काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । चौथोपटक प्रधानमन्त्री बन्नुभएका ओली मलुकको ४५औँ प्रधानमन्त्री बन्नुभएको छ । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको थियो । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजे सम्मको समय दिएर आहृवान गर्नुभएको थियो । सो आहृवानलगत्तै एमाले अध्यक्ष ओलीले राष्ट्रपति भवन शीतल निवासमा कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरेसँगै आवश्यक अध्ययन गरेर राष्ट्रपतिले नियुक्तिको निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज (सोमबार) बिहान ११ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री ओलीले सरकारलाई आज नै पूर्णता दिने तयारी गर्नुभएको छ ।
ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गर्नुभएको छ । दुई दलबीच असार १७ गते संसद्को साढे तीन वर्षको कार्यकालमध्ये दुई वर्ष ओलीले र बाँकी डेढ वर्ष कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने गरी सातबुँदे समझदारी गरेका थिए ।
शपथग्रहणको निम्तो
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूलाई आज (सोमबार) बिहान ११ बजे शपथग्रहण गराउने भएको छ । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीको प्रधानमन्त्रीको शपथग्रहणबारे जानकारी दिँदै राष्ट्रपति कार्यालय शीतल निवासले भनेको छ, ‘प्रधानमन्त्री र मन्त्रीहरूको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ ।’ प्रधानमन्त्रीको शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणासमेत गरिसकेको छ ।
राष्ट्रपति कार्यालयले शपथग्रहण समारोहमा उपस्थित हुन संघीय संसद्का सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ । राष्ट्रपति कार्यालयले संघीय संसद्का महासचिवलाई पठाएको पत्रमा भनिएको छ, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१/०३/३१ गते बिहान ११ बजे हुने शपथग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसद्का सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतलनिवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ ।’
प्रधानमन्त्रीमा चौथो कार्यकाल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा यो चौथो कार्यकाल हो । कांग्रेससँगको सत्ता समझदारीसँगै ओली मुलुकको ४५औँ प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिअनुसार ओली आइतबार चौथोपटक मुलुकको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको हो । यसअघि ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । नेकपा माओवादी केन्द्र लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओली नेतृत्वको सरकार ९ साउनमा ढलेको थियो ।
२०७४ मा एमाले-माओवादीसहित वाम गठबन्धनको बलमा ओली ३ फागुन ०७४ मा लगभग दुईतिहाइ सांसदको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा भित्रको विवाद चुलिँदै जाँदा र पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्नुभएको थियो । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा संसद् विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो । लगत्तै, २३ फागुनमा सर्वाेच्चले एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला ग¥यो । त्यसपछि माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाउनुभएको थियो । ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आहृवान गर्नुभएको थियो । त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजे सम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्याउन नसकेको भन्दै राष्ट्रपतिले सोही दिन ओलीलाई संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा अल्पमतको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । राष्ट्रपतिबाट तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली सत्ताच्युत हुनुभएको थियो । लोकतन्त्र प्राप्तिको संघर्षका क्रममा ओली पञ्चायती शासन व्यवस्थामा लामो काराबासको सजाय भोग्नुभएको थियो ।
धेरैपटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेता
हालसम्म ६ जना कम्युनिष्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन् । सबैभन्दा बढी (चारपटक) प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेताको इतिहास ओलीले बन्नुभएको छ । दोस्रोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ (तीनपटक) प्रधानमन्त्री बन्नुभएको छ । कम्युनिष्ट नेताका रूपमा सबैभन्दा पहिला मनमोहन अधिकारीले प्रधानमन्त्री बन्ने अवसर पाउनुभएको थियो । नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारी २०५१ मा प्रधानमन्त्री हुनुभएको थियो । ओली त्यही सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । अधिकारीको २०५६ सालमा ७८ वर्षको उमेरमा निधन भएको थियो । उहाँबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री जीवित छन् । दोहोरिएर प्रधानमन्त्री हुनेमा ओली र प्रचण्ड मात्र हुनुहुन्छ । बाँकी चारजना एक–एकपटक मात्र प्रधानमन्त्री भएका छन् ।
अधिकारीपछि २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभएको थियो । २०६५ देखि २०६९ को बीचमा माओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई, एमालेबाट माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुनुभएको थियो । जतिपटक प्रधानमन्त्री भए पनि अहिलेसम्म उनीहरू कसैले पनि पूरा कार्यकाल (लगातार पाँच वर्ष) को अवधि सरकार चलाउन भने सकेका र पाएका छैनन् ।
ओली प्रवृत्तिको पुनः चिन्ता
नेपालको राजनीतिका चतुर खेलाडीका रूपमा चिनिनुहुने एमाले अध्यक्ष ओली फेरि सत्तामा फर्किनुभएको छ । ठीक तीन वर्षअघि, २०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न बाध्य हुनुभएको थियो । त्यसअघि उहाँले सत्तामा टिकिराख्न गर्नसक्ने सबै गर्न हुने/नहुने उपाय गर्नुभयो । देउवाको प्रधानमन्त्रीत्वलाई ओलीले ‘जनादेशका विरुद्ध परमादेशको सरकार’ भन्दै होच्याउने र अपमान गर्ने गर्नुभएको थियो । त्यही देउवाको सहमति र समर्थनमा असार ३० गते ओलीले प्रधानमन्त्री पद फेरि एकपटक प्राप्त गर्नुभएको छ । समकालीन नेताहरूमा ओली सबैभन्दा पछि २०७० को दशकबाट प्रधानमन्त्री हुन सुरु गर्नुभएको हो । ओलीको दोस्रो कार्यकाल सबैभन्दा लामो थियो । त्यसलाई झण्डै दुई तिहाइको वाम गठबन्धन तथा नेकपा (नेकपा) कार्यकाल भन्ने गरिन्छ । ओली शासनको कुरा गर्दा सजिलै स्मरण हुने पहिलो प्रवृत्ति-आशावादी विकास भाष्य र सपना देखाउने क्षमताका नाममा अविश्वसनीय, तथ्यहीन र आधारहीन उडन्ते योजना अघिसार्नु र गफ दिनु थियो । ओली प्रवृत्तिको दोस्रो दुर्गुण आन्तरिक द्वन्द्व व्यवस्थापन र समन्वयको अभाव थियो । सत्ता साझेदारी भित्रको मात्र हैन, राज्यका तह र राज्य संयन्त्र भित्रको आन्तरिक समन्वय र द्वन्द्व व्यवस्थापन क्षमता पनि शासन प्रशासनको प्रभावकारिताका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । यो दृष्टिकोणबाट ओली प्रवृत्ति र क्षमतामाथि शंका र आलोचना हुने गरेको छ । ओली प्रवृत्तिको तेस्रो अहं गुण उहाँकै भाषामा ‘कुर्सी छोड्न परे कुर्सी नै भाँच्ने’ हो । देशमा आर्थिक, वित्तीय तथा बजेटरी असन्तुलनको गहिरो विस्तार ओलीको दोस्रो कार्यकालमै सुरु भएको थियो । पहिलो कार्यकालमा पनि आर्थिक वृद्धिदर ऋणात्मक थियो । तर, भारतको अघोषित नाकाबन्दी र महाभूकम्पले थिलथिलो पारेको अवस्थाका कारणले गर्दा त्यसका वस्तुगत कारण पनि थिए । ओली प्रवृत्तिको पाँचौँ गुण-निहित राजनीतिक स्वार्थका लागि ‘भूराजनीतिक संकट’मा खेल्ने देखिएको थियो । ओलीको यो कार्यकालमा यी प्रवृत्ति के हुन्छन् ? उनले यी प्रवृत्ति सच्याउन सके स्वयं ओली, नेकपा एमाले, देश र जनतालाई फाइदा हुनेछ । ओली सच्चिनुहुन्छ वा आफ्नो प्रवृत्ति हिजोको जस्तै दोहोर्याउनुहुन्छ त्यो भने प्रतीक्षाकै विषय हो ।
सबैमा सम्मान, सबैलाई धन्यवाद : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएपछि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले सबैलाई सम्मान र धन्यवाद दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच