सरकारले एडिबीको १६ अर्ब बराबरको ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । यो सबैभन्दा बढी संवेदनशील हुनुपर्ने विषय हो । ऋण खानु राम्रो विषय मानिँदैन । हाम्रो समाजमा ऋणसम्बन्धी अनेकौं उखान बनेका छन् । राजा र साहुदेखि हर्क मान्नु हुँदैन भन्नेदेखि खाने बेलामा घिन र सुत्ने बेलामा ऋण नसम्झिनू भन्ने उखानसमेत चलनचल्तीमा छन् । ऋण भनेको एक प्रकारले भन्ने हो भने गलपासो हो । यो झुण्डिएपछि झुण्डिएको झुण्डियै हुन्छ । यसलाई कहिल्यै पनि पन्साउनै सकिँदैन । त्यसैले त ऋण तिर्दा कत्ति पनि बाँकी नराखी सबै निखारेर तिर्नुपर्छ भन्ने गरिएको हो ।
अलिकति मात्र बाँकी रहृयो भने त्यहीले ब्याज र स्याज गर्दागर्दै पुनः बढाउने काम गर्छ । त्यसैले समाप्त पार्नुपरेपछि आगाको, शत्रुको र ऋणको सानो अंश पनि बाँकी राख्नु हुँदैन भन्ने शास्त्रीय मत रहेको छ । थापा पाँडे द्वन्द्वका बेला भीमसेन थापाले पाँडेहरूलाई सखाप पारेका थिए तर बालहत्याको पाप लाग्छ भनेर छोडेका कुलराज पाँडे नै पछि थापाको राजनीतिमात्र होइन जीवनसमेत समाप्त पार्ने कारक बन्न पुगेका थिए । ऋण भनेको यस्तो सूक्ष्म बीज हो जसले पछि विषवृषको रूप धारण गरेर सम्पूर्ण रूपमा समाप्त पार्न सक्छ । नेपाल सानो तथा गरिब राष्ट्र हो । त्यसैले हामी दिनप्रतिदिन विदेशी शक्तिशाली र धनी राष्ट्रहरूसँग ऋण लिइरहेका हुन्छौं । विश्व बैंक र एशियाली विकास बैंकसँग पनि बेलाबेलामा ऋण लिने गर्छौं ।
यसरी प्राप्त हुने ऋण स्वीकार गर्ने कि नगर्ने भन्ने अधिकार हामीसँगै छ र सरकारले बैठक गरी निर्णय गरेरमात्र यस्तो ऋण लिने गर्छ । तर, ऋण लिनु हाम्रो बाध्यता हो, त्यसैले कुनै दातृराष्ट्र तथा विश्व बंैक र एशियाली विकास बैंकले दिने भनेर गरेको निर्णयलाई हाम्रो सरकारले अस्वीकार गरेको भन्ने सुनिँदैन र सरकारले कुनै निश्चित राष्ट्र वा निकायबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको छ भन्ने समाचारमात्र पढ्न वा सुन्न सकिन्छ । यसो गर्दागर्दै हालसम्म नेपालले लिएको ऋण तिर्नै नसक्ने अवस्थामा पुगिसकेको छ र नेपालीहरूका लागि प्रतिव्यक्ति ८४ हजार ऋण पुगिसकेको छ । प्रतिव्यक्ति आय ज्यादै थोरैमात्र भएको हाम्रो मुलुकका लागि यो परिणाम ज्यादै धेरै हो ।
तर, ऋण लिएको खबरमात्र सुन्न पाइने गरेको छ भने हाम्रो देशले यसरी लिएको ऋण तिरेको खबर भने सुन्ने गरेको पाइँदैन । यहीकारणले हो हाम्रो प्रतिव्यक्ति ऋणको भार वर्षैपिच्छे बढ्दै गएको । यसरी लिएको ऋण मिनाहा हुने गरेको पनि छ । ऋणमात्र होइन हामीले अनुदान पनि प्राप्त गर्ने गरेका छौं । सरकारले अनुदान पनि लिने कि नलिने भनेर निर्णय गर्छ । कुनै देश वा निकायले अनुदान सहयोग गर्छौं भनेको खण्डमा हाम्रो सरकारले बैठक गरी त्यसबाट हामीलाई हानी नहुने सहयोग र फाइदा हुने निष्कर्ष आयो भने त्यस्तो अनुदान स्वीकार्ने गरेको छ ।
तर, कुनै ऋण वा अनुदान राष्ट्र र राष्ट्रियताका लागि घातक बनेर आउने जस्तो देखियो वा त्यस्ता दाताहरूको अनावश्यक दबाब राष्ट्रमाथि पर्ने अवस्था आउने निष्कर्ष निस्कियो भने त्यस्तो ऋण वा अनुदान राष्ट्रले अस्वीकार गर्न सक्छ । तर, नेपालको सन्दर्भमा बाध्यता वा विवशताका कारणले हुनसक्छ यस्ता निर्णयहरू हाम्रो सरकारले गर्नेगरेको छैन । विदेशी दातृनिकाय वा राष्ट्रहरूले दिने भनेको अनुदान तथा ऋणमध्ये अधिकांशजसो सरकारले स्वीकार्ने गरेको छ । यही कारणले गर्दा हाम्रो देशले दिनप्रतिदिन आफ्नो स्वत्व गुमाउँदै गएको अवस्था छ । जति अनुदान आउँछ त्यति स्वीकार्दै जाँदा त्यस्ता दाताहरूको विचारलाई हामीले हरेक अवस्थामा नकार्न नसक्ने स्थितिको सिर्जना हुनपुग्छ र राजनीतिक अवस्थामा त्यस्तो स्थितिमा पुगिसकेका पनि छौं ।
बरू ऋण अनुदान जति घातक हुँदैन । नेपालले विभिन्न दातृनिकाय वा राष्ट्रहरूबाट लिएको ऋणलाई पनि धेरैजसो अनुरोध, अनुनयविनयका माध्यमबाट माफीमिनाहा गर्दै आएको छ । यो अर्को खतरनाक र घातक कार्य हो, किनभने जो दाता हुन्छ त्यसले अनावश्यक दबाबमा राख्नसक्छ । अनुदान र ऋण माफीबाहेक जुन ऋण यस्ता राष्ट्र तथा दातृ निकायहरूबाट लिएको छ त्योमात्र भरखर जन्मिँदै गरेको सालनालसहितको नवजात शिशुको भागमासमेत ८४ हजार भाग लागेर आउने गरेको छ । लिएको ऋणको चक्रवृद्धि ब्याज थपिँदै जाने र नेपालले तिर्न नसक्ने अवस्थाका कारण ठूलो परिमाणमा हाम्रा टाउकामा यति धेरै ऋणको भारी थुप्रिने गरेको हो ।
त्यसकारण नेपाल सरकारले एडिबीसँग लिने भनेर स्वीकार गरेको १६ अर्ब ऋण सम्झौता एकातिर हाम्रा लागि खुशीको कुरा हो । यति ठूलो परिमाणको ऋण रकममा निश्चय पनि धेरै विकास निर्माणका कामहरू हुन सक्छन् । यसको सदुपयोगको विषय फरक हो, सदुपयोग हुन्छ भन्ने कुरामा हामीले विश्वास गर्नैपर्छ तर यसरी लिने ऋणमा हाम्रो हर्षमात्र चुलिने गर्दैन विस्मात पनि थपिँदै जाने गर्छ । किनभने, ऋण लिने तिर्न नसक्ने अवस्था सिर्जना हुँदै जाने हो भने अन्ततः त्यसको परिणाम कति घातक र भयावह होला ? त्यसतर्फ हामी सचेत रहनैपर्छ र सोच्नैपर्छ, यसलाई बेवास्ता गरेर बस्न मिल्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच