
काठमाडौं । टेबलटेनिसका नेपाली स्टार स्यान्टु श्रेष्ठ विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३३औं संस्करणका लागि अहिले पेरिसमा हुनुहुन्छ । अभ्यासमा व्यस्त उहाँ ओलम्पिकमा नेपालको तर्फबाट खेल्ने आफ्नो सपना पूरा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो १४ वर्षको मेहनतले म आज यो स्थानमा छु । यहाँसम्म पुग्न मेले धेरै संघर्ष र परिश्रम गरेको छु । मेरो अभ्यासपनि राम्रै भएको छ । मैले नेपाललाई स्वर्ण दिलाउनेमा आसावादी छु,’ उहाँले अगाडि भन्नुभयो, ‘ओलम्पिक खेल्ने विश्वास नै थिएन । जतिबेला दक्षिण एसियाली छनोट हुने खबर पाएँ, त्यसपछि मैले ओलम्पिक सपना बुन्न थालें अनि अस्ट्रेलियामै नियमित अभ्यास गरेको थिएँ, त्यही मिहिनेतको फल मिलेको छ ।’
छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडीको इतिहास बनाउनुभएका स्यान्टु अहिले अभ्यासमा व्यक्त हुनुहुन्छ । उहाँ गत सोमबार पेरिस पुग्नुभएको हो । स्यान्टु नेपालमा गत जेठको सुरुमा भएको दक्षिण एसियाली खेलकुदमा सफलता प्राप्त गरेपछि थप तयारीका लागि अष्ट्रेलिया जानुभएको थियो । पछिल्लो दुई वर्षदेखि अस्ट्रेलियामै बसोवास गर्दै आउनुभएका स्यान्टुले त्यहीँको तयारीबाट ओलम्पिकमा छनोट हुने ऐतिहासिक सफलता प्राप्त गर्नुभएको थियो । स्यान्टु नेपालबाट तेक्वान्दोकी संगीना वैद्य र दीपक विष्टपछि ओलम्पिकलाई छनोट हुने तेस्रो नेपाली हुनुहुन्छ ।
स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पुरुष एकलतर्फको टेबल टेनिसका खेल (आज) शनिबार हुनेछ । वरीयतामा पछि रहेका खेलाडीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । स्यान्टु वरीयताविहीन हुनुहुन्छ । उहाँभन्दा अगाडि जोर्डन र माल्दोभाका खेलाडी छन् । प्रारम्भिक चरणमा तीन खेल हुनेछ । यस चरणका विजेता अन्तिम ६४ मा प्रवेश गर्नेछन् । अन्तिम ६४ का खेल जुलाई २७ देखि अगष्ट ४ सम्म पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुनेछ ।
स्यानटुसँग खेल्न लाग्नुभएका ३२ वर्षीय इब्राहिम भने फ्रान्सको राजधानी पेरिसमै जन्मिनुभएको हो । उहाँले फ्रान्सबाट जुनियरस्तरका प्रतियोगिता खेल्दै सन् २००८ को युरोपियन युथ च्याम्पियन पनि जित्नुभएको थियो । तर, पछि उहाँ आफ्नो आमाको राष्ट्रबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन माली पुग्नुभएको थियो । यद्यपि, टेबल टेनिस महासंघ नहुँदा उहाँ सेनेगल पुग्नुभयो । उहाँको बाबुको जन्म सेनेगलमा भएको थियो । पछिल्लोपल्ट उहाँले सेनेगलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आउनुभएको छ । गत मार्चमा घानामा आयोजना भएको १३औं अफ्रिकी खेलकुद प्रतियोगितामा उहाँले पुरुष एकलतर्फ रजत जित्नुभएको थियो । उहाँले यसअघि छनोट चरण पार गरेर टोकियो ओलम्पिक २०२० पनि खेलिसक्नुभएको छ ।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा स्यान्टुसँगै जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नुभएको थियो । स्यान्टुले यो क्षण पनि आफ्नो लागि यादगार र गर्वपूर्ण रहेको टिप्पणी गर्नुुभएको थियो । केही वर्षयता स्यान्टु अष्ट्रेलियामा अध्ययनरत हुनुहुन्छ । उहाँ आईटीमा मास्टर्स गर्दै हुनुहुन्छ । उहाँ जेठ पहिलो साता ओलम्पिक छनोट खेल्न नेपाल आउनुभएको थियो । छनोटबाट पेरिसको टिकट सुरक्षित गरी उहाँ उतै फर्कनुभएको थियो । दक्ष स्पाइरिङ पार्टनरका लागि उहाँले थप प्रशिक्षण क्याम्प अष्ट्रेलियामै गर्ने निर्णय गर्नुभएको थियो ।
स्यान्टु ओलम्पिक छनोट भएसँगै नेपाली खेलकुदका केही संयोगहरू जोडिएका छन् । उहाँले नेपाली टेबलटेनिसलाई पहिलोपल्ट ओलम्पिकको मञ्चमा पुर्याउनुभयो भने छनोट प्रतियोगिता जितेर ओलम्पिक खेल्ने देशको तेस्रो खेलाडीमा आफ्नो नाम लेखाउनुभयो । आफ्नै भूमिमा ओलम्पिकको छनोट खेल्ने सौभाग्य पाउनुभयो । पहिलोपल्ट टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमै आयोजना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच