्यार्थी फेल हुने । यही पाठ्यक्रमअनुसार नेपालमा पढेर विदेश जाने विद्यार्थी त्यहाँ पनि विश्वटप पनि भएका छन् । यहाँको स्कुल लेबलको करिकुलम विश्वको उत्कृष्ट १० भित्र पर्छ भने नेपालको करिकुलम दक्षिण एसियाभरिकै उत्कृष्ट मानिन्छ । राम्रो प्रोडक्ट प्राइभेट स्कुल कलेजबाट निस्किरहेको छ तर सरकारी जागिर पाइँदैन, मेडिकल, इञ्जिनियरिङमा स्कलरसिप पाइँदैन भनेपछि सरकारले विद्यार्थीलाई बाहिरै पठाउन खोजेको देखिन्छ ।
हाम्रा कर्पोरेट हाउस चाहिँ कत्तिको रोजगारमैत्री छन् ?
छैनन् । रोजगारी दिइहाले पनि एकदमै न्यून पारिश्रमिकमा काम लगाउन खोज्ने प्रवृत्ति छ । धेरैजसो कर्पोरेट हाउसहरूले त अझै पनि आफ्नो परिवारभित्रका नातागोता र निकटलाई नै रोजगारीमा पहिलो प्राथमिकता दिने गरेको अवस्था छ । सम्बन्धित क्षेत्रमा सक्षम नभए पनि आफ्नै मान्छे राख्ने । किनभने यहाँका अधिकांश कर्पोरेट हाउसहरू आफ्नै परिवारबाट सञ्चालित छन् । कर्पोरेट हाउसहरू आवश्यक जनशक्तिका लागि खुला मार्केटमा नगएसम्म हुने यस्तै हो । नीतिगत रूपमै त्यस्तो बाध्यकारी व्यवस्था गर्नुपर्यो ।
हृवाइटफिल्डबाहेक अन्यत्र पनि कलेज सञ्चालन गर्नुभएको छ कि ?
काठमाडौंको सिनामंगलमा पनि हाम्रो सेन्ट्रल कलेज सञ्चालनमा छ । जुन पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । त्यहाँ बिबिए, बिएचएम र बिएचसिएम सञ्चालन गरेका छौँ । स्थानीय समुदायको मागअनुसार नै हामीले यस्ता फ्याकल्टी सञ्चालन गरेका हौँ । त्यसैगरी यो हृवाइटफिल्ड कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । हाम्रो कलेज टपटेन कलेजभित्रै पर्छ । रिजल्ट शतप्रतिशत हो । हामी विद्यार्थीलाई पढाइमात्र होइन, रोजगारीका लागि सम्बन्धित उद्योग प्रतिष्ठानहरूमा कनेक्ट हुन पनि अभिप्ररित गर्छौं । सोही कारण पनि हाम्रा विद्यार्थीले पढाइपछि हात बाँधेर बस्नुपर्ने अवस्था अहिलेसम्म छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच