काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरू सम्मिलित एक स्वतन्त्र छानविन समिति गठन गर्न निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानविन आयोगहरू गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानविन समिति गठन गर्न निर्देशन दिएको हो । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा पछिल्लो समय भएका हवाई दुर्घटनाहरुको समीक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि समितिले यसअघि समितिले निर्देशन गरिसकेका, तर सरकारले कार्यान्वयन नगरेका विषयहरू समेत पुनः स्मरण गराएको छ ।
समितिका सभापति राजकिशोर यादवले पछिल्लो समय निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरू बने पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको भन्दै नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यासअनुरूप कार्यान्वयन भए÷नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार समितिले नेपालको हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक रहेको भन्दै उक्त नीति तत्काल तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।
हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आए तापनि नेपालको हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएको भन्दै समितिले यसअघि नै उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको थियो । बिहीबार मन्त्री पाण्डेको उपस्थिति रहेकोमा समितिले पुनः स्मरण गराएको हो । सभापति यादवले समितिले पटक–पटक मन्त्रालयलाई निर्देशन दिने गरेको, तर सरकारले कार्यान्वयन नगरेको भन्दै त्यस्ता निर्देशनहरू कार्यान्वयन गर्न पुनः स्मरण गराइएको बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्मा पेस गर्न÷गराउन सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ सभापति यादवले भन्नुभयो । समितिले यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
नेपाली आकाश सुरक्षित छैन : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताउनुभयो । उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । सो दुर्घटनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिश सहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताउनुभयो । यसरी पटक–पटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने संकेत गरेको उहाँको भनाइ छ । हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गर्नुभयो । सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो ।
सरकारले आयोग गठन गर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उहाँले हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्न आयोग बनाइने बताउनुभयो । समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई आयोग नै गठन गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो । ‘हामीले सधैँ यस्तो आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाइ गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने । यो कारणले हामी झन् जटिलतामा फस्दै गयौँ । अब यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिष्टममाथि नै अध्ययन गर्नुपर्छ । त्यसैले यसको समग्र अध्ययनका लागि अब मन्त्रालयले प्रस्ताव गरोस् । आउने मन्त्रिपरिषद् बैठकमा हाम्रो सिष्टममाथिकै समस्या हो कि, नीतिगत समस्या हो कि, कानुनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरूको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्यययनका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरूले निर्देशन दिनुभएको छ ।’
पुराना जहाज र हेलिकप्टर बन्द गर्न माग
संघीय संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छलफलमा सहभागी सदस्यहरूले पुराना जहाज र हेलिकप्टर बन्द गर्नुपर्ने बताएका छन् । हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई निलम्बन गरेर छानविन गर्नुपर्ने माग संसदीय समितिको उठेको हो । समितिमा बोल्दै प्रेम सुवालले नेपालमा पुराना जहाज र हेलिकप्टरको कारणले पनि दुर्घटना वृद्धि भएकाले यो बन्द गुर्नपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पुरानो जहाज र हेलिकप्टर ल्याउने अनुमति कसले दियो ? नियत र भ्रष्टाचारमा परेर नै पुरानो जहाज र हेलिकप्टर सञ्चालनको अनुमति दिएको हो । जहाज र हेलिकप्टर दुर्घटनाको भएको विषयमा छानविन भइरहेको बेला उडान अनुमति दिने अधिकारीहरूलाई निलम्बन गर्नुपर्छ । काम नगर्नेहरूलाई जनताले तिरेको करबाट तलब खुवाएर राख्न उचित भएन । दुर्घटनाको जिम्मा अनुमति दिनेहरूले जिम्मा लिनुपर्छ । दुर्घटनाको जिम्मा पर्यटनमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ । प्रधानमन्त्रीले नै मन्त्रीको नियुक्ति गर्ने हो ।’
‘भिएफआर’ नियम उल्लंघन गर्दा दुर्घटना भएको देखिन्छ’
एयर डाइनेष्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भिएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उल्लंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताउनुभयो । विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानविन समितिले दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सर्सर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्भिक रूपमा देखिएको बताउनुभयो । दुर्घटनास्थलमा बिहीबार बिहान पुग्दा पनि त्यस्तो देखिएको अधिकारीको भनाइ थियो । नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको पनि उहाँको भनाइ थियो । काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेष्टी (९एन–एजेडी) कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा एयर डाइनेष्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच